बिम गाउँ शोकमा

|

म्याग्दी : ‘म इन्जिनियर हुन्छु बुवा, तपाईं अझै ठूलो मान्छे हुनु’ म्याग्दीको मालिका गाउँपालिका-७ बिमकी ११ वर्षीया आयुषा जुग्जालीले पटक-पटक बुवा रेशम जुग्जालीसँग भन्थिन्।

बुवाको दैनिक जिम्मेवारीलाई समेत नजिकबाट निहाल्ने आयुषाले सक्रिय राजनीतिमा रहेका बुवालाई अझै ठूलो भएको देख्ने चाहना मात्रै थिएन् आफू पनि भविष्यमा इन्जिनियर बन्ने सपना बुनेकी थिइन्।

आइतबार साँझ दरबाङबाट बिमतर्फ जाँदै गरेको ग.१ ख ४४७६ नम्बरको यात्रुबाहक बस बिमको लुरबाङस्थित गलघण्टीमा दुर्घटना हुँदा आयुषाको इन्जिनियर बन्‍ने सपना सडकमै पोखिएको छ। दुर्घटनामा आयुषासँगै चारजनाको ज्यान गुम्यो भने २८ जना घाइते भए।

गाउँकै किसानी माविमा कक्षा ६ मा पढ्ने आयुषा विद्यालयकै अब्बल विद्यार्थी रहेको किसानी माविका प्रधानाध्यापक जंगबहादुर गर्वुजाले बताए। ‘उनी साह्रै जेहेन्दार थिइन्, कक्षामा सधैँ प्रथम हुन्थिन्, प्रधानाध्यापक गुर्वजाले भने।

विद्यालयकै अब्बल विद्यार्थी आयुषाको कलिलै उमेरमा इन्जिनियर बन्ने लक्ष्यबाट शिक्षकसमेत दंग थिए। आयुषाको शिक्षाप्रतिको लगावलाई अभिभावकले समेत निरन्तर साथ दिइरहेका थिए।

नियतिले कलिलो कोपिलालाई चुँडेर लग्यो। सडक दुर्घटनामा छोरी गुमाएपछि जुग्जालीले सामाजिक सञ्जालमा पोखेका पीडाले परिवार र आफन्तको मात्रै होइन शुभचिन्तकको आँखाबाट समेत आँशु थामिएको छैन।

सन्तानका धेरै रहरहरू पूरा गर्ने योजना बनाइरहेको अवस्थामा एक्कासी छोरी गुमाउनुपरेपछि जुग्जालीले छोरीको सपना पूरा गर्न नपाएको बताएका छन्।

‘यो जुनिमा पाइन्, अर्को जुनिमा तिम्रो सपना पूरा गर्ने प्रयास गर्छु’ जुग्जालीले सामाजिक सञ्जालमा लेखेका छन्। बस दुर्घटनामा एउटै गाउँबाट दुई बालबालिकासँगै तीनजनाले ज्यान गुमाएपछि बिममा पीडाको बादल छाएको छ।

राजनीतिकसँगै सामाजिक कार्यमा समेत सक्रिय रहेका जुग्जालीको दुई सन्तानमध्ये आयुषा जेठी छोरी हुन् भने उनको भाइ छन्। उनले आमा ज्योतिलाई समेत घरायसी काममा समेत सघाउने गर्दथिन्।

सोमबार बेनी अस्पतालबाट पोष्टमार्टम गरी आयुषाको गाउँमै अन्त्येष्टि गरिएको छ। आइतबार साँझ भएको दुर्घटनामा आयुषासँगै मालिका-७ बिमकी ७० वर्षीया सतदेवी भट्टचन, किसानी माविको कक्षा ३ का छात्र ९ वर्षीय रवी जुग्जाली र गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका-२ की विष्णु पाण्डेको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा घाइते २८ जनामध्ये ५ जनाको थप उपचारका लागि पोखरा पठाइएको छ। एकै विद्यालयका आधारभूत तहका दुई विद्यार्थीलाई गुमाएसँगै विद्यालय परिवारसमेत स्तब्ध छ। दुर्घटनामा विद्यालयका शिक्षक तथा विद्यार्थीसमेत घाइते छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.