|

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार पक्राउ गरेको छ। तस्करीको ३३ किलो सुन सेटिङ गरेर विमानस्थलको भन्सार पास गराउने अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाललाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ परेकाहरुको बयान र सिसिटिभी फुटेजको आधारमा यादव र ढकालको संलग्नता देखिएपछि उनीहरुलाई पक्राउ गरिएको हो। यादव र ढकाल नै तस्करीको सुन पास गराउने मुख्य व्यक्ति भएको प्रहरीको अनुसन्धानले देखाएको छ। 

‘पहिला पनि तस्करीको सामान पास गराउन भूमिका खेलेको देखिएको र अहिले सुनमा पनि उनीहरुकै संलग्नता देखिएपछि पक्राउ गरिएको हो’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने 'दुबईबाट आएको सुन बाहिर निकाल्न पनि उनीहरुले नै सहयोग गरेको पाइएको हो।'

सुन तस्करीमा संलग्न रहेको आंशकामा प्रहरीले छ जनालाई पक्राउ गरिसकेको छ। प्रहरीले विमानस्थलबाट ३३ किलो सुन लिएर बाहिरने क्रममा गोपालबहादुर शाही, दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो।

भन्सार विभागले गत बिहीबार नै २९ जना कर्मचारीलाई कामको जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु गरेको थियो। विभागले प्राविधिक कर्मचारी प्रद्युम्नहरि श्रेष्ठ र श्याम श्रेष्ठलाई समेत निलम्बनमा राखेर अनुसन्धान गरिरहेको महानिर्देशक शिशिर ढुंगानाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.