एसपी सरुवा गराउन चलखेल सुरु

|

भद्रपुर : झापामा नेपाल प्रहरीका धेरै एसपी आए, गए। अहिलेसम्म कुनै पनि एसपीले गाई-गोरु बेचबिखन नियन्त्रणमा हात हाल्न चाहेनन्। बरु भारतबाट चोरी, तस्करी गरी सामान भित्रिने गतिविधिसम्म रोक्न लाग्थ्यो।

गाई-गोरुमा हात हाल्यो कि गाई-गोरु तस्करी चलाउनेले एसपीको कुर्सी नै हल्लाउँथे। गाई-गोरु तस्कर सञ्जालको सेटिङ पूर्वका उच्च प्रहरी अधिकृतदेखि हेड क्वाटर हुँदै गृहसम्म हुने गरेको थियो।

झापा जिल्ला गाई-गोरु भारत निकासी गर्ने नेपालकै मुख्य नाकामा पर्छन्। झापासँग भारतको बिरहार र बंगाल राज्य जोडिएको छ।

यहाँबाट भारत पुगेका गाई-गोरु मासुका लागि भारतको आसाम, मणिपुर हुँदै तेस्रो मुलुक बंगालादेशसम्म पुग्ने गरेको छ। वर्षैदेखि झापामा गाई-गोरुको तस्करी नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सेटिङमा हुँदै आइरहेको थियो।

तर, यस्तो सेटिङ र सञ्जालको अगाडि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली कठोर प्रहरी कर्मचारी भएर उभिए।

एसपी मैनालीले कसैको सामु नझुकिएर गाई-गोरु तस्करी नियन्त्रण तथा रोकथाममा खुलेर लागि परे। उनी खुलेर लागि मात्र परेनन्, गाई-गोरु बरामद समेत गर्न थाले।

गाई-गोरु बरामदसँगै मोरङ जिल्लाबाट झापा प्रवेश गर्ने ठूला ट्रकहरूलाई राजमार्गबाहेक झापाका सीमावर्ती नाकामा नलैजान अभियान नै सुरु गरे। सात महिनाअघि झापा आएका एसपी मैनालीले गाई-गोरु बरामद गर्न जिल्ला मातहतका प्रहरी कार्यालयका इञ्जार्चलाई ठाडो निर्देशन दिएकाले तस्कर सञ्जालभित्र अहिले खैलाबैला मच्चिएको छ। 

‘म झापामा आउनु अघिदेखि नै गाई-गोरु तस्करी हुँदै आइरहेको थियो। यसलाई रोक्न प्रहरी कार्यालय झापाले अभियान नै थालेको छ’, एसपी मैनालीले भने, ‘तस्करी खुलाउन धेरै व्यक्ति म कहाँ आएको थियो, ‘तर, मैले तिनीहरूको प्रस्ताव अस्वीकार गरे।' ‘बरु मलाई सरुवा गरे हुन्छ। म झापामा हुँदासम्म गाई-गोरु तस्करी नियन्त्रण गरेरै छाड्छौं’, एसपी मैनालीले भने।

५० वटा गोरु नियन्त्रण

मोरङ जिल्लाबाट झापा गाई-गोरु लोड गरिएको ठूला तथा साना ट्रक झापा प्रवेश गरेसँगै झापा प्रहरीले दमकमा तथ्यांक संकलन गर्ने अभियान सुरु गरेको छ। प्रहरीको यस अभियानलाई चक्मा दिँदै मंगलबार बिहान ३ बजे दमकबाट दुई वटा ट्रकमा लोड भएका ५० वटा गोरु पूर्वतर्फ लागेको सूचना प्रहरी कार्यालय झापालाई बिहान प्राप्त भयो।

सूचना प्राप्त भएपछि तत्काल एसपी मैनालीले राजमार्गका प्रहरीलाई हाइअलटमा रहन निर्देशन जारी गरे। सोही क्रममा इलाका प्रहरी कार्यालय सुरुङगाले बिहान ४ बजे दुई वटा ट्रकसहित ५० वटा गोरु नियन्त्रणमा लिए। 

