|

डडेल्धुरा : चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा. गोविन्द केसीले सोमबारदेखि सुरु गरेको १७ औं चरणको अनशन दोस्रो दिन पनि जारी छ। 

डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताल निजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा केसी अनशन बसिरहेका छन्।

डा. केसीले पत्रकार सम्मेलन गरी सोमबार बेलुकी ५ बजेदेखि डडेल्धुरा सदरमुकाममा अनशन शुरु गरेका हुन्। चिसोका बाबजुत पनि सातबुँदे माग अघि सार्दै उनको अनशन जारी छ। माग पूरा नभएसम्म अनशन जारी नै राख्ने उनको भनाइ छ।

केसीलाई कांग्रेसको साथ

यसैबीच सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेसका पार्टी सभापति कर्णबहादुर मल्लले उनको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएका छन्। मंगलबार दिउँसो कार्यकर्तासहित अनशनरत केसीलाई भेटेर उनले ऐक्यबद्धता जनाएका हुन्।

उनले डा. केसीलाई भेटेर पवित्र महाअभियानमा डडेल्धुरा कांग्रेसको साथ रहेको बताए। साथै उनले सम्पूर्ण सुदूरपश्चिमबासीमा गरिवको स्वास्थ्यको लागि थालिएको अभियानमा सहयोग गर्न अनुरोधसमेत गरेका छन्।

यी हुन् डा. केसीका मुख्य माग

१. हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।

२. विश्वबिद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गरियोस्।

३. आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस्। अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरूलाई फौजदारी कानुन बमोजिम कडाभन्दा कडा कारवाही गरियोस्। नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाण्डु विश्वविद्यालयको आंगिक कलेज तथा विस्तारित कार्यक्रममा तत्काल ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरियोस्।

४. संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सिट संख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस्।

५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्या्एर एमबिबिएस  कार्यक्रम संचालन गरियोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढंगले प्रधानमंत्री कार्यालयले अडकाएर राखेकाले  त्यसलाई तुरुन्त स्विकृति दिँदै शीघ्र  एमबिबिएस कार्यक्रम संचालन गर्ने व्यवस्था गरियोस्।

६. क्यान्सर लगायतका महंगा औषधि भारतभन्दा ४/५ गुणा महँगो भएकाले सुपथ मूल्यमा उपलब्ध गराउने व्यवस्था गरियोस्। कर्मचारी समायोजनका कारण सेवा नै अवरुद्ध भएका डडेल्धुरा लगायतका अस्पताल र स्वास्थ्य संस्थाहरूमा तत्काल दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरियोस्। 

७. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवन्डाबाट रोकी पीडि़तको मागअनुसार सम्बन्धित कानुन संशोधन गर्दै पीडितको विश्वास जित्ने विज्ञहरूलाई नियुक्त गरियोस्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.