|

दमक : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहनगर दमकमा आदिवासी रंगशालाको विषयमा दिएको अभिव्यक्तिप्रति आदिवासी जनजाति समुदायले विरोध गरेका छन्।

गत सोमबार दमकमै आयोजित कार्यक्रममा उनले लखनपुर–१ मा रहेको रंगशालाको नाम कुनै हालतमा आदिवासी रंगशाला नहुने र त्यसको नाम मदन भण्डारी रंगशाला रहने विरोध भएको हो।

आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले बिहीबार दमकमा पत्रकार सम्मेलन गर्दै ओलीले दिएको अभिब्यक्ति प्रति आपत्ति जनायो। प्रतिष्ठानका महासचिव धिरेन सुब्बा लावतीले सात सय बढी आदिवासीको चिहान उत्खनन् गरी निर्माण  सुरु गरिएको रंगशालामा राजनीति नगर्न ओलीलाई सुझाए। उनले भने, ‘आदिवासीको नाममा राजनीति नगर्नुस्, कुनै पनि हालतमा हामी नाम परिर्वत गर्न दिदैनौं, यदि जबर्जस्ती नाम परिवर्तन गरे यसको परिणाम नराम्रो हुन्छ।’

आदिवासी जनजाती महासंघका झापा अध्यक्ष पारस राईले ओलीको अभिव्यक्तिले आदिवासीको पहिचान र आत्मसम्मानमा चोट पुगेको बताए। उनले भने,‘ आदिवासी यो देशका जनता होइनन्, के आदिवासीका नाममा विकास निर्माणका काम नै हुदैन?’

आदिवासी रंगशालामा हमला गरे जस्तोसुकै संघर्षमा उत्रन तयार रहेको राईले बताए। आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका सदस्य दिपेनबाला राईले ओली एकात्मकवादी र संकीर्ण सोचको भएको बताए। ओली प्रधानमन्त्री भएको समयमा युवा तथा खेलकुद मन्त्रालयले यो रंगशालाको स्तर उन्नतिका लागि आएको ४० लाख रकम समेत रोकेको आरोप लगाए। उनले भने,‘ आर्थिक बर्ष २०७२/२०७३ मा सरकारले विनियोजन गरेको बजेट समेत ओली प्रधानमन्त्री भएपछि रोकिदिए, हामी पटक–पटक बजेट माग गर्न जाँदा प्रधानमन्त्रीको ठाडो निर्देशनमा रोकेको जानकारी पायौं।'

ओलीले आफ्नै निर्वाचन क्षेत्रको विकास हुने कुरामा समेत बाधा गरेको उनले गुनासो गरे। लखनपुरमा रहेको रंगशालाको नाम २०६५ सालमा नै आदिवासी रंगशाला भनेर नेपाल सरकारको रातो किताबमा समावेश भइसकेको रंगशाला प्रतिष्ठानका पदाधिकारीहरु बताउँछन्।

तत्कालिन समयमा आदिवासी जनजातिहरुको करिब ७४५ वटा समाधीहरु उत्खनन् गरेर नेपाल सरकारले आदिवासीको नाममा रंगशाला बनाइदिने भनेको थियो। हालसम्म रंगशालाको सम्याउने र घेराबारा गर्ने काम सम्पन्न भइसकेको छ। आर्थिक वर्ष २०६७/६८ मा विनियोजन भएको १ करोड बजेटले रंगशाला सम्याउने र आर्थिक वर्ष २०७०/७१ मा विनियोजन भएको १ करोड ५० लाख रकमले घेराबारा गर्ने काम सम्पन्न भएको निर्माण समितिले जनाएको छ। आर्थिक वर्ष २०७२/०७३ मा रंगशालाको नाममा विवाद आए पछि केही काम हुन सकेको छैन।

यस्तै ओलीले सोमबार दमकमा आकाशे पुल उद्घाटन कार्यक्रममा रंगशालाको नाममा जातीय राजनिती गर्न खोजेको आरोप लगाएका थिए। कार्यक्रममा यस्तो अभिब्यत्ति दिएपछि नेपाली कांग्रेसकी सांसद महेन्द्राकुमारी सुब्बाले माइक्रोफोन खोसेर ओलीको प्रतिवाद गरेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.