संविधान सम्मत नभएका विधेयक प्रमाणीकरण गर्दिनँ

|

जनकपुरधाम : नवनियुक्त प्रदेश २ प्रमुख तिलक परियारले प्रदेश सरकारसँग छलफल तथा सरसल्लाह गरी इमान्दारिताका साथ काम गर्ने बताएका छन्।

जनकपुरस्थित मधेस भवनमा रहेको प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहणपश्चात संचारकर्मीसँगको जिज्ञासामा उनले सबैभन्दा पहिले मुख्यमन्त्रीसँग छलफल गरी कार्य अगाडि बढाउने बताए। उनले आफ्नो पद कार्यकारी नरहेको भन्दै प्रदेश सरकारलाई सरसल्लाह तथा सुझाव मात्र दिने बताए।

‘मेरो पद भनेको कार्यकारी होइन्’, प्रदेश प्रमुख परियारले भने, ‘यहाँ काम गर्ने भनेको मुख्यमन्त्रीले नै हो। मैले आवश्वयक पर्ने ठाउँमा सल्लाह तथा सुझाव मात्र दिन्छु।’

उनले प्रदेश प्रमुखको शपथ लिइसकेपछि पार्टीको नभएर राष्ट्रको मान्छे भएको बताए। उनले यहाँ फरक दलको सरकार रहे पनि केही समस्या हुनेमा शंका नगर्न आग्रह गरे। पदमा रहेसम्म शान्ति र समृद्धिका लागि काम गर्ने पनि उनले बताए।

प्रमुख परियाले आफू प्रदेश सरकारको विधेयकहरू अध्ययन गर्ने र संविधान सम्मत भए मात्र प्रमाणीकरण गर्ने बताए। उनले भने, ‘सबै कानून संविधान सम्मत हुनुपर्छ। संविधान सम्मत नभएको विधेयक म प्रमाणीकरण गर्दिनँ। फिर्ता पठाउँछु।’

उनलाई मधेस भवनमा राजपा नेतासमेत रहेका प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले स्वागत गरेका थिए। उनले पदभार ग्रहणपश्चात पुनः स्वागत गर्दै सफल कार्यकालको शुभकामनासमेत दिए।

यसअघि जनकपुर विमानस्थलमा प्रदेश प्रमुख परियारलाई समाजवादी पार्टीका नेता तथा उपप्रधानमन्त्री उपेन्द्र यादव, मुख्यमन्त्री लालबाबु राउत, नेकपा सांसद, नेता तथा ठूलो संख्यामा पुगेका नेकपा कार्यकर्ताले भव्य स्वागत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.