|

विराटनगर : कटहरी–९ नयाँबजारका श्यामकुमार साह तरकारी खेतीबाट मनग्य आम्दानी लिइरहेका छन्। मौसमी तथा बेमौसमी तरकारी उत्पादनबाट उनी वार्षिक ४\५ लाख रुपैयाँ आम्दानी गर्छन्। 

तरकारी खेतीबाटै साहले कटहरीमा चार कोठे पक्की घर बनाएका छन् भने विराटनगरमा एक कट्ठा घडेरी जोडेका छन्। भौडाहाका जीतनारायण सरदार पनि १० कट्ठा जग्गामा तरकारी उत्पादन गरेर वार्षिक २ लाख रुपैयाँ आम्दानी गर्छन्। 

सरकारले तरकारी खेती गर्ने कृषकलाई प्रोत्साहन दिएपछि मोरङमा धेरै युवा व्यावसायिक तरकारी खेतीमा लागेका हुन्। तरकारीमा परनिर्भरता घटाउन र वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न सरकारले चालु आर्थिक वर्षमै युवाका लागि लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रम लागु गरेको हो। 

कार्यालयका अनुसार कार्यक्रम लागु भएपछि १ हजार १ सयभन्दा बढी कृषक व्यवसायिक तरकारी खेती गरिरहेका छन्। यसअन्तर्गत वैदेशिक रोजगारीबाट स्वदेश फर्केका, जान लागेका र लक्षित वर्गका युवालाई न्यूनतम एक बिघा क्षेत्रफलमा तरकारी खेतीका लागि ५० प्रतिशत अनुदान दिने कार्यक्रम रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। 

मोरङमा गत आर्थिक वर्षमा करिब १९ हजार हेक्टरमा ९७ हजार मेट्रिक टन तरकारी उत्पादन भएको थियो। मोरङका कटहरी, शिसवनी, जहदा, इन्द्रपुर, मधुमल्ला, टाँडी, लेटाङ जाँते, सिजुवा टकुवा मझारे, महादेवा र बाहुनीलगायतका गाविस तरकारी उत्पादनको पकेट क्षेत्र रहेको बागवानी विकास अधिकृत काशीकुमार चौधरीले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.