दशरथ रंगशालाको मापदण्ड पुगेन
दशरथ रंगशालाको मापदण्ड पुगेन
विश्वकप छनोटअन्तर्गत नेपालले कुवेतविरुद्धको होम गेम न्युट्रल भेन्यु भुटानमा खेल्ने भएको छ। एसियाली फुटबल महासंघ एएफसीका प्रतिनिधि देङ्ग सिओ लोङ्गले कार्तिक १९ गते दशरथ रंगशालाको निरीक्षण गर्दै मापदण्ड नपुगेको भन्दै खेल सो रंगशालामा नगराउन निर्देशन दिएका थिए।
नेपालले पहिलो होम गेमका लागि कुवेतविरुद्ध आगामी मंसिर ३ गते प्रतिस्पर्धा गर्ने मिति तय भएको थियो। तर, आगामी १३औँ दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरेर पुनः निर्माण थालिएको रंगशालाको काम सम्पन्न हुन नसक्दा न्युट्रले भेन्युमा खेल आयोजना हुन लागेको हो।
एन्फाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै दशरथ रंगशालामा खेल नहुने जनाएको छ। सोही खेल न्युट्रल भेन्युका रूपमा भुटानको चाङ्गलिमिथाङ्ग रंगशाला प्रस्ताव गरिएको एन्फाले विज्ञप्तिमा उल्लेख गरेको छ। २०७२ बैशाख १२ को विनाशकारी भूकम्पपछि दशरथ रंगशालामा कुनै पनि फुटबल खेल हुन सकेको छैन।
होम ग्राउन्डमा खेल गराउन नसकेपछि एन्फाले विज्ञप्तीमा नै माफी मागेको छ। नेपालले सन २०१४ को विश्वकप छनोटका लागि २८ जुलाई २०११ मा जोर्डनविरुद्ध १–१ गोलको बराबरी खेले यता दशरथ रंगशालामा विश्वकप छनोटको कुनै पनि खेल खेलेको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।