|

सल्यान : सल्यानका किसान जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन्। परम्परागत रूपमा अन्नबाली लगाउँदै आएका किसानले जडीबुटीबाट मनग्य आम्दानी गर्न थालेपछि जडीबुटी खेती गर्न थालेका हुन्। टिमुर, रिट्ठा, तेजपातलगायतका जडीबुटीका लागि यहाँको हावापानी अनुकूल भएकाले यसको खेतीप्रति किसानहरूको आकर्षण बढ्दै गएको छ।

डिभिजन वन कार्यालय सल्यानले जिल्लामा जडीबुटी उत्पादनका लागि राम्रो सम्भावना भएको जनाएको छ। आर्थिक वर्ष २०७५/०७६ मा करिब २० करोड रुपैयाँ बराबरको जडीबुटी जिल्लाबाहिर निकासी भएको अनुमान गरिएको छ। जसबाट १६ लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको डिभिजनल वन अधिकृत थीरबहादुर कार्कीले जानकारी दिए।

‘सल्यान जडीबुटीका लागि प्रख्यात जिल्ला हो। यहाँ जडीबुटी खेतीका लागि सम्भावना छ, अनुकूलको हावापानी छ‚’ उनले भने‚ ‘जिल्लामा सबैभन्दा धेरै टिमुर उत्पादन हुन्छ, टिमुर खेतीमा किसानहरूको आकर्षण पनि धेरै छ।’

कार्यालयका अनुसार यस अवधिमा टिमुर ९४ हजार ९५०, रिट्ठा दुई लाख ५० हजार, घोडातापे दुई हजार, तेजपाज २१ हजार २००, चोथ्राको बोक्रा दुई हजार ७००, दालचिनीको बोक्रा ६०० किलो जिल्लाबाट निकासी भएको छ। यस्तै‚ निजी वनबाट दुई लाख ३५ हजार ५०० किलो टिमुर र दुई लाख ११ हजार ६०० किलो रिट्ठा निकासी भएको छ। सल्यानमा ६३ प्रजातिका जडीबुटी पाइन्छ। तीमध्ये २२ प्रजातिका संकलन हुने गरेको छ।

प्राकृतिक रूपमा सामुदायिक वनमा पाइने टिमुर खेतबारीको डिलमा बिस्तार गरी आयआर्जन गर्दै आएका छन्। वनगाडकुपिन्डे नगरपालिका–९ शेराका पूर्णबहादुर बुढाले ब्यावसायिक टिमुर खेती गर्दै आएका छन्। उनले टिमुर खेतीबाट वार्षिक सात लाख रुपैयाँ आम्दानी गर्दै आइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.