|

ताप्लेजुङ : मेरिङ्देन गाउँपालिकाको सान्थाक्रामा एक मनमोहक पोखरी छ। गुराँसे पोखरीका नामले परिचित यस पोखरीमा घुम्न पुग्ने आन्तरिक पर्यटक समेत बढ्दै गएका छन्।

स्थानीय सरकार गठन भएपछि पोखरीको संरक्षणमा जनप्रतिनिधिले चासो देखाएसँगै यहाँ पुग्ने आन्तरिक पर्यटक .बढ्दै गएका हुन्। पुरानो प्राकृतिक सम्पदाको संरक्षण गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित मेरिङ्देन गाउँपालिकाले गुराँसे पोखरी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालेको छ।

वडा नम्बर २ सान्थाक्राको शिरमा रहेको पोखरी संरक्षण साथै आवश्यक प्रचारप्रसारको अभावमा ओझेलमा थियो। गाउँपालिकाले गत आर्थिक वर्षदेखि नै आफ्नो विशेष कार्यक्रममा समेटेर गुराँसे पोखरीलाई संरक्षण गरी आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पोखरी संरक्षणलगायतका क्रियाकलापहरु गर्न थालेको गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले जानकारी दिए।

अध्यक्ष लिम्बूका अनुसार गुराँसेलाई संरक्षण गर्नका लागि गएको आर्थिक वर्षमा गाउँपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरी उक्त रकम खर्च गरेर पोखरी क्षेत्रको संरक्षणका लागि घेराबारा तथा पोखरी वरिपरि पदमार्ग निर्माण गरिएको छ। सोही रकमले पोखरीसम्म पुग्ने मोटरबाटोको ट्रयाक खोल्ने तथा पोखरी क्षेत्रको सरसफाइ गरिएको थियो।

गाउँपालिकाले संरक्षणको सुरुवात गरेको सो पोखरी संरक्षणका लागि यस वर्ष पर्यटन मन्त्रालयले समेत १० लाख विनियोजन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत सूर्यमान ओख्राबुले जानकारी दिए। यस्तै, यस आर्थिक वर्षका लागि गाउँपालिकाले समेत पाँच लाख रुपैयाँ विनियोजन गरेको छ। 

रमणीय तथा घमाइलो स्थान भएकाले पनि यस क्षेत्रलाई पिकनिक स्पोटका रुपमा विकास गर्दै होमस्टे सञ्चालन गरी आर्थिक उपार्जनतर्फ केन्द्रित गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष लिम्बूले सुनाए। साथै, सो स्थानमा टी गार्डेन, भ्युटावरसहितका संरचना निमार्ण गर्ने समेत गाउँपालिकाको योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.