|
वामका बागी उम्मेदवार शेरमान घर्ती।

बागलुङ : आगामी मंसिर १४ गते हुने उप–निर्वाचनको मनोनयन दर्तासँगै बागलुङको राजनीतिक माहोल ह्वात्तै तातेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार दर्ता भएका आठ दल र दुई स्वतन्त्र उम्मेदवारले आ-आफ्नै तरिकाले निर्वाचनको तयारी थालिसकेका छन्।

उपनिर्वाचनमा मुख्य प्रतिस्‍पर्धी मानिएका नेकपा–राजमो गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारको चर्चा बागलुङ क्षेत्र नं २ (ख) मा हुने उप–निर्वाचनको लागि स्वभाविक हो। तर मनोनयन दर्तापछि बागलुङको राजनीतिक वृत्तमा एकाएक स्वतन्त्र उम्मेदवारको चर्चा चुलिएको छ। नेकपा–राजमो गठबन्धनबा असन्तुष्ट बनेका नेकपाका नेता शेरमान घर्तीले स्वतन्त्र उम्मेदवारी दिएपछि उनी एकाएक चर्चामा आएका हुन्।

उप–निर्वाचन हुने क्षेत्रमा उनी नेकपाका लोकप्रिय नेताको रुपमा चिनिन्छन्। झण्डै २० वर्ष राष्ट्रिय जनमोर्चामा रहेर काम गरेका शेरमान तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि नेकपा माओवादीमा प्रवेश गरेका थिए। दुई पार्टीबीच एकता भएसँगै उनी पछिल्लो समय सत्तासीन नेकपाका त्यस क्षेत्रमा लोकप्रिय नेता नै मानिन्छन्।

पार्टी केन्द्रले गरेको निर्णयअनुसार नेकपा/राजमोको साझा उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाका नेता खिम विक्रम शाहीलाई चुनावी मैदानमा उतारिएको छ। २० वर्षभन्दा धेरै समय सँगै एउटै पार्टीको राजनीति गरेका शेरमानको स्वतन्त्र उम्मेदवारीपछि चर्चाको विषय बनेको छ।

पार्टीले जिम्मेवारी दिएन जनताले दिनेछन्

 ‘जुन पार्टी चित्त नबुझेर अर्को पार्टिमा गएँ, उसैलाई सघाउन कसरी सक्छु’ शेरामान भन्छन् ‘मलाई पार्टीले जिम्मेवारी नदिएकोले जनताले जिम्मेवारी दिनेछन्।’ स्थानीय तहको निर्वाचनका बेला तत्कालीन नेकपा माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकाको प्रमुख पदमा निर्वाचन लडेका घर्ती पराजित भएपछि पनि सोही

क्षेत्रमा बसेर पार्टीको काम गर्दै आएका थिए। पछिल्लो समय उनकै पहलमा अन्य पार्टीबाट नेकपामा प्रवेश गर्नेको लहरले पनि उनको उम्मेदवारी वाम गठबन्धनका लागि आफ्नो पक्षमा चुनावी परिणामको बाधक बन्न सक्छ।

कांग्रेसका पुरानै उम्मेदवार

मुख्य प्रतिस्पर्धी मानिएको नेपाली कांग्रेसले यसअघिको निर्वाचनमा उपविजेत बनेका जीत शेरचनलाई नै उम्मेदवार बनाएको छ। यसअघि पनि तत्कालीन नेकपा एमाले, माओवादी केन्द्र र राजमोको संयुक्त उम्मेदवार बनेका टेकबहादुर घर्तीले चुनाव जितेका थिए।

अघिल्लो चुनावमा वाम गठबन्धनबाट उठेका घर्तीले ११ हजार ८८४ मत ल्याएका थिए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शेरचनले ८ हजार ६२४ मत पाएका थिए। अघिल्लो मत परिणाम र थपिएका मतदाताको मनस्थिति हेर्दा वाम गठबन्धनको पल्लाभारीको सम्भावना रहेको भए पनि शेरमानको उम्मेदवारी गठबन्धनका लागि बाधक बन्न सक्छ।

