|

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र नेपाल बैंकर संघका पदाधिकारीबीच बिहीबार मन्त्रालयमा छलफल भएको छ। उक्त छलफल सामाजिक सुरक्षा कोषमा केन्द्रित भएको हो।

छलफलमा मन्त्री विष्टले सरकारले थप गरेको समय भित्रै सबै बैंक तथा बैंकका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आग्रह गरेका छन्। उनले संविधानको  व्यवस्था र सरकारले संसदबाट पारित गरेको कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्र समयसीमा भित्रै सहज सहभागी हुने अपेक्षा गरेका छन्। 

'सामाजिक सुरक्षा कोष नेपालमा नौलो कार्यक्रम भएकाले बुझाइमा अस्पष्टता भएको हुनसक्छ', उनले भने, 'यद्यपि आमश्रमिकको जीवनलाई सुरक्षा दिने ऐतिहासिक कार्यक्रम भएकाले यसलाई सफल बनाउनुपर्छ।'

 कोषबारेमा देखिएका अस्पष्टता हटाउन तथा विभिन्‍न क्षेत्रबाट आएका गुनासो सम्बोधन गर्न सरकार सधैँ तयार रहेको उनले बताए। 'विभिन्‍न क्षेत्रबाट आएका गुनासालाई सम्बोधन गर्दै कार्यक्रमलाई परिमार्जित, समय सान्दर्भिक तथा वैज्ञानिक बनाउँदै लगिन्छ', उनले भने।

संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानासहितको पदाधिकारी टोलीद्वारा सामाजिक सुरक्षा कोषमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले कोषका विभिन्‍न स्किम र तयार हुँदै गरेको लगानी कार्यविधिबारेमा मन्त्रीसँग जिज्ञासा राखेका थिए। 

कोषका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवाली तथा कोषका सल्लाहकार रमेश बडालले बैंकरहरुको जिज्ञासाको समाधान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.