पूर्व-पश्चिम राजमार्ग छाडेर झापाको कनकाई नगरपालिका ३ स्थित भित्री सडक प्रयोग गरी सुरुङगाबाट झापा गाउँपालिकाको टाघनडुब्बा नाका हुँदै भारतको डिगलबैक नाकातर्फ लैजाने क्रममा प्रहरीले ना ६ ख ३८४१ र ना ५ ख ५९४६ नम्बरको फुलबडी ट्रकसहित गोरु नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

‘भारत लैजाने उद्देश्यले पश्चिमबाट ल्याएको गोरु नियन्त्रणमा लिएका हौं’, डिएसपी श्रेष्ठले भने, ‘भारतको उत्तर प्रदेश राज्यबाट नेपाल भित्राइएको गाई-गोरु नेपालको बाटो प्रयोग गरी झापाबाट तस्करी गर्न ट्रकमा लोड गरी गाई-गोरु ल्याएका हुन्। गाई-गोरु तस्करी नियन्त्रणमा अभियानकै क्रममा बरामद गरिएको हो।’

भन्सारमा बुझाइयो

प्रहरीले बरामद गरेको ५० वटा गोरु, दुई वटा ट्रक र चालकद्बयलाई आवश्यक कारबाहीका लागि मंगलबार दिउँसो भद्रपुर भन्सार कार्यालय बुझाएका छन्।

प्रहरीले ट्रक चालकद्बय मकवानपुर जिल्ला हेटौंडा ४ बस्ने रोमियो कालिकोटे र बारा जिल्ला निजगढ नगरपालिका ४ बस्ने विरबहादुर थिङसहित ५० वटा गोरु र दुई वटा ट्रक आवश्यक कारबाहीका लागि भन्सार बुझाएको डिएसपी श्रेष्ठले जानकारी दिए। 

प्रहरीले ५० वटा गोरुको दुई लाख २५ हजार र ७ लाखको दरले दुई वटा ट्रक १४ लाख गरी जम्मा १६ लाख २६ हजारमा भन्सार बुझाएको छ। भन्सारले गाई-गोरुको कानुनी प्रक्रिया अघि बढाइसकेको भद्रपुर भन्सारका नायव सुब्बा विकास दाहालले जानकारी दिए।

गाई-गोरुलाई मंगलबार नै लिलाम गरिएको बताउँदै उनले भने, ‘दुई ट्रक भन्सारमै राखिएको छ। चालकद्बयलाई धरौटी लिएर रिहा गरेका छौँ।’

ट्रकमा ल्याएको गोरु कसको

प्रहरीले नियन्त्रणमा लिएको ५० वटा गोरु दमक नगरपालिका ५ बस्ने जीवन कार्की रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार दमकका कार्कीले सर्लाही बरहथवा नगरपालिका ६ बस्ने निरजकुमार सिंह (चौपाया खरिद बिक्री केन्द्र) बाट दुई वटा पानमा बिलमा खरिद गरी ५० वटा गोरु झापा ल्याएका हुन्। खरिद गरिएको दुवै बिलको मिति कार्तिक १७ गतेको छ। 

ना ५ ख ५९४६ नम्बर ट्रकमा २५ वटा गोरु ५ हजारको दरले एक लाख २५ हजारमा खरिद गरिएको बिलमा उल्लेख गरिएको छ। त्यस्तै  ना ६ ख ३८४१ नम्बर ट्रकमा २५ वटा १ लाख ५० हजारमा खरिद गरिएको उल्लेख भएको प्रहरीले जनाएको छ।

कार्कीले नवलपरासी जिल्ला रामग्राम १४ का त्रिवेणी पशुपक्षी सप्लायर्सबाट आशा राम श्रेष्ठ (लुम्बिनी सप्लायर्स) को नामबाट समेत बिक्री रसिद ल्याएको देखिन्छ। 

