|

इलाम : इलामस्थित नेपाल–भारत सीमा क्षेत्रमा भौतिक पूर्वाधार निर्माणमा भारतीय पक्षबाट बारम्बार अवरोध हुँदै आएको छ। प्रदेश सरकारले पूर्वाधार विकास कार्यक्रमअन्तर्गत छुट्याएको रकमबाट सन्दकपुर डाँडामा करिब एक करोड रुपैयाँको लागतमा भौतिक पूर्वाधारका काम थालिएको थियो। तर, भारतले सीमासम्बन्धी बखेडा निकाल्दा सन्दकपुर डाँडामा भ्यु प्वाइन्टसहित १०० मिटर पैदल मार्ग, प्रवेशद्वारलगायतका पूर्वाधार निर्माणको क्रममा रोकिएको उपभोक्ता समितिका अध्यक्ष रिञ्जि शेर्पाले बताए। 

निर्माणको काम रोकिएपछि सो बजेटले पछि कन्काई माईको उद्गम स्थल र मन्दिर क्षेत्रमा भने पूर्वाधार निर्माणका काम भएको थियो। नेपालतर्फ आहालटारमा निर्माण गर्न लागिएको आवास गृहमा पनि भारतीय अवरोध भएको छ। करिब तीन करोड रुपैयाँको लागतमा बन्ने आवास गृहका लागि टेन्डरसमेत भएको अवस्थामा भारतीय पक्षले सीमा यकिन नभएको भन्दै निर्माण रोकेको प्रदेश सांसद खिनु लङवा लिम्बुले बताइन्। 

‘सीमा यकिन नभएकाले पूर्वाधार नबनाउन दबाब दिएपछि आवास भवन अन्तै निर्माणका लागि ठाउँ छनौट भएको छ,’ सांसद लिम्बुले भनिन्। सन्दकपुरमा नेपालतर्फबाट कच्ची सडक स्तरोन्नति गर्ने काम भइरहेको छ। नेपालतर्फ होटल, शौचालयजस्ता पूर्वाधार बनाउँदा भारततर्फ रहेको सडकबाट निर्माण सामग्री ल्याउन कडाइ गरिएको छ। 

‘पाँचथर सीमा नजिकै इलामकै क्षेत्रमा भवन बन्ने यकिन भए पनि भारतीय पक्षका कारण काम अघि बढाउन अप्ठ्यारो भएपछि ठाउँ परिवर्तन गरियो,’ सहरी विकास तथा भवन निर्माण कार्यालयका प्राविधिक प्रशान्त राईले भने, ‘भारतीय पक्षको दबाबपछि स्थानीयको भेलाबाट हामीले अर्को स्थान छनौट गरी निर्माणको प्रक्रिया अघि बढाएका छौँ।’ 

एसएसबीको दबाबपछि निर्माणमा अवरोध सिर्जना भएको थियो। एसएसबीले गुगल म्याप देखाएर भवन बनाउन लागिएको क्षेत्रमा काम अघि नबढाउन दबाब दिएपछि निर्माणको काम रोकिएको होे। प्राविधिक राईले भने, ‘प्रदेश सांसदको नेतृत्वको टोलीले पानी ढलो र सीमा पिल्लरको अवस्थाका अनुसार भवन बनाउन लागिएको क्षेत्र प्रस्ट रूपमा नेपाल भएपनि हामीले अर्को स्थान छनोट गर्‍यौं।’

हिमाल दृश्यावलोकनसहित नेपाल, भारत र भुटानका अनेक स्थान नियाल्न सकिने क्षेत्रमा भवन बनाउन नपाएपछि अलि अपायक क्षेत्रमा भवन निर्माणको टुङ्गो लगाइएको छ। दुई करोड ८५ लाख ९१ हजार ५१४ रुपैयाँको लागतमा गेष्ट हाउस भवन निर्माणको सम्झौता गरिएको थियो। सम्झौता अनुसार भवन २०७८ असार २९ सम्म निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ। तर, भारतको अवरोधका कारण काम अझै सुरु हुन सकेको छैन। 

सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाएको उल्लेख गर्दै सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले पूर्वप्रधानमन्त्री तथा इलाम क्षेत्र नम्बर १ का सांसद झलनाथ खनालसँग तत्काल समाधानका लागि आग्रह गरेका थिए। ‘एकाएक भौतिक संरचना निर्माणमा अवरोध पुर्‍याएपछि हामीलाई निर्माका काममा बाधा पुगेको छ,’ अध्यक्ष राईले भने, ‘पूर्वाधार निर्माणलाई चाँडो निरन्तरन्ता दिएर झुल्केघामसँगै हिमशृंखलाको दृश्यावलोकन गर्ने डाँडामा पर्यटकको पहुँच सहज बनाउन पहल गरिरहेका छौँ।’

