गाई-गोरु तस्करविरुद्ध झापा प्रहरी

|

भद्रपुर : झापा प्रहरी गाई गोरु तस्करी नियन्त्रण तथा रोकथाम अभियानप्रति आक्रामक देखिएकाे छ।

दुई दिन अघि दुई वटा फुलबडी ट्रकसहित ५० वटा गोरु नियन्त्रणमा लिएर भन्सार बुझाएको घटना सेलाउन नपाउँदै प्रहरीले बुधबार राती दुई वटा बोलेरो पिकअप भ्यानसहित गाई-बाछी नियन्त्रणमा लिएको छ। 

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएका प्रहरी टोलीले झापा गाउँपालिका ४ र २ पर्ने सीमा नाकाबाट बुधबार राति १२ वटा गाई बाछी लोड गरिएको बोलेरो पिकअप भ्यान नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीले मे १ ज १७६१ र प्र। १–०१–००१ ज–३३८५ नम्बरको पिकअप भ्यानमा लोड गरिएको गाई बाछी झापा गाउँपालिकाका हुँदै भारतको डिगलबैक नाकातर्फ लैजाने क्रममा नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। प्रहरीले पिक अपसहित गाई बाछी नियन्त्रणमा लिएको भन्दै गाई व्यापारी एउटा पिकअप भ्यानको चाबी लिएर भागेका थिए।

पिकअपको चाबी लिएर भागेकोले प्रहरीले एउटा पिकअप ट्याक्याटरले तानेर भन्सारसम्म ल्याएका थिए। प्रहरीले गाई बाछीसहित नियन्त्रणमा लिएको पिकअप भ्यान र चालकद्वय मोरङ मिस्लाजुङ गाउँपालिका ४ बस्ने ३६ वर्षीय पदम खत्री र झापा कमल गाउँपालिका ४ बस्ने २८ वर्षीय मिलन लिम्बूलाई भद्रपुर भन्सार कार्यालय बुझाएको छ। 

प्रहरीले गाई बाछी र दुई वटा भ्यानलाई १० लाख १२ हजारमा भन्सार बुझाएको प्रहरीले जनाएको छ। यता भन्सार कार्यालयले गाई बाछीको लिलाम गरिसकेको भन्सारका नायव सुब्बा विकास दाहालले जानकारी दिए।

चालद्वयलाई ६२/६२ हजार धरौटी लिएर छाडिदिएको उनको भनाई। त्यस्तै प्रहरीले कार्तिक १० गते केचना नाकाबाट भारततर्फ गइरहेको एउटा पिकअप भ्यानसहित ५ वटा गोरु नियन्त्रणमा लिएको थियो। 

मे १ ज १८३३ नम्बरको पिकअपमा राखेर गोरु भारत लैजान लागेको अवस्थामा प्रहरीले भ्यान नियन्त्रणमा लिएर भद्रपुर भन्सार कार्यालय बुझाएको छ। प्रहरीले ३ लाख २२ हजारमा गोरु र पिकअप भन्सार बुझाएको थियो।

यता मंगलबार बिहान ५० वटा गोरु लाड गरिएको ना ६ ख ३८४१ र ना ५ ख ५९४६ नम्बरको फुलबडी ट्रक सुरुङगाबाट झापा गाउँपालिकाको टाघनडुब्बा नाका हुँदै भारतको डिगलबैक नाकातर्फ लैजाने प्रहरीले नियन्त्रणमा लिएर १६ लाख २६ हजारमा भन्सार बुझाइसकेको छ। 

झापा प्रहरीले गाई गोरुसहित धमाधम सवारीसाधन नियन्त्रणमा लिएर भन्सार बुझाउन थालेपछि गाई गोरु तस्कर समूहले जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनालीलाई सरुवा गर्न चलखेल सुरु गरेको समाचार बाहिरिएलगतै झापामा प्रहरी गाई गोरु नियन्त्रणमा थप आक्रामक बनेकाे हो।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.