थोरै सुधार भए पनि निरन्तर निगरानी

|

काठमाडौं :  १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली एक वर्षयता लगातार बिरामी भइरहेका बेला निरन्तर उपचारमा संलग्न चिकित्सक भने अमेरिका तर्फ लागेको जानकारी प्राप्त भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल डायलासिस गर्नु नपर्ने भए पनि प्रमुख विशेषज्ञ चिकित्सकले प्रत्यक्ष निगरानीमा बस्नु पर्ने अबस्था छ। तर प्रमको संवेदनशील स्वास्थ्यअवस्था रहेका बेला प्रमकी प्रमुख चिकित्सक मिर्गौला रोग विशेषज्ञ डा दिव्या सिंह अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन अमेरिका पुगेकी छन्। त्यहीकारण प्रमको स्वास्थ्योपचारमा विशेषज्ञ चिकित्सकको अभाव  भएको छ। 

मुख्यत: मिर्गौलाका बिरामी प्रमलाई पछिल्लो चार वर्षयता शिक्षण अस्पतालकी वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्या सिंह शाहले प्रमुखरुपमा उनको स्वास्थ्य उपचार गर्दै आएकी थिइन्। यस्तो बेला प्रमुख विशेषज्ञ चिकित्सक दिव्या अमेरिका गएपछि प्रमको सम्पूर्ण स्वास्थ्योपचार अर्का चिकित्सक डा. दिलिप र डा अरुणले हेर्दै आएका छन्।

प्रमको उपचारको जिम्मेवारी वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमी,  वरिष्ठ फिजिसियन तथा कलेजो रोग विशेषज्ञ डा. दिलिप शर्मा र वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाहले लिएका हुन्। तर प्रमको मुख्य समस्या मिर्गौलाको उपचारमा मिर्गौला रोग विशेषज्ञको मूख्य भूमिका हुन्छ। पछिल्लो समय प्रममा छिटो छिटो समस्या देखिँदा झनै निगरानी गर्नुपर्ने अवस्था छ।

कात्तिक १३ गते देखि त प्रमको प्रत्यारोपण गरेको मिर्गौलाले अति कष्टसाथ काम गरिरहेको छ। जसले गर्दा उनलाई दुई पटकसम्म डायलासिस गरिसकिएको छ।विगत एक बर्षदेखि प्रम तीन पटक भन्दा धेरै समय देश तथा विदेशका अस्पतालमा भर्ना भएका छन्। गत साउनदेखि प्रमको स्वास्थ्यमा धेरै नै समस्या आउन थालेको छ।जसले गर्दा एककै महिनामा नेपालदेखि विदेशसम्म छोटो छोटो समयमा उपचार गर्न गएका छन्। जसले गर्दा चिकित्सकहरुले पछिल्लो समयमा उनको स्वास्थ्यको निगरानी अरु बेला भन्दा धेरै बढाएका छन्।

प्रमको उपचारमा संलग्न एक चिकित्सकले भने, ‘ हो दिव्या सम्मेलनमा भाग लिन भन्दै अमेरिका जानु भएको छ। अहिले प्रमको सम्पूर्ण हेरचाह हामीले गरिरहेका छौँ। अहिले उहाँको स्वास्थ्यअवस्था केही सुधार भए पनि निगरानी गरिरहन छाडेका छैनौँ त्यसैले हामी अहिले पनि पर्ख र हेरको अवस्थामा छौँ । फेरी प्रधानमन्त्रीको नियमित डायलासिस गर्नुपरे पनि वा प्रत्यारोपण नै गर्नुपर्ने अवस्था आएपनि त्यसको तयारीमा हामी छौँ । '

बिरामी प्रमलाई छोडेर प्रमुख चिकित्सक डा दिव्या एक्कासि अमेरिका गएपछि प्रमको उपचारमा विशेषज्ञ चिकित्सबाट सेवा पाउन बन्चित हुने अबस्था आएको हो। स्रोतले भन्यो, ‘ उहाँ एक्कसि सम्मेलनमा भाग लिन भनेर जानु भएको हो, कहिले आउनु हुन्छ थाहा छैन।'

सुधार छ तर निगरानी आबश्यक 

सिंगापुरमा प्लाज्मा फेरोसिस गराएर फर्किए पनि प्रमको शरीरमा क्रेटिनाइनको मात्र बढी देखिएको छ। फोक्सोमासमेत पानी देखिएपछि यही १३ र १४ गते धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पतालमै प्रधानमन्त्री ओलीको दुई पटकसम्म डायलासिस गरिएको थियो।

ग्राण्डीबाट फर्किएपछि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा प्रमको छाती र मुटुको परीक्षण गरिएको थियो।

त्यस बेला प्रमको स्वास्थ्यमा केही सुधार देखिए पनि अहिलेनै ढुक्क हुनुपर्ने अवस्था नरहेको उनका एक चिकित्सकले बताए। उनले भने',  'धेरै सुधार भएको छ तर ढुक्क भइहाल्ने अवस्था छैन, हामीले निगरानी गरिरहेका छौ।'

भारतको दिल्लीस्थित अपोलो अस्पतालमा ओलीले मिर्गौला प्रत्यारोपण गराएको थिए। प्रत्यारोपणपछि ओलीले निरन्तर औषधि खाइरहनु परेको छ। निरन्तर औषधिले रोगप्रतिरोधात्मक क्षमतामा घटाइदिँदा पटकपटक विभिन्‍न प्रकारका संक्रमणबाट ग्रसित भइरहेका छन्। यद्यपि उनी पछिल्लो कालखण्डमा तेज मनोबलले काम गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.