दमकका कार्की र जय चुडाल झापामा गाई-गोरुको कारोबार गर्दै आइरहेका छन्। प्रहरीले भन्सारमा गाई-गोरु बुझाएपछि जीवन कार्की, जय चुडाल, सर्लाहीका शम्भु सिंह भद्रपुर भन्सार कार्यालय आएको प्रहरीले जनाएको छ। गोरुसहित दुई वटा ट्रक छुटाउन झापाका प्रशासन प्रमुखदेखि काठमाडौँसम्म लबिङ गरे पनि भन्सारले अन्नत गोरु लिलाम गरेरै छाडे। 

गोरु नियन्त्रणले माहोल तात्यो

एसपी दिनेशराज मैनालीको ठाडो आदेशमा प्रहरीले फुल बडी दुई वटा ट्रकसहित ५० वटा गोरु भन्सार बुझाएको घटनाले प्रहरी र गोरु कारोबारी बिच माहौल अहिले तातिएको प्रहरी स्रोतको दाबी छ।

गोरु कारोबारी जय चुडाल, जीवन कार्की र शम्भु सिंहले एसपी मैनालीको कामप्रति असन्तुष्टि जनाउँदै उनको विषयमा नेता, मन्त्रीदेखि मन्त्रालयसम्म उच्च व्यक्तिसँग लबिङ गर्न थालेको स्रोतको दाबी छ।

‘गोरु कारोबारीलाई अहिलेसम्मकै ठूलो आर्थिक झट्का लागेको छ’, स्रोतले भन्यो, ‘यसअघि प्रहरीले सीमा क्षेत्रबाट गाई-गोरु बरामद गरी भन्सार बुझाउँदै आएकोमा दुई वटा ट्रक नै भन्सार बुझाएको अवस्था छ।’ ‘अव झापा जिल्लामा गाई-गोरु तस्करी रोकथाम हुन्छ वा कारोबारीले एसपी मैनालीको सरुवा गराउन लाग्छ’, एक गोरु कारोबारीले भने। 

प्रहरीले २१० चौपाया भन्सार बुझाए

प्रहरी कार्यालय झापाले गाई-गोरु नियन्त्रण तथा रोकथाम अभियान सुरु गरेसँगै जिल्लाका विभिन्न नाकाबाट मंगलबार बरामद गरिएको ५० वटा गोरुसहित २१० वटा चौपाया बरामद गरी भन्सार बुझाइसकेको डिएसपी श्रेष्ठले जानकारी दिए। बरामद गरिएकोमा चौपायामध्ये ३७ वटा गाई, १४९ वटा गोरु, ७ वटा बाछा र ८ वटा बाछी रहेको छ।

सीमा क्षेत्रका प्रहरी कार्यालयका इन्चार्जहरू चौपाया नियन्त्रणमा लागि परेका छन्। घेराबारी र कुटी नाकाबाट सोमबार राती १५० वटा गोरु भारत निकासी हुन लागेको सूचना आएको बताउँदै डिएसपी श्रेष्ठले भने, ‘सूचना पाएपछि त्यस क्षेत्रका प्रहरी गाई-गोरु खोज्न थाले, ‘तर, गोरु तस्करले भारत लैजान लागेको गाई-गोरु लुकाए।’

सशस्त्रले पनि लिन छाडे

झापामा खुलेआम गाई-गोरु तस्करी हुँदै आइरहेको थियो। गोरु कारोबारीले झापाका प्रहरी, प्रशासन प्रमुखलाई मासिक रूपमा लाखौँ लाइन बुझाएर काम गर्दै आइरहेका थिए।

कारोबारीले प्रहरी र सशस्त्र दुवैलाई मासिक रूपमा लाइन बुझाउँदै आएका थिए। तर, झापामा नेपाल प्रहरीका एसपी दिनेशराज मैनालीले गोरु कारोबारीबाट लाइन नलिई उल्टै गोरु नियन्त्रण अभियानमा लागि परेपछि विगत चार महिनादेखि सशस्त्र एसपीले पनि गोरु मासिक लाइन लिन छाडेको एक प्रहरी अधिकृतको भनाइ छ।

‘पहिला दुवै एसपीलाई मासिक लाइन दिने चलन थियो। प्रहरीका एसपीले लाइन नलिने भनेपछि सशस्त्र पनि लिन छाडेका हुन्', उनको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.