 ‘पार्टीले केही जिम्मेवारी दिएको भए पो कारबाही गर्नु, दुई पार्टी एक हुँदा मेरो साधारण सदस्यतासमेत छैन’ मनोनयन दर्ता गरेर निस्केपछि शेरमानले भनेका थिए, ‘म फिर्ता गर्दिनँ जितेरै छोड्छु।’यद्धपि नेकपा जिल्ला कमिटीको कार्यालयले भने प्रदेश कमिटीमा नाम सिफारिस गर्दा उनको समेत नाम परेको थियो।

शेरमानले भनेको जस्तै उम्मेदवारी फिर्ता लिएनन् भने यसपटक नेपाली कांग्रेसले पहिलेको हारलाई जितमा परिणत गर्ने देखिन्छ। झिनो मतान्तर र शेरमानले बाम गठबन्धनले पाउने मतबाट कटाउने मत कांग्रेसको विजयको कडी हुनसक्छ।

'संगठन बलियो छ जितेरै छाड्छु'

‘पहिलेको निर्वाचनमा कमजोर संगठन भयो भनेर जनताले संगठन गर्न मलाई हराए’ कांग्रेस उम्मेदवार जित शेरचनले भने, ‘यस पटक संगठन बलियो बनेको छ मत हाम्रै पक्षमा हो।’ उनले भनेको जस्तै काम नगरेको भएपनि हारबाट पाठ सिकेको भए कांग्रेसले कार्यकर्ता संरक्षण र मत आफ्नो पक्षमा पार्न केही न केही काम गरेको हुनुपर्छ।

अर्को तर्फ २ (ख) मा पर्ने दुईवटा गाउँपालिकामा कांग्रेसकै नेतृत्व छ। निसिखोला गाउँपालिका र तमानखोला गाउँपालिकाले गरेका काममा सर्वसाधारणको चित्त बुझेको भए जित शेरचनको पक्षमा मत पर्ने सम्भावना पनि उत्तिकै रहन्छ।

शेरमानको उम्मेदवारीले तताएको बगलुङसँगै नेकपा जिल्ला कमिटी पनि उनको उम्मेदवारी फिर्ताका लागि हरसम्भव पहलमा लागेको छ। निर्वाचन आयोगले उम्मेदवार माथिको उजुरी, छानविन, उम्मेदवारी फिर्ता लगायतका कार्यक्रम चलाइरहेको छ।

वाम कार्यकर्ता सशंकित, शेरमानलाई ब्याक गराउने तयारी

कात्तिक २५ सम्म उम्मेदवारी फिर्ताको समय रहेकाले शेरमानको उम्मेदवारी फिर्ता हुने नहुनेमा वाम गठबन्धन सम्‍बद्ध कार्यकर्ताहरू सशंकित देखिन्छन्। ‘उहाँ जिम्मेवार नेता हो उम्मेदवारी फिर्ता लिनुहुन्छ’ नेकपा जिल्ला कमिटी कार्यालय सदस्य कृष्ण पाठकले भने, ‘उहाँ हामीसँगै हुनुहुन्छ, उम्मेदवारी फिर्ता हुनुमा शंका नगरौं।’

नेकपा अध्यक्ष प्रचण्डले मनोनयन दर्ताकै दिन पोखरामा दिएको अभिव्यक्तिले पनि उनको उम्मेदवारी पार्टीभित्र कुनै सम्झौतामा फिर्ता हुने संकेत देखिएको छ। ‘पार्टीले कुनै महत्वपूर्ण जिम्मेवारी दिएर उहाँलाई ब्‍याक गर्छ’ एक युवा नेताले भने, ‘हाम्रो साझा उम्मेदवार खिमबिक्रमजी नै हो।’ 

शेरमानको उम्मेदवारीले तातेको माहोल उम्मेदवारी फिर्ता भएर सेलायो भने २०७४ को निर्वाचनपछि कांग्रेस छोडेर अन्य दलबाट उप–निर्वाचनमा उम्मेदवार बनेका नेताहरुका कारण कांग्रेसको मतान्तर थप बढ्ने सम्भावना रहेको छ।

राप्रपाबाट उम्मेदवार बनेका गणेश बहादुर कुँबर र समाजवादी पार्टिबाट उम्मेदवार बनेका अशोककुमार विक २०७४ को निर्वाचनपछि कांग्रेस छोडेका नेताहरू हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.