डिल्लीबजार कारागार चलान गरियो

|

काठमाडौं : जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

दुई दिनसम्मको बहसपछि जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरेको थियो। महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरिएको थियो। उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ।

जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले न्यायाधीश पाण्डेको इजलासबाट १० पेज लामो उक्त आदेश भएको जानकारी दिए। 

संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस सोमबार सकिएपछि यो आदेश आएको हो।

आइतवारदेखि महराको पक्षका वकिलहरुले बहस गरेका थिए। सोमबार महराको  पक्षमा वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी बराल, शेरबहादुर केसी र रमनकुमार श्रेष्ठले बहस गरेका थिए। 

महराको पक्षमा करिब ३० जना वकिलले वकालतनामा पेश गरेकोमा आइतवार र सोमबार ६ जना वकिलले बहस गरेका थिए। महराको पक्षका ६ जना वकिलले बहस गरिसकेपछि सरकारी वकिलले पनि प्रत्युत्तर दिएपछि आदेश आएको हो।

सोमबार बहस भइरहँदा पीडित भनिएकी रोशनी शाही पनि इजलासमा पुगेकी थिइन्। आफ्ना कुरा राख्न भन्दै इजलासमा प्रवेश गरेकी उनलाई न्यायाधीशले बोल्ने अनुमति भने दिएनन्। 

महराविरुद्ध बलात्कार आरोप लगाएर प्रहरीमा जाहेरी दिएकी रोशनी शाहीले अदालतमा भने कुरा फेरेकी थिइन्। उनले आफूमाथि महराले बलात्कार प्रयास नगरेको दावी गरेकी थिइन्।

गत असोज १२ गते रोशनीलाई बलात्कार प्रयासको आरोपमा महरा असोज १९ गते सभामुख निवास बालुवाटारबाट पक्राउ परेका थिए।

प्रहरीको अनुसन्धानका क्रममा महराले डिएनए परीक्षणका लागि रगत दिन मानेका थिएनन् भने ढाँटे नढाँटेको पत्ता लगाउन गरिने पोलिग्राफ परीक्षण गर्न पनि अस्वीकार गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.