|

रुकुम : रुकुम पश्चिमका एक व्यक्तिले जेलमा बसेर खाने बस्नेको जोह गर्न पटकपटक चोरी गर्ने गरेको पाइएको छ। चोरीको मुद्दामा तीन वर्ष सजाय भोगेका उनले जेलमा बसेर सित्तैमा खाने बस्‍न पुनः पसल चोरी गरेको प्रहरीसमक्ष बयान दिएका छन्।

उनी हुन्, रुकुम पश्चिम मुसिकोट नगरपालिका-२ रातामाटा बस्‍ने २० वर्षीय राजु परियार। उनी अहिले रुकुम पश्चिम मुसीकोट नगरपालिका-१ त्रिवेणी चोकस्थित एक मोबाइल पसल चोरीको आरोपमा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार उनी यसअघि पनि सदरमुकाम खलंगास्थित एक व्यक्तिको घरबाट ल्यापटप र नगद चोरीको मुद्दामा तीन वर्ष कैद सजाय भुक्तान गरेर केही समयअघि मात्र बाहिर आएका थिए।

पछिल्लो पटकको चोरी घटनामा प्रहरीले अनुसन्धानको क्रममा सोधपुछ गर्दा थुना र कारागारमा हुँदा आफूलाई खान बस्न सहज हुने देखेर जानीजानी पुनः पसल चोरी गरेको बताए। उनले मोबाइल पसल तोडफोड गरेर ५ हजार नगद र सरसमान चोरी गरेका हुन्।

चोरीको अभियोगमा उनलाई खलंगाबाट पक्राउ गरी चोरी तथा डाँकासम्बन्धी कसुर मद्दामा अदालतबाट म्याद थपगरी अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.