शेर्पा च्यालेट होटल अगाडि जंगे पिल्लर रहे पनि त्यसमाथि सहायक र सानो पिलर नहुँदा सीमा यकिन छैन। यस क्षेत्रमा सीमा क्षेत्रलाई पानीढलोका आधारमा बुझिने गरिएको छ। तर, पछिल्लो समय भारतीय पक्षले गुगल नक्साअनुसार नेपालका धेरै क्षेत्र र बस्ती भारततिर पर्ने दाबी गर्दै आएको छ। गुगल नक्सा आधिकारिक नहुने भएकाले तत्काल समाधानका लागि संघीय सरकारको विभिन्न निकायसँग आग्रह गरिरहेको गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले बताइन्।

सन्दकपुर क्षेत्रलाई गतिलो पर्यटकीय गन्तव्य बनाउन अन्य पूर्वाधार विकासका थुप्रै काम अघि बढाउनुपर्ने भएकाले सीमासम्बन्धी समस्यालाई सरोकारवालाले तत्काल सुल्झाउनुपर्ने उपाध्यक्ष पराजुलीको भनाइ छ। सीमा विवाद सधैं बल्झिरहने भएकाले स्थायी समाधान खोज्नुपर्नेमा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग स्थानीयले माग गरेका छन। ‘भारतले सीमा क्षेत्रमा ३÷४ किलोमिटरको अन्तरमा एसएसबी क्याम्प राखेर नियमित अनुगमन र निगरानी गर्छ,’ सन्दकपुर २ का वडासदस्य अमृत राईले भने, ‘नेपाल सरकारको तर्फबाट बजेट विनियोजन गरे पनि सीमा क्षेत्रबारे चासो नराख्दा बजेट भनेको स्थानमा सदुपयोग गर्न सकिएको छैन।’

सन्दकपुरमा काममा अवरोध भएपछि सीमा हेर्ने सशस्त्र प्रहरीको बीओपीले स्थलगत अनुगमन गरे पनि यो निकायसँग नक्सा नहुँदा अन्यौल छाएको छ। ‘भारतीय सुरक्षाकर्मीसँग छलफल भए पनि निकास आएन,’ सशस्त्र प्रहरी बल बिओपी पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक पवन खड्काले भने, ‘दुई देशको संयुक्त टोलीले सीमा यकिन नगरेसम्म सीमा क्षेत्रमा कुनै संरचना नबनाउने सहमति भएको छ।’ वैज्ञानिक सीमांकन नभएसम्म यस क्षेत्रमा पूर्वाधार निर्माणदेखि अन्य गतिविधि गर्न समस्या हुने उनले बताए।

दशगजा क्षेत्रका धेरै स्थानमा निजी पूर्वाधारसमेत बनेका छन्। सरकारी तवरबाटै भौतिक विकासका काम थालिएपछि भने भारततर्फबाट अवरोध भएको हो। तर, भारततिर सीमा क्षेत्रमा रहेको सीमा सुरक्षा बलको क्याम्प निर्माण गर्दा दशगजा मिचिए पनि नेपाली पक्षबाट चासो दिइएको छैन। इलामको सीमा क्षेत्रमा राखिएका भारतीय एसएसबी क्याम्प दशगजामा टसाएर बनाए पनि नेपाल पक्षले संरचना निर्माणमा अवरोध गरिरहेकाले समस्या भएको स्थानीयको भनाइ छ। पहिलोपटक सन्दकपुर पुगेका इलामका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले सीमा समस्यालाई तत्काल केन्द्रसम्म पुर्‍याएर समाधानको प्रयास गरिरहेको बताए। 

इलामको नेपाल र भारत सीमा क्षेत्रमा भारतपट्टिबाट धेरैजसो पानी ढलोको दिशा छुट्टयाउने डाँडो काटेर सडक निर्माण गरेका कारण सीमा क्षेत्र यकिन गर्न समस्या भएको स्थानीयको भनाइ छ। सन्दकपुर पर्यटकीय क्षेत्रको अधिकास भ्यु प्वइन्ट र खाने बस्ने स्थान नेपालपट्टि भएकाले सीमा क्षेत्रको भूभागमा भारतको स्वार्थ रहेको सीमा क्षेत्रको सरोकार राख्ने नेपालीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.