|

धादिङ : नीलकण्ठ नगरपालिका-३ धादिङबेसीका नारायण घिमिरेले आफ्नै घरको छत र बरण्डामा मौरी पालेर  मनग्ये आम्दानी गर्न सफल भएका छन्। उनले धादिङबेसीस्थित शान्तबजारमा रहेको तीन तले घरमा सेराना जातको मौरीपालनबाट राम्रो आम्दानी गर्दै आएका हुन्।

नेपाली सेनाको जागिरबाट पेन्सन भएपछि घिमिरे मौरी पालनमा लागेका हुन्। उनले  ३ तले पक्की घरको छत र हरेक बराण्डामा मौरीका लागि १ सय ५० वटा घार राखेका छन्। मौरीपालनबाट राम्रो आम्दानी हुने भए पनि वर्षा याममा हावाहुरीको जोखिम रहेको उनले सुनाए।

वार्षिक पाँच लाख आम्दानी

मौरीपालनलाई १० वर्षदेखि मुख्‍य पेसाका रूपमा अपनाएका घिमिरेले मौरीपालन कार्यलाई व्यावसायिक बनाएर निरन्तरता दिने बताए। अहिले मौरी पालनबाट राम्रै आम्दानी भएको र भविष्यमा अझ व्यवस्थित गरेर मौरी पालन गर्ने सोचमा आफू रहेको  घिमिरे बताउँछन्। 'मह बेचेर वार्षिक पाँच लाख कमाइ गरिरहेको छु' घिमिरेले भने, 'आगामी दिनमा घरको छत र बरण्डामा मात्र सीमित नरहेर व्यावसायिक रूपमा मौरी पाल्‍ने योजनामा छु।'

उनले आफ्नै घरमा घिमिरे मौरीपालन केन्द्र सञ्‍चालन गरी मौरीसहितको घार, शुद्द मौरीको मह र मौरी पालनका लागि आवश्यक तालिम र सामग्रीहरू पनि विक्री वितरण गर्दै आएका छन्।

मिहिनेत र परिश्रमको खाँचो

थोरै लगानी र कम मिहिनेतमा धेरै फाइदा लिन सकिने भएकाले मौरीपालनलाई व्यावसायिक ढंगबाट अघि बढाउँदै गरेको घिमिरे बताउँछन्। मह उत्पादन गर्न सके बिक्री गर्नमा कुनै समस्या नरहेको घिमिरे बताउँछन्। उनी भन्छन्, 'मह किन्न फोन गरेर  मानिसहरू आउने गरेका छन् बेच्नका लागि कुनै समस्यै छैन।' उनी विभिन्न  जिल्लामा पुगेरसमेत मौरीपालनसम्बन्धी तालिमहरू दिँदै आएका छन्।

वैदेशिक रोजगारमा जानुभन्दा नेपालमै कृषि क्षेत्रमा काम गरेर मनग्ये आम्दानी गर्न सकिने उनको मत छ। मिहिनेत र परिश्रम गरे युवाहरूले स्वदेशमै पैसा कमाउन सक्ने उनी बताउँछन्।

सरकारले दिने अनुदानको रकम वास्तविक किसानसमक्ष नपुगेकोमा घिमिरेको दुखेसो छ। वास्तविक किसानको सट्टा नक्कली किसानले अनुदान पाउने कार्यले वास्तविक किसानलाई समस्या भएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.