|

कञ्चनपुर : भीमदत्त नगरपालिकामा विकास निर्माणका १९१ योजना कार्यान्वयन भएका छन्। गत आर्थिक वर्षमा ठेक्का र उपभोक्ता समितिबाट ती योजना सम्पन्न गरिएका हुन्।

ठेक्कबाट ५८ र उपभोक्ता समितिबाट १३३ योजना सम्पन्न गरिएका छन्। नगर गौरबका योजनालाई चालु आवमा समेत निरन्तरता दिइएको छ। चुरे फेदको धार्मिक पर्यटकीय मार्ग, शुक्लाफाँटा पर्यटन मार्ग, बाहिर र भित्री चक्रपथ, झोलुंगे पुलमा पार्क निर्माण लगायतका योजना नगर गौरबका योजनामा राखिएका छन्।

दिगो विकासका लागि अल्पकलीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ नगर विकासका योजनाहरू सञ्चालन गरिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए। 'शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, यातायात, जनजीविका सबै क्षेत्रको विकासलाई प्राथमिकता दिएर अघि बढेका छौं' नगर प्रमुख बिष्टले भने, ‘दिगो विकासका धारणालाई आत्मसात गर्दै त्यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका आधारमा अघि बढेका छौं।’

नगर प्रमुख विष्टले नगरको विकासका लागि गुरु योजना बनाउने कार्य सुरु गरिएको बताए। किसानलाई सिँचाई सुविधाका लागि विभिन्न वडामा १३० सिँचाई बोरिङ जडान गरिएका छन्। यसका लागि नगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यालय, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम साझेदारी गरिएको छ। यस बाहेक नगरपालिकाको एकल लगानीमा समेत सिँचाई बोरिङ जडान गरिएका छन्।

महाकाली नदीमा अन्त्येष्टि घाट निर्माण सुरु गरिएको छ भने नगरपालिका कार्यालय, स्थानीय पार्क, महाकाली अस्पताल, कबर्ड हल, वसपार्क, मदन चोक र स्मारकमा फ्रि वाइफाई जडान गरिएको छ। नगरका सबै वडालाई सडक सञ्जालबाट जोड्नका लागि नगर चक्रपथ निर्माण सुरु गरिएको छ।

गत वर्ष चक्रपथको डिपीआर तयार गरी निर्माण सुरु गरिएको छ। बाहिरी चक्रपथ ८२ किलोमिटर र भित्री चक्रपथ २२ देखि २६ किलोमिटरको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको किनार निर्माण गरिएको शुक्लाफाँटा पर्यटन मार्गको स्तरोन्नति गरिएको छ। झण्डै २० किलोमिटर लम्बाइको यो मार्गबाट झोलुङे पुल बागफाँटा एक आपशमा जोडिने छन्।

उत्तरी क्षेत्रको धार्मिक पर्यटकीय मार्ग र दक्षिणको शुक्लाफाँटा पर्यटन माग दुबैलाई जोडेर बाह्य चक्रपथ बनाउन लागिएको हो। १५ किलोमिटर लम्बाइको धार्मिक पर्यटकीय मार्ग ११ देखि २२ मिटर चौडा छ। कुहिने फोहरबाट ग्याँस उत्पादनका लागि नगरपालिका हाताभित्र प्लान्ट जडान गरिएको छ। झोलुङ पुलमा पिकनिक स्पट र उद्यान निर्माण कार्य सुरु गरिएको छ।

भीमदत्त नगरपालिका ३ र १४ मा पार्क निर्माण गरिएको छ भने वडा नं १ मा पिकनिकस्थल र विश्राम घर निर्माण गरिएको छ। बाराकुण्डामा ताल पुनःभरण गरी धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको छ। नगर क्षेत्रका विपन्न समुदायका परिवारलाई बायोग्याँस निर्माणका लागि अनुदान र दलित समुदायका परिवारलाई सुधारिएको चुलो वितरण गरिएको छ।

भीमदत्त उज्यालो कार्यक्रमअन्तर्गत वडाहरूमा सडक बत्ती जडान गरिएको छ भने पूर्वाधार क्षेत्र विकास साझेदारी कार्यक्रम अन्तर्गत वसपार्क क्षेत्रमा सौर्य बत्ती जडान गरिएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारका वासिन्दाको बालीनाली जोगाउन मेस वायर लगाउने कार्य सुरु गरिएको छ। सामुदायिक विद्यालयहरुमा शौचालय, पुस्तकालय, विज्ञान प्रयोगशाला र भवन निर्माण गरिएका छन्। यसैगरी दुई विद्यालयलाई छात्राबास व्यवस्थापनका लागि अनुदान समेत प्रदान गरिएको छ। भीमनगरपालिका १ बाराकुण्डामा रौटेलामा १९ फिटको त्रिशुल राखिएको छ।

भीनपा ५ मा किरियापुत्री भवन, वडा नं ९ मा नाथ गिरीहरूको घाटस्थलमा विश्रामस्थल निर्माण गरिएको छ। बागफाँटा र ब्रह्मदेबमा गौशाला निर्माण गरी छाडा पशु चौपाया व्यवस्थापन गरिएका छन्। महाकाली अस्पतालको शव गृह मर्मत र शव राख्नका लागि मर्करी चेम्बर दिइएको छ।

नगरपालिकाले वडा कार्यालय र नगरपालिका कार्यालयको प्रशासनिक भवन निर्माणका लागि डिपीआर तयार गरेको छ। चालु आर्थिक वर्षमा केही वडा कार्यालयको भवन निर्माण सुरु गरिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कालिताल झरनाको बाटो निर्माण गरिएको छ।

सघन सहरी विकास कार्यक्रम अन्तर्गत मटेना झिलमिला सडकमा कालोपत्रे गरिएको छ। ताराकोटदेखि तालसम्म पूर्वाधार क्षेत्र विकास साझेदारी कार्यक्रमअन्तर्गत पदमार्ग निर्माण गरिएका छन्। भीनपामा सबैभन्दा बढी बाढी जोखिमयुक्त वस्ती श्रीलंका टोलमा रेडक्रस सोसाइटीसितको सहकार्यमा कल्भर्ट निर्माण गरिएको छ। श्रीलंकामा खानेपानी योजना निर्माण कार्य सुरु गरिएको छ। 

भीनपा वडा नं ८ मा धार्मिक पर्यटकीय मार्गमा पार्क निर्माण सुरु गरिएको छ। यसैगरी वडा नं ८ र ९ मा खेल मैदान निर्माण गरिएका छन्। सघन सहरी विकास कार्यक्रम अन्तर्गत आधुनिक वसपार्क निर्माण गरिएको छ। धार्मिक र पर्यटकीयस्थल झिलमिला र शिवधाम क्षेत्रको गुरु योजना निर्माण गरिएको छ।

नगरपालिकाले भौतिक पूर्वाधारतर्फ ढल तथा नाली निर्माण, सडक ग्राभेल, सडक कालोपत्रे, कल्भर्ट र नयाँ बाटो निर्माण लगायतका कार्यहरू गरिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.