भोलि ज्यान मार्ने उद्योग र बम विस्फोटसम्बन्धी कसुरबारे प्रश्‍न सोधिने

|

रौतहट : रौतहटको राजपुरमा बम विष्फोटका घाइतेलाई जिउँदै इँट्टाभट्टामा जलाएको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको बयान बुधबार पनि सकिएन। मंगलबारबाट सुरु भएको आलमको बयान बिहीबार पनि जारी रहने सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता खडिन्द्र राज कटुवालले जानकारी दिए।

रौतहट जिल्ला अदालतको ४ नं. इजलासका न्यायाधीश दीपक ढकालले आलमलाई अहिलेसम्म २५ वटा प्रश्न सोधेका छन्। न्यायाधीश ढकालले मिसलअनुसार घटनाको बारेमा मंगलबार ९ वटा प्रश्‍न सोधेका थिए भने बुधबार थप १६ वटा प्रश्न सोधेको जिल्ला न्यायाधिवक्ता कटुवालले जानकारी दिए। बयान बिहीबार पनि जारी रहने उनले बताए।

बुधबार बिहान १० बजे नै अदालत पुर्‍याइएका आलमको बयान साँझ ४:३० बजेसम्म चलेको थियो। न्यायाधीशले आलमलाई घटनासम्बन्धी मिसिल, घटना भए नभएको, कसरी के भएको र आलममाथि लगाइएको अभियोगको बारेमा प्रश्‍न सोधेका थिए। आलमले न्यायाधीशका अधिकांश प्रश्‍नको उत्तरमा घटना नभएको बताएका छन्। उनले घटना नै नघटेको र आफूलाई झूठो आरोप लगाइएको जवाफ दिएका हुन्।

आलममाथि लगाइएका तीन मुद्दामध्ये कर्तव्य ज्यान मुद्दासम्बन्धी बयान मात्र बुधबार सकिएको छ। आलमलाई बिहीबार ज्यान मार्ने उद्योग र बम विस्फोटनसम्बन्धी कसुरका बारेमा प्रश्‍न सोधिने अधिवक्ता पुष्पराज पौडेलले बताए। बयान नसकिएपसिछ आलमलाई पुनः जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाइएको छ।

२०६४ चैत्र २७ गते अघिल्लो संविधानसभाको निर्वाचनमा बम विष्फोट गरेको आरोपमा पक्राउ आलम र अन्य ‍नौजनालाई जन्म कैद मुद्दा दर्ता भएको हो। रौतहट प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दामा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन पेस गरेको थियो।

पीडितका तर्फबाट बहसका लागि पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलासहित अधिवता पुष्पराज पौडेल, आशिक राम कार्की रौतहटमा बसेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.