|

काठमाडौं : दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीका लागि अर्थ मन्त्रालयले करिब ९५ करोड रुपैयाँ निकासा गरेको छ। 

अर्थ मन्त्रालयका अनुसार भदौ महिनामा नै रकमान्तर गरी राष्ट्रिय खेलकुद परिषद्लाई राष्ट्रिय टिमको तयारी र पूर्वाधार निर्माण लगायतको शीर्षकमा करिब एक अर्ब रुपैयाँ निकासा गरेको हो। 

अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको बजेटमा १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता र नवौँ राष्ट्रिय खेलकुदको लागि आवश्‍यक पर्ने रकम विनियोजन गरेको जनाएका थिए। सामान्यतय एक शीर्षकको रकम अर्को शीर्षकमा सारेर खर्च गर्नुपर्दा अर्थ मन्त्रालयले रकमान्तर गरी उपलब्ध गराउने गरेको छ। 

अर्थका अनुसार भइपरी आउने साधारण प्रशासन शीर्षकबाट राष्ट्रिय टिमको तयारीको लागि १५ करोड रुपैयाँ खेल सामग्री खरिदको लागि ३८ करोड रुपैयाँ उपलब्ध गराएको छ। 

त्यस्तै, समारोह व्यवस्थापनको लागि एक करोड रुपैयाँ र आवास व्यवस्थापनको लागि एक करोड रुपैयाँ रकमान्तर गरी उपलब्ध गराएको थियो। 

अर्थ मन्त्रालयले दक्षिण एसियाली खेलकुद पूर्वाधार निर्माणको लागि पनि ठूलो रकम उपलब्ध गराएको थियो अर्थ मन्त्रालयका अनुसार यो शीर्षकमा ४० करोड रुपैयाँ निकासा गरिसकेको छ। 

अधिकांश पूर्वधार निर्माणको काम र अन्य तयारी सकिएको खेलकुद परिषद्ले जानकारी गराएको छ। सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भएता पनि त्यसअघि भलिबलका तीन खेलहरु हुनेछन्। उद्घाटन अगाडि प्याराग्लाइडिङ र उसुका खेल पनि हुनेछन्। 

सार्वजनिक तालिकाअनुसार उद्घाटन अघि नै भलिबलका खेलहरू हुनेछन्। तालिकाअनुसार मंसिर ११ देखि १७ गतेसम्म  भलिबलका खेलहरू काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.