|

विराटनगर : नेकपा एमाले मोरङको अध्यक्षमा विनोद ढकाल निर्वाचित भएका छन्। बिहीबार राती अबेर सार्वजानिक मत परिणाम अनुसार केपी ओली निकट ढकालले माधव नेपाल निकट महेश रेग्मीलाई २०६ मत अन्तरले पराजित गरेका हुन्। ८७४ मत खसेकोमा ढकालले ५ सय ४० मत ल्याए भने रेग्मीले ३ सय ३४ मत प्राप्त गरे।

संस्थापन पक्ष केपी ओली पक्षधर ढकालको प्यानलले नेता माधव नेपाल प्यानलबाट उम्मेदवारी दिइएका पदाधिकारीका सबै उम्मेदवारलाई पराजित गरेका छन्।

प्यानलसहित सबै सदस्यको जित लिएर मोरङमा ढकाल समूहको पुनःउदय भएको छ। उपाध्यक्षमा ढकाल समूहका रामलाल साहले ४ सय ६९ मत र रेग्मी पक्षका सत्यनारायण चौधरी ३ सय ५९ मत ल्याउनु भएको छ। सचिवमा ढकाल समूहका ऋषिकेश पोखरेलले ५ सय ४ मत ल्याए भने प्रतिस्पर्धी विद्या चाम्लिङले ३ सय ४८ मत ल्याएका छन्। उप–सचिवमा ढकाल समूहकै धना तामाङले ४ सय ६१ मत ल्याउनु भएको छ भने राजकुमार ओझाले ३ सय ६४ मत ल्याएका छन्। 

जिल्लाको राजनीतिमा रेग्मी भन्दा ढकाल रुचाइएका पात्र हुन्। मुख्य राजनीतिक दलका जिल्लास्थित नेतृत्वको बीचमा ढकाल बढी परिचित छन्। सातौं जिल्ला अधिवेशनमा पराजित भएसँगै उनलाई पार्टीको एउटै लाइन भित्रका माथिल्लो ओहोदाका नेताहरूले केन्द्रीय सदस्यको उम्मेदवारी दिनबाट रोके भने प्रदेशको सचिवमा लैजान अध्यक्ष केपी शर्मा ओलीको ‘मनसाय’लाई समेत बिफल बनाइएको थियो।

पार्टी अध्यक्ष ओलीले जिल्लाका नेतामध्ये अति रुचाइएका व्यक्तिमा स्थापित ढकाल आठौं जिल्ला अधिवेशनमा अध्यक्षकै उम्मेदवारी दिएर मैदानमा उत्रनेमा धेरैले विश्वास गरेका थिएनन्।

तर, एकाएक ढकाललाई जिल्लामा स्थापित गर्न संस्थापन पक्षधरहरूले निर्णय लिएका थिए। उनै ढकालले नेकपा एमाले मोरङको नेतृत्वमा फेरि निर्वाचित हुँदै अध्यक्षको जिम्मेवारी सम्हाल्न पाएका छन्।

अध्यक्षमा पराजित रेग्मीलाई भने सातौं जिल्ला अधिवेशनमा पाएको सम्मानजनक मतको संरक्षण गर्न नसक्नुले झट्का महसुस गराएको छ। गुटगत राजनीतिको अन्त्य, राजनीतिको आडमा हुने गुण्डागर्दीलाई हतोत्साहित गर्ने एजेण्डामा रेग्मी अध्यक्षमा निर्वाचित भएका थिए। तर, उनै रेग्मीले सिंगो पार्टीको भलो भन्दा आफ्नै लाइन र गुटको भलो मात्र सोच्ने मानसिकताको विकास गराएपछि कार्यकर्ताले ढकाललाई नै जिल्लाको नेतृत्वमा दोहोर्‍याएको कतिपय एमालेजनको बुझाइ छ।

रेग्मीले विगत चार वर्षमा आफ्नो मात्र नभई आफ्नो लाइनको समेत संरक्षण गर्न नसक्नुले आठौं अधिवेशन उनका लागि झट्का सावित भएको छ। पदाधिकारी, भूगोल, महिला, मजदुर, पेशागत, मुश्लिम, मधेशी, आदिवासी जनजाति, लेखा र निर्वाचन आयोग गरी ९७ पदमा भएको निर्वाचनमा सबै ढकाल पक्षधर हावी देखिएको छ।

निर्वाचित भएपछि ढकालले समग्र जिल्लाको विकासमा सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर अघि बढ्ने, आन्तरिक पार्टी जीवनलाई मर्यादित र व्यवस्थित बनाउने प्रतिबद्धता जाहेर गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.