मुख्यमन्त्री अनुपस्थित, मन्त्रीले जिस्काए

|

हेटौँडा : पञ्चायतकालमा 'झापाली टाइगर'को उपनामले चर्चित बनेका नेकपा झापाका नेता विष्णुप्रसाद प्रसाईंले प्रदेश ३ को प्रदेश प्रमुखको पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुख प्रसाईंको पदभार ग्रहण कार्यक्रममा प्रदेशका मन्त्री, प्रदेश सरकारका प्रमुख सचिव, प्रदेशसभा सदस्य, नीति तथा योजना आयोगका सदस्य, प्रदेश तहका उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो।

पदभार ग्रहण गरेलगत्तै संचारकर्मीसँग बोल्दै प्रमुख प्रसाईंले नेपाल सरकारले अगाडि बढाइरहेको 'सुखी नेपाली, समृद्ध नेपाल' को नारालाई साथ दिने बताए। उनले संविधानलाई आत्मसाथ गर्दै प्रदेश सरकारलाई आफूले पाएको जिम्मेवारीबाट सहयोग गर्ने बताए।

'झापाली टाइगर' प्रसाईं

२०२७ सालमा अनारमनीमा भएको अनेरास्ववियूको कार्यक्रममा पहिलोपल्ट पक्राउ परी एक महिना राजबन्दी भएपछि प्रसाईं राजनीतिमा होमिएका हुन्। २०२८ सालको झापा क्रान्तिसँगै कम्युनिस्ट राजनीतिमा लागेका प्रसाईं ६६ वर्षको उमेर प्रदेश ३ का प्रमुख बने। नेकपाका नेताहरूका अनुसार प्रसाईं झापामा केपी ओलीका 'खास मान्छे' को रूपमा रहेका थिए।

तत्कालीन नेकपा मालेको नीतिअनुरूप नै विसं. ०४३ सालमा धाइजन गाउँ पञ्चायतको जनपक्षीय प्रधानपञ्चसमेत निर्वाचित भएका थिए, प्रसाई। झापा जिल्लामा हुने पञ्चायतविरुद्धको आन्दोलनमा प्रसाईं अग्रपन्तीमा जाने, कसैसँगको पनि नडराउने कारण उनलाई 'झापाली टाइगर' समेत भनिने गरेको नेकपाका नेताहरू बताउँछन्।

विसं. २०५४ सालमा जिल्ला विकास समिति झापाको उपसभापति भएका प्रसाईंको २०५६ सालको आम निर्वाचनमा झापा ३ बाट कांग्रेस नेता कृष्ण सिटौलासँग पराजित भएका थिए। प्रसाईं विसं. २०७४ मा तत्कालीन नेकपा एमालेबाट मेचीनगर नगरपालिकाको मेयरमा समेत पराजित भएका थिए।

मुख्यमन्त्री अनुपस्थित, मन्त्रीले जिस्काए

प्रदेश प्रमुख प्रसाईंको पदभार ग्रहण कार्यक्रमा प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेले भने अनुपस्थित रहे। काठमाडौंमा पूर्वनिर्धारित कार्यक्रम तय भएकोले पौडेल अनुपस्थित भएको मुख्यमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।

पदभार ग्रहण कार्यक्रमपश्चात प्रदेश प्रमुखले गरेका परिचयात्मक कार्यक्रममा प्रदेश सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेश प्रमुखको ठेगानाको विषयलाई लिएर प्रदेश प्रमुखलाई जिस्काए।

प्रदेश प्रमुख प्रसाईंले आफ्नो ठेगाना मेचीनगर झापा भनेपछि मन्त्री ढुंगेलले पुर्ख्यौली घर कहाँ भनेर सोधे, त्यसपछि फेरि मन्त्री ढुंगेलले त्योभन्दा अगाडि कहाँ भनेपछि उपस्थिति सबै हाँसेका थिए। फेरि प्रदेश प्रमुख प्रसाईंले तपाईकै घरतिर हो, रामेछाप भनेपछि फेरि सबै हाँसेका थिए। उनले अब प्रदेश ३ लाई आफ्नो घर ठानेर काम गर्ने बताउँदै धन्यवाद व्यक्त गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.