|

पाल्पा : बगनासकाली गाउँपालिका–१ पिप्लेकाका ७२ वर्षीय चुरामणी पाण्डे मालपोत कार्यालयमा १० पटक पुगिसेके। कात्तिक ५ देखि धाउन थालेका उनको अझै काम भएको छैन। तानसेन नगरपालिका–१२ लुहुङमा बस्ने छोरी सीता गैरेको नाममा रहेको जग्गा उनले आफ्नो नाममा नामसारी गर्न आएका हुन्। छिमेकी दुईजना साक्षी पनि लिएर आएका छन्। त्यसपछि उनको खर्च पनि थपियो। तर, मंगलबार पनि काम बनेन। 

यस्तै, रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी, छचुवाका रामबहादुर कुमाल जग्गा पास गर्न सोमबार बिहान मालपोत कार्यालय आए। तानसेनको एक होटलमा बास बसेका उनको पनि मंगलबार काम भएन। ‘जग्गा पास गर्न साक्षीका लागि छिमेकी पाँचजना लिएर आएको छु। आउने जाने गाडी भाडा, होटलमा खाने बस्ने सबै खर्च ब्यहोर्नुपर्छ,’ उनले भने, ‘हिजो एकछिनमा कम्प्युटरको नेट चल्छ भनेका थिए। दुई दिनसम्म पनि काम भएको छैन। गाउँको जग्गा पास गर्ने हो। जग्गा खरिद गर्नुभन्दा पनि पास गर्न धेरै खर्च लाग्नेजस्तो छ।’

जिल्ला मालपोत कार्यालय पाल्पामा गत भदौ २९ देखि अनलाइन सिस्टमबाट काम गर्न थालिएको थियो। तर, सिस्टमले राम्रोसँग काम नगरेपछि सेवाग्राही मर्कामा परेका छन्। सुरुसुरुमा कर्मचारीले अनलाइनको सिस्टम नै चलाउन जानेनन्। जसले गर्दा टाढा टाढाबाट आएका सेवाग्राही काम नभएपछि फर्किन बाध्य भए। तर, कात्तिक पहिलो सातादेखि भने अनलाइन सिस्टमले राम्रोसँग काम नगरेको सहायक कम्प्युटर अपरेटर राजीव न्यौपाने बताउँछन्। उनका अनुसार सोमबार र मंगलबार दुई दिनसम्म ५० जनाभन्दा बढी सेवाग्राहीको फाइल अड्किएको छ। 

भूमि व्यवस्था तथा अभिलेख विभागको केन्द्रीय कार्यालयले यो सिस्टम जडान गरेको हो। माथिबाट आएको निर्देशन बमोजिम आफुहरुले अनलाइन सिस्टमबाट काम थालेको मालपोत कार्यालय पाल्पाका निमित्त प्रमुख रमेश न्यौपानेले बताए। उनका अनुसार सुबिसु कम्पनीको इन्टरनेटमार्फत यो अनलाइन सिस्टम सञ्चालनमा छ। तर, राम्रोसँग काम गर्दैन। 

‘पटक पटक सिस्टममा समस्या आइरहन्छ,’ उनले भने, ‘हाम्रो कार्यालयबाट सुबिसुको कार्यालयमा खबर गर्दा समेत सुनुवाई भएन। अबको एक घण्टामा आउछ भन्ने आश्वासन सुबिसु कम्पनीको कर्मचारीबाट पाउँछौ तर आउँदैन। अहिले विभागमा अनुरोध गरेका छौं।’

जडान गरेदेखि राम्रो काम नगरेको सुबिसुको विकल्प खोज्न समेत माथि आग्रह गरेको निमित्त प्रमुख न्यौपानेले बताए। ‘विभागले जे भन्छ हामीले त्यही गर्ने हो,’ उनले थपे, ‘हातले गर्ने सबै काम गरिन्छ। अनलाइनको काम नहुँदा कार्यालय समय कुर्सीमा बसेर वित्ने गरेको छ।’

हाकिम प्रायः बिदामा

मालपोत कार्यालय पाल्पाका प्रमुख मदनबहादुर जिसी मंगलबार पनि कार्यालयममा थिएनन्। उनले हाजिरी खातामा घरबिदा लेखेका छन्। कार्यालय आएका छैन। 

आफु जग्गा नामसारी गर्न आउँदाको कुनै पनि दिन यो कार्यालयमा हाकिम नभेटको पिप्लेका चुरामणि पाण्डेले भने। अन्य कर्मचारीले नेटले काम गरेको छैन भोलि आउनुस् भनेर पठाउने गरेको उनको गुनासो छ। मंगलबार कार्यालयमा प्रमुख नभएको र आफुहरुको काम पनि नभएको भन्दै यहाँ आएका सेवाग्राहीले कार्यालय घेरेका थिए। उनीहरुले तालाबन्दी गर्ने तयारी समेत गरेका थिए। दुई महिना पुग्दा समेत समस्या समाधान नगरेर प्रमुख जिसीले लापरवाही गरेको सेवाग्राहीको आरोप छ।

कार्यालयको मूलढोका घेरेका उनीहरुलाई तालाबन्दी गर्न भने प्रहरीले रोक्यो। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाको नेतृत्वमा गएको टोलीले आवेशमा नआउन आग्रह गरेपछि उनीहरुले तालबन्दी नगरेका हुन्। 

साथै, मालपोतका निमित्त प्रमुख रमेश न्यौपानेले समेत सेवाग्राहीलाई समस्याबारे जानकारी दिँदै आन्दोलन नगर्न आग्रह गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.