|

पर्वत : बागलुङ र पर्वत जिल्लामा यस वर्ष धान उत्पादन करिब ५ प्रतिशतले घट्न सक्ने अनुमान गरिएको छ। 

रोपाइँको समयमा प्रशस्त वर्षा नहुनाले खेतमा सिँचाइ नहुनु तथा कतिपय ठाउँको खेत पानीकै अभावले बाँझै रहनु, ‘हाइब्रिड’ जातका धानहरूमा कालोपोको नामक ढुसी र नेक ब्लास्ट रोगको प्रकोप देखिनु तथा फूल खेल्ने बेलामा आवश्यकता भन्दा बढी पानी पर्नु, डढुवा, मरुवा र गँबारोले उत्पादनमा ह्रास आउने तथ्यांक संकलन गरिएको कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए।

‘हाइब्रिड जातका बीउ यहाँको लागि सिफारिस गरिएको छैन। यो नलगाउनु भन्दा कृषकहरू प्राविधिकहरू भन्दा बढी जान्ने सुन्ने हुनुभयो’ उनले भने, ‘त्यही हाइब्रिड जातमा अहिले रोगको प्रकोप भयो। यहाँका वातावरणमा त्यो धान उपयुक्त नहुँदा नहुँदै किसानको घमन्डले उहाँहरूलाई नै असर गर्‍यो।’

कार्यालयको तथ्यांक अनुसार गत वर्ष पर्वत जिल्लाको सरदर उत्पादकत्व २.९ मेट्रिक टन प्रति हेक्टर रहेको थियो भने बागलुङमा ३.१ रहेको थियो। यस अनुसार पर्वतमा गत वर्ष २६ हजार ३ सय ३ मेट्रिक टन धान फलेकोमा बागलुङमा १८ हजार ५ सय १९ मेट्रिक टन धान उत्पादन भएको थियो।

यस वर्ष ५ प्रतिशतले कमी आएमा पर्वतमा यस वर्ष २४ हजार ९ सय ८७ मेट्रिक टन र बागलुङमा १७ हजार ५४३ मेट्रिक टन धान उत्पादन हुने छ। क्षेत्रफलको हिसाबले पर्वत भन्दा बागलुङ जिल्ला ठूलो भएको भए पनि बागलुङमा भन्दा पर्वतमा धान उत्पादन गर्ने खेतको क्षेत्रफल बढी रहेको छ।

बागलुङमा कुल ५ हजार ९ सय ७४ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ भने पर्वतको त्यसको झन्डै दोब्बर ९ हजार ७० हेक्टरमा हुने गरेको छ। ‘दुई जिल्लामा गरेर १५ हजार ४४ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुन्छ।’ कार्यालय प्रमुख रेग्मीले भने,‘बागलुङमा धेरै पाखा पखेरा भएकोले धान फल्ने खेत थोरै भएको हो।’ 

सिँचाइका दृष्टिले पनि बागलुङ भन्दा पर्वत जिल्ला राम्रो देखिएको छ। पर्वतमा बाह्रै महिना सिँचाइको सुविधा रहेको खेतको क्षेत्रफल ६ हजार ४ सय २० हेक्टर रहेको छ भने बागलुङमा २ हजार ६ सय ३५ हेक्टर रहेको छ। यस्तै, केही महिना मात्र सिँचाइको सुविधा हुने खेतको क्षेत्रफल बागलुङमा ३ हजार ३ सय ३९ हेक्टर र पर्वतमा २ हजार ६ सय ५० हेक्टर रहेको छ।

कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार पर्वत जिल्लामा धान, गहुँ, मकै, कोदो लगायत गरेर कुल ३१ हजार ८ सय ९२ मेट्रिक टन अन्न फल्ने गरेको छ। माग भने २९ हजार ४ सय ६५ मेट्रिक टन मात्र छ। माग भन्दा उत्पादन धेरै हुँदा पनि अझै पनि आयातित चामलमा भर पर्नुपर्ने अवस्था पर्वतवासीको छ।

भात मात्र खाने प्रवृत्तिले अन्य खाद्यान्न उपयोगमा नआएका कारण माग भन्दा उत्पादन बढी हुँदा पनि चामल भनेर किनेर खानुपर्ने बाध्यता भएको हो। तर बागलुङ जिल्लामा भने आवश्यकता अनुसारको खाद्यान्न उत्पादन हुँदैन। ५६ हजार ६ सय ७७ मेट्रिक टन अन्नको आवश्यकता रहेकोमा ५१ हजार २ सय ७८ मेट्रिक टन मात्रै उत्पादन हुने गरेको छ।

कार्यालय प्रमुख रेग्मीले कृषकले प्राविधिकले दिएको सुझाव मान्दै अबको वर्षबाट सिफारिस गरिएका धानका जातहरू खुमल ४, ५, ६, ७, ८, ९, १०, १३, पोखरेली जेठो बुढो तथा स्थानीय जातका एक्ले, गौरीया, कालनाथ्रे, गुडुरा, पहेँले, बिरमपूरले, लोकतन्त्र, ९ सय मिटर भन्दा तलको उचाइमा लगाउन हुने मन्सुली, झिनिया, अनदीलगायतका धान रोप्नुपर्ने बताए।

चैतमा लगाउने धानमा भने चैते २, ४, ५, ५ र पुरानो धानको जात सिएच ४५ लगाउन यो क्षेत्रका लागि उत्तम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.