२२ उम्मेदवारमध्ये आधाको स्वतन्त्र उम्मेदवारी

|
फाइल तस्विर

पोखरा  : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा भाग लिनको लागि बिहीबार देशका विभिन्न क्षेत्रमा उम्मेदवार मनोनयन दर्ता भएको छ। कास्की २ मा हुने प्रतिनिधिसभाको लागि विभिन्न दल र स्वतन्त्र गरेर २२ जनाले जिल्ला निर्वाचन कार्यालय कास्कीमा उम्मेदवारी मनोनयन गरेका छन्।

२२ जनाको मनोनयन

कास्की २ मा प्रतिनिधिसभा सदस्यको लागि २२ जनाको उम्मेदवार मनोनयन दर्ता भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले २२ जना उमेदवारको मनोनयन सूची तयार गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानले थाहाखबरलाई जानकारी दिए।

मनोनयन दर्ता गरेका मध्ये ११ जना पार्टीका उम्मेदवार र ११ जना स्वतन्त्र हुन। २२ जनामध्ये ६ जना कास्की बाहिरका उम्मेदवार हुन्। उपनिर्वाचनको लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उमेदवार उठाएको छ।

स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्याले बिहान साढे १० बजे उमेदवारी दर्ता गराएकी हुन्। उनै अधिकारीको निधनपछि कास्की २ प्रतिनिधिसभा सदस्यविहीन छ। विद्याको उम्मेदवारीमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा प्रस्तावक र नेकपाको तर्फबाट प्रदेशसभा सदस्य प्रभा कोइराला अधिकारी समर्थक रहेका छन्।

त्यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पुराना नेता खेमराज पौडेललाई चुनावी मैदानमा ओरालेको छ। खेमराजको प्रस्तावकमा कांग्रेस नेता सोभियतबहादुर अधिकारी र समर्थकमा नेता देवराज चालिसे रहेका छन्। यी दुबै नेता खेमराजसँगै टिकटको दौडमा थिए। पौडेल रामचन्द्र प्यानलको तर, देउवाले हार्न नसक्ने व्यक्ति हुन्।

समाजवादी पार्टीले सो क्षेत्रबाट धर्मराज गुरुङलाई, राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारी, साझाले रजनी केसी, नेपाल कम्युनिष्ट पार्टी (माले) ले टेकनाथ भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले गंगा मल्ल, राष्ट्रिय जनमुक्ति पार्टीले पूर्णबहादुर राना, नेपाली कांग्रेस (विपी) ले चन्द्रबहादुर रानाभाट, मंगोल नेपाल अर्गनाइजेसनले रियाज गुरुङ र देशभक्त समाजबाट वीरबहादुर विश्वकर्माले उमेदवारी दिएका छन्।

विवेकशील पार्टीले कास्कीमा पत्रकार सम्मेलन नै गरी उमेदवारी घोषणा गरे पनि पार्टी दर्ता नभएकाले स्वतन्त्रबाट मनोनयन दिँदै जमुना शर्मालाई उम्मेदवार बनाएको छ। अरू स्वतन्त्र उम्मेदवारहरुमा पुरुषोत्तम खनाल, उमानाथ गौतम, कमलजंग कुँवर,  दीपक रेग्मी, नवराज बाँस्तोला, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनिलबहादुर कोइराला, सुनिल भुसाल छन् ।

तीन दलले मनोनयन गर्नै पाएनन्

२५ जना उम्मेदवार आकांक्षी रहे पनि तीन पार्टीका आकांक्षीको मनोनयन दर्ता नै भएन। आवश्यक प्रक्रिया पुर्‍याएर मुख्य मनोनयनको लागि गएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय नागरिक पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल पार्टीका उमेदवारहरू मनोनयन नगरी फर्कन बाध्य भए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले तीनैजना उमेदवारहरूको मनोनयन दर्ता गर्न नमिल्ने भन्दै फर्काइदिएको हो।

जिल्ला निर्वाचन कार्यालय, कास्कीले उमेदवार मनोनयन नामावलीको कैफियतमा, यी तीनैजनाको नाम समानुपातिकको बन्दसूचीमा नाम छ, सोहीकारण कम्प्युटर सिस्टममा प्रविष्टि भएको छैन’ भन्ने उल्लेख गरेको छ। उनीहरूले फर्म बुझाउँदा समानुपातिक सूचीमा नाम राखेकोले फिर्ता भएको निर्वाचन कार्यालय स्रोतले जानकारी दियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.