|

बागलुङ : जिल्लाको जैमिनी नगरपालिका १ को कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा उत्साहका साथ भित्राइएको एक्स-रे मेशिन थन्किएको दुई वर्ष भयो।

स्वास्थ्य केन्द्रमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बिमा) कार्यक्रममार्फत भित्र्याइएको मेशिनले बन्द कोठामै दुई वर्ष थन्किँदा अर्को मेशिन थपिएको छ। तर सञ्चालनमा अझै आउन सकेको छैन। प्राविधिक जनशक्तिको अभाव र डार्ग रुमको सामान नभएको भन्दै थन्किएको मेशिन नचल्दै गत असार महिनामा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा अर्को मेशिन ल्याइएको हो।

असारमा आएको मेशिन समेत बन्द कोठामै थन्किएपछि बिरामी सुविधा उपभोग गर्नबाट वञ्चित भएका छन्। वार्षिक १ लाख रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य उपचार गर्ने आशासहित प्रतिपरिवार न्यूनतम तीन हजार पाँचसय रुपैयाँ तिरेर बिमा गरेकालाई लक्षित गरी ल्याइएको एक्स-रे मेशिन सञ्चालन नहुँदा समस्या भएको स्थानीय बताउँछन्। 

स्वास्थ्य बिमा कार्यक्रमको मात्रै होइन गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले हरेक स्वास्थ्य संस्थामा एक्स-रेको लागि आवश्यक प्राविधिक र सामग्री पुर्‍याउने लक्षका साथ दिएको मेशिन समेत सञ्चालनमा नआउँदा बिरामी मर्कामै छन्। स्वास्थ्य बिमाले केन्द्रमा ल्याएको मेशिन डार्क रुममा प्रयोग हुने एसेसरिज नामक सामग्री र जनशक्ति नभएको भन्दै बन्द कोठामा राखेको छ।

‘सामग्री पूरा नभएकाले चलेको थिएन। जनशक्ति पनि छैन’ जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले भने, ‘अहिले संरचना र जनशक्ति दुवैको व्यवस्थापन गर्दैछौं।’ स्वास्थ्य केन्द्रले मेशिन चलाउनका लागि एक जना सिनियर अहेबलाई तालिम दिने तयारी गरिरहेको आचार्यले बताए।

‘हामीले स्वास्थ्य केन्द्रमा कार्यरत अहेब डिल्लीप्रसाद शर्मालाई मेशिन चलाउन आग्रह गरेका छौं। आवश्यक प्राविधिक ज्ञान दिए उहाँ काम गर्न तयार हुनुहुन्छ’ आचार्यले भने,‘धौलागिरी अञ्चल अस्पतालमा मेशिनकै काम गरिरहनु भएका प्राविधिकलाई सिकाई दिनु भनेका छौं। समय मिलेको छैन।’

सेवा क्षेत्रभित्रका धेरै परिवार स्वास्थ्य बिमा कार्यक्रमसँग जोडिएकाले स्वस्थ्य केन्द्रमा आउने प्रायले निःशुल्क उपचार पाउँछन्। एक्स–रे गर्न आवश्यकलाई अञ्चल अस्पतालमा पठाउनु परेको स्वास्थ्य केन्द्रले जनाएको छ।

‘महिनामा १० देखि १५ जना एक्स-रे गर्नुपर्ने बिरामी आउनुहुन्छ’ सिनियर अहेव डिल्लिप्रसाद शर्माले भने, ‘भएको मेशिन नचलेपछि रिफर गर्ने गरेका छौं।’

सामान्य फ्याक्चर भएका बिरामीलाई समेत केन्द्रले एक्स-रे को लागि सिफारिस गरेर पठाउने गरेको छ। केन्द्रमा दरबन्दी जनशक्ति नहुनाले मेशिन चलाउने जनशक्तिको व्यवस्थापन गर्न कठिन भैरहेको व्यवस्थापन समितिले जनाएको छ। ‘हामीले आवश्यक पूर्वाधार र जशक्तिको व्यवस्थापन गरेर मेशिन चलाउनुस् भनेर प्रमुख ज्युलाई भनेका छौं’ समितिका अध्यक्ष भुपेन्द्र थापाले भने, ‘सके वडा नभए नगरपालिकाबाट स्रोत जुटाएर भए पनि मेशिन सञ्चालनमा ल्याउँछौं।’

स्वास्थ्य केन्द्र प्रमुख परिवर्तन भैरहने समस्याले पनि मेशिन सञ्चालनमा आउन समय लागेको थापा बताउँछन्। नगरपालिकाकै केन्द्रमा रहेको स्वास्थ्य केन्द्रमा पूर्वाधार र जनशक्तिको विषयमा बेला बेलामा नगर स्तरमा चर्चा चल्ने गरेको भए पनि समयमा व्यवस्थापन हुन नसक्दा सर्वसाधारणले दुःख पाउने गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.