फुट्ने खतरामा पुगेको महासंघ जोगियो

|

काठमाडौं :  वरिष्ठ उपाध्यक्षमा विजयी भएसँगै स्वत: आगामी अध्यक्षका रूपमा चिनिएका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा यो  बीचमा प्रत्यक्ष अध्यक्ष किन नबन्ने भन्ने विषयमा पनि बहस गर्न बाध्य भए।

विधान संशोधन गरेर आगामी कार्यकालमा प्रत्यक्ष अध्यक्ष निर्वाचित गराउने बहससहित प्रकिया नै अघि बढ्न थालेपछि निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ विवादको भूमरीमा पर्‍यो।

महासंघभित्र राजनीति बढेको र यसले महासंघको आगामीरूप कस्तो लिने हो भन्ने विषयमा अन्योलता कायम रहिरहेको बेला वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान संशोधन गर्ने लगायतका एजेण्डासहित कात्तिक २९ गते बोलाइएको महासंघको विशेष साधारणसभा स्थगित भएपछि महासंघको राजनीति पुन: लयमा फर्किएको छ। शुक्रबार बसेको विधान संशोधन समितिको बैठकले विशेष साधारणसभा स्थगित गरेको छ। यस विषयलाई आइतबार महासंघको कार्यसमिति बैठकले अनुमोदन गर्नेछ। 

रस्साकस्सीमा भवानीको मध्यस्थता 

जिल्लाबाट वरिष्ठ उपाधयक्ष महासंघको काममा र व्यवसायीको गुनासोमा सक्रिय नभएको भन्दै गुनासो आउन थालेको बहानामा विशिष्ट सदस्य तथा पूर्वअध्यक्ष चण्डिराज ढकालकै सहयोगमा कार्यसमितिमा  प्रत्यक्ष अध्यक्ष बनाउनुपर्ने विषयमा अघि सर्‍यो।  प्रत्यक्ष अध्यक्षको विषय लगायतका संघीयताअनुसारको कार्यविभाजनको लागि विधान संशोधन आश्यकता महसुस गर्दै कार्यसमितिले ढकालका संयोजकत्वमा विधान संशोधन समिति गठन गरेपछि महासंघभित्रको राजनीति छताछुल्ल हुन थाल्यो।

वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुनुपर्छ भन्ने लाइन निवर्तमान अध्यक्ष पशुपति मुरारकाले लिए भने चण्ढीराज ढकाल सहितका केही पदाधकारीले भने जिल्लाबाट आएको दबाब सुनिनुपर्ने भन्दै प्रत्यक्ष अध्यक्षमा जोड दिए। चुनाव नजिकिँदै गर्दा महासंघभित्र यस्तो किसिमको राजनीति नचल्ने भने हैन।  

ढकाललाई उपाध्यक्षहरू किशोर प्रधान  र उमेशलाल श्रेष्ठ,  पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारको समेत साथ रह्यो। मुरारकालाई गोल्छाको सहयोग त हुने नै भयो, अन्य केही सदस्यहरूले पनि साथ दिए। 

तठस्थको खोजीमा देखिए अध्यक्ष भवानी राणा र उपाध्यक्ष चन्द्र ढकाल। ढकाललाई तठस्थ बसेर पुगे पनि अध्यक्ष राणालाई पुग्ने कुरा भएन दुवै पक्षको आलोचित पात्र मध्यस्थता खोज्दा दुवै पक्षबाट आलोचित बनिन्। 

एक पक्षले शेखर गोल्छा अध्यक्ष बन्ने कुरामा अडान लिएको भन्दै आलोचना गर्‍यो भने अर्को पक्षले विधान संशोधनका लागि विशेष साधारणसभा बोलाएको र त्यही साधारणसभाबाट यो प्रकिया हटाउने प्रयास गरिएको भन्दै राणाको आलोचना गरे।

प्रत्यक्ष अध्यक्ष बन्नुपर्ने तर यही कार्यकाल वा आगामी कार्यकालमा भन्ने विषय साधारणसभाबाट टुंगोमा पुर्‍याउने भनेर विशेष साधारणसभा बोलाउने मिति तय गरिएपछि गोल्छा समूहबाट अध्यक्ष बढी आलोचित