|

धनकुटा : बढ्दो शहरीकरण र होहल्लाका कारण धेरै मानिसलाई अहिले सुनसान तथा एकान्त ठाउँ प्यारो लाग्न थालेको छ। मानिसहरुले थकान मेटाउन विभिन्न चराचुरुंगीको आवाजसँगै सुनसान स्वच्छ हावामा रमाउन चाहन्छन्।

त्यस्ता मानिसका लागि भनेर धनकुटाका दुईजना यूवाहरुले गाउँमा कलात्मक रुपमा 'ट्री हाउस' निर्माण गरेका छन्। जिल्लाको छथर जोरपाटी गाउँपालिका-५ परेवादिन चुम्लुङ चोकमा स्थानीय युवाहरु प्रेम लिम्बू र हेम लिम्बूले बरको रूखमा 'ट्री हाउस' निर्माण गरेका हुन्।

उनीहरुका अनुसार त्यस स्थानमा पर्यटक आकर्षण गर्ने, स्थानीयलाई केही रोजगारीको अवसर सिर्जना र गाउँघरबाट बढेको बसाइँसराइँको क्रमलाईसमेत न्यूनीकरण गर्ने लक्ष्यसाथ ट्री हाउस सञ्चालनमा ल्याईएको हो। ट्रि हाउस होटल सञ्चालनमा आएपछि विभिन्न ठाँउका मानिसहरु यहाँ घुम्न तथा खान बस्नका लागि आउन थालेका छन्।

गाँउमा बढेको बसाइँसराई न्यूनीकरण तथा गाउँमै रोजगारीको बाटा सिर्जना गर्ने र नेपाल भ्रमण वर्ष २०२० सफल पार्ने उद्देश्यले ट्रि हाउस निर्माण गरिएको प्रेम लिम्बूले बताए।

वैदेशिक रोजगारबाट हालै मात्र फर्केका हेम लिम्बूले गाउँमै केही गर्ने योजना बनाएपछि त्यसमा आफूले साथ दिएको प्रेमले बताए। उनी गाउँमै रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा विगद ३ वर्षदेखि कार्यरत रहेका छन्।

हेम लिम्बू भने २०६० सालमा रोजगारीको सिलसिलामा विदेश गएका हुन्। त्यसपछि कतारमा ४२ महिना बसेर हालै मात्र नेपाल फर्किएका हेमले गाउँघरका धेरै मानिसहरु अलिअलि कमाएपछि शहर बजारमा केन्द्रित हुन थालेपछि धेरै नरमाइलो लागेको बताए।

उनले आफूलाई पनि घरपरिवारबाट शहर बजारमै गएर बस्न धेरै दबाब आएको भए पनि गाँउको स्वच्छ हावा आफ्नै खेतबारीमा फल्ने अर्गानिक खेतीपाती चटक्कै छोड्न मनले नमानेको बताए। त्यसपछि छिमेकी प्रेम लिम्बूसँग सल्लाह गरेर साझेदारीमा ट्री हाउस बनाएर होटल सञ्चालन गर्ने सोच बनाएको बताए।

‘विशेषगरि गाउँ छाडेर बसाइँसरी जानेहरुका लागि गाँउमै पनि केही हुँदो रहेछ भनेर देखाउने यो ट्री हाउस सञ्चालमा ल्याएका हौँ’, उनले भने ‘त्यति मात्रै नभएर गाउँमा केही रोजगारीको सिर्जना गर्न र गाउँमा पर्यटन विकास गरि नेपाल भ्रमण वर्ष सफल बनाउन पनि हो।’

ट्री हाउसमा ४  लाख भन्दा बढी लगानी भइसकेको उनले बताए। ट्री हाउसमा आउने पाहुनाहरुले वरीपरीको हरीयाली वातावरणमा अर्गानिक परिकारको स्वाद लिन सकिने उनीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.