रवीन्द्रजीले देखेका सपना पूरा गर्नेछु

|

आगामी मंसिर १४ मा देशभरका ५२ स्थानमा उपनिर्वाचन हुँदैछ। विभिन्न कारणले रिक्त रहेका प्रतिनिधिसभा, प्रदेश सभा, गाउँपालिका र वडातहको निर्वाचन हुन लागेको हो। निर्वाचन हुन लागेका यी स्थानमध्ये सबैभन्दा चर्चित छ कास्की क्षेत्र नम्बर २। यो क्षेत्र अन्य क्षेत्र भन्दा महत्वपूर्ण मानिएको छ। यहाँ सत्तारूढ र प्रतिपपक्षको प्रतिष्ठाको लडाइँ पनि हुँदैछ। उपनिर्वाचनमा प्रतिनिधि सभाका लागि मतदान हुने हुने एक मात्र क्षेत्र यही हो। यहाँबाट तीन पटकसम्म सांसदमा निर्वाचित तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि यो क्षेत्र खाली भएको हो। अहिले कास्की क्षेत्र नम्बर २ का लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार हुन्, विद्या भट्टराई। कास्की २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधनपछि उनकै श्रीमती विद्या भट्टराई चुनावी मैदानमा उत्रिएकी छन्।

अधिकारीसँगै विद्यार्थी आन्दोलनको योद्धा भएर राजनीतिमा होमिएकी विद्या झण्डै २० वर्ष राजनीतिमा फर्केकी हुन्। एमफिल पुरा गरिसकेकी उनी उम्मेदवार बन्नुअघि त्रिभुवन विश्वविद्यालयमा पूर्णकालीन प्राध्यापक थिइन्। पद्मकन्या क्याम्पसबाट राजनीतिक यात्रा अघि बढाएकी उनी अनेरास्ववियुको सचिवसम्म भएकी थिइन्। तर उनले रवीन्द्रसँग बिहे गरेसँगै राजनीतिबाट केही समय विश्राम लिइन्। उम्मेदवार हुनुअघिसम्म उनी प्रत्यक्ष राजनीतिबाट केही पछि बसेर प्राध्यापन पेशामा आफ्नो नाम लेखाउँदै आएकी थिइन्। अहिले फेरि प्राध्यापन पेशालाई छुटाएर राजनीतिमा आएकी छन्। नेकपाबाट सर्वसम्मत रुपमा सिफारिसमा परेकी विद्याले नेकपाकै तर्फबाट जिल्ला निर्वाचन कार्यालय कास्कीमा बिहीबार उम्मेदवार मनोनयन पनि गरिसकेकी छन्। उनै विद्यासँग थाहाखबरकर्मी सन्तोष अधिकारीले श्रीमानको मृत्युपछि राजनीतिमा फर्किएपछिको चर्चा र निर्वाचनको तयारीबारे गरेको संक्षिप्त कुराकानी : 

एक हिसाबले विश्राम नै लिएको राजनीतिमा समय परिस्थितिले फर्काएको छ। राजनीतिमा दुई दशकपछिको पुनरागमन कस्तो लाग्दैछ?

हो, म राजनीतिमा फेरि फर्किएको साँचो हो। तर, मेरो लागि राजनीति नयाँ होइन। राजनीतिक मरुभूमिमा बालुवाको भूमरीझैँ रुमल्लिने अवस्थामा म छैन। पहिले प्रत्यक्ष र पछि अप्रत्यक्ष राजनीतिमा म संलग्न भएकै थिएँ र छु। महिला आन्दोलनमा केही र विद्यार्थी आन्दोलनले मलाई राजनीति चिनाएको थियो। समयले फेरि राजनीतिमा आउने अवसर पाएको छु। यसलाई त्यो विधि के के न भयो चाहिँ म ठान्दिनँ। तर, मैले देशका लागि केही गर्ने अठोट जति बेला विद्यार्थी आन्दोलनमा हुँदा गरेको थिएँ। अब पुरा गर्ने साहस लिएर आएको छु। मेरो श्रीमान् राष्ट्रिय राजनीतिको कुनै कुनै केन्द्रमा रहनु भएकै थियो। उहाँ पूर्णकालीन राजनीतिमा भएपछि म त्यसबाट अछुतो हुने कुरै भएन। मैले यो किन जोडेको भने म राजनीतिबाट अलग्गिएको होइन, केही पर मात्रै थिएँ भन्नलाई हो। 

अहिले त तपाईंले उम्मेदवारका रूपमा मनोनयन समेत गरिसक्नु भयो। तपाईं मैदानमा उत्रिएको ठाउँमा श्रीमानले ह्याट्रिक गर्नु भएको थियो। अब जनताको गुनासो सम्बोधन गर्दै श्रीमानको उपस्थितिको अभाव हुन नदिन जनतालाई कसरी सम्बोधन गर्नुहुन्छ? 

म राजनीतिमा फेरि फर्किएको साँचो हो। तर, मेरो लागि राजनीति नयाँ होइन। राजनीतिक मरुभूमिमा बालुवाको भूमरीझैँ रुमल्लिने अवस्थामा म छैन। पहिले प्रत्यक्ष र पछि अप्रत्यक्ष राजनीतिमा म संलग्न भएकै थिएँ र छु।

समयको विभिन्न कालखण्डमा परिवर्तनको लागि राजनीतिक आन्दोलन भए। अझै केही होलान्। केही आन्दोलनले पञ्चालयत, केहीले बहुदल, केहीले राजतन्त्र फालेर गणतन्त्र स्थापना गरेको छ। यही गणतन्त्रमा जनताकै प्रतिनिधिले लेखेको संविधान पनि हामीमाझ् छ। मैले विद्यार्थी आन्दोनमा उठाउने माग संविधानको धारा, उपधारामा समेटिएका छन्। देशमा अहिले संविधान आइसकेको छ। अब जनताको आवश्यकता पूर्ति, विकास र सबैको सोंच र व्यवहार परिवर्तन नगरी नहुने छ। यसैको लागि म राजनीतिमा आएकी छु। रवीन्द्रजीको लोकप्रियता यो क्षेत्रमा जस्तो छ, मैले त्यसलाई ध्यान दिनैपर्छ। उहाँका केही सपनाहरू रोकिएका छन्। मैले चुनाव जितेँ भने देश र जनताका लागि रवीन्द्रजीले देखेका सपना पूरा गर्नेछु। जुन देश र जनताका लागि अपरिहार्य छन्।   

निर्वाचन लड्दै हुनुहुन्छ। श्रीमानको मृत्युपछि चुनावमा आएको भनेर धेरैले आलोचना र टिप्पणी पनि गरेका छन्। तपाईंलाई नेकपाले उम्मेदवारका रूपमा किन रोज्यो?

रवीन्द्रजीको निधनपछि उसको श्रीमतीलाई टिकट दि सहानुभूतिले पनि भोटआउँछ भनिएको पनि सुनिएकै हो। तपाईंले भनेजस्तै रवीन्द्रको श्रीमती भएकै कारणले विद्याले चुनावमा टिकट पाई भनेको कुरा मेरो कानमा पनि नपरेको होइन्। यसरी प्रश्न गर्नेहरूलाई मेरो भन्नु पनि केही छैन। हिजो विद्यार्थी आन्दोलनमा फरक भूमिकामा मेरो नाम अग्रपंतिमा आउँथे। तर, आज मेरो नाम उहाँ (रवीन्द्रजी) कै कारणले आएको हो। संवेदनाले होइन, समय, आवश्यकता राजनीतिक परिवर्तनले मलाई यहाँ उभ्याएको हो। म निर्वाचित भइसकेपछि कास्की र देशको राजनीतिमा रवीन्द्रजीले जस्तै भूमिका खेलेर उहाँले दिनुभएको योगदानलाई शिरोपर गर्दै जाने छु। यसले भोलि कसैले आज गरिरहेको जस्तो प्रश्न गर्न सक्ने छैन। म अर्काे कुरा पनि के भन्न चाहन्छु भने मैले हिजो विद्यार्थी आन्दोलनमा होस्, महिला आन्दोलनमा होस्, पार्टीको बुद्धिजीवीको कमिटीमा बसेर होस योगदान दिएकै छु। मलाई कुनै सहानुभूतिले टिकट दिन आवश्यक थिएन। मैले गरेको योगदानलाई कदर गरेर जिल्ला कमिटिले सर्वसम्मत मेरो नाम सिफासिरस गरेको हो नि! रवीन्द्रजी जस्तै विद्या पनि नेपालमा भएको राजनीतिक परिवर्तनको एउटा आन्दोलनको योद्धा हो भन्ने कुरा भुल्नु भएन। 

बिहानै उठ्यो, आफ्नो घरायसी नित्यकर्म सक्यो, अध्ययन अध्ययापनमा गयो। साँझ आयो। अब यो पनि सकियो। चुनावमा आउनु भएको छ, पहिले जसरी दिन अब पक्कै नचल्लान्। पारिवारिक जिम्मेवारी, राजनीतिक दबाब र संघर्षको जटिलताबीच  कसरी अघि बढ्नुहुन्छ?

हो, विद्यार्थी आन्दोलनको राजनीति र पार्टीको त्यो पनि चुनावमा लड्ने बेलाको राजनीति फरक हुन्छ नै। यो मैले नभोगे पनि प्रत्यक्ष देखेको छु। रवीन्द्रजीको हरेक राजनीतिक घटनामा म सँ थिएँ। धेरै कुराहरू स्वयम् व्यक्तिको 'नेचर'मा भर पर्छ। म पहिलेदेखि नै सबैसँग मिलेर जानुपर्छ भन्ने मान्छे। राजनीतिमा सबै नमिलेसम्म अगाडि जान सकिँदैन। त्यसैले सबै कुरा व्यवस्थापन गर्दैछु। म चुनाव लड्ने क्षेत्र धेरै शिक्षित वर्ग भएको क्षेत्र हो। त्यसैले यहाँका जनताले व्यक्तिगत क्षमता पनि हेर्नुहुन्छ भन्नेमा म विश्वस्त छु।  

हिजो विद्यार्थी आन्दोलनमा फरक भूमिकामा मेरो नाम अग्रपंतिमा आउँथे। तर, आज मेरो नाम उहाँ (रवीन्द्रजी) कै कारणले आएको हो। संवेदनाले होइन, समय, आवश्यकता राजनीतिक परिवर्तनले मलाई यहाँ उभ्याएको हो।

चुनावी योजना केही छ कि? 

पार्टीले विभिन्न नेताहरूलाई चुनाव हाँक्नका लागि नेतृत्व सुम्पिसकेको छ। मेरो पार्टी र जनवर्गीय संगठन सबैमा विद्यालाई निर्वाचन जिताउनुपर्छ भन्ने भावना छ। चुनावी योजना मैले भन्दा पनि पार्टीले बनाएको छ। अरु त निर्वाचित भएपछि गर्ने कामहरू छँदैछन्। 

रवीन्द्रजीले पाएको जनमत र विश्वास कसरी कायम राख्नुहुन्छ? 

दुई वर्ष अगाडि यहीँका जनताले नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार तपाईंहरूका प्रिय नेता, तपाईंहरूको मन मस्तिष्कमा बस्नुहुने र देश विकासमा लागि पर्ने नेतालाई विजयी गराएर पठाउनु भएकै हो। दुई वर्षपछि उहाँलाई गुमाउन पुग्यौं। अहिले उपनिर्वाचनमा जुटेका छौँ। यहाँबाट पाँच वर्षका लागि नेपाल कम्युनिस्ट पार्टीलाई विजयी गराएर पठाउनु भएको हो। तर त्यो विश्वास अपूरो रह्यो। त्यो जनमत आज पनि कायम छ। मैले जित हासिल गरिसकेपछि त्यो जनमतलाई असर नपर्ने गरी प्रतिबद्ध जनप्रतिनिधिको रुपमा भूमिका खेल्नेछु। ममाथि किन संवेदनाको मत लिन आएको भन्ने प्रश्न उठेको छ। हामी शोकलाई शक्तिमा बदलौं भनेर लागिरहेका छौं। एउटै परिवारमा दुवैजना राजनीतिमा आउँदा दुवैको गति रोकिन सक्छ भन्ने ठानेर एउटाको गति बढाउन म केहीपछि बसेकी थिएँ। म प्रचारमा देखिइनँ होला। तर राजनीतिक चेत छोडेको छैन। म खुला किताब हुँ। जतिबेला पनि पढ्न सक्नुहुन्छ। कहीँ कतै कमजोरी भयो भने औंला ठड्याउन सक्नुपर्छ।  

अन्त्यमा, कास्कीका २ तपाईंका मतदाताहरूलाई भन्नु केही छ?  

म पहिले उम्मेदवारसँगै आउथेँ। अहिले आफैँ उम्मेदवार बनेर आएको छु। हिजो जिताएर पठाएको उम्मेदवारले विश्वासघात गरेनन्। म पनि त्यसलाई निरन्तरता दिनेछु। म जतिबेला पनि तपाईंहरूसँगै हुने प्रतिवद्धता गर्न चाहन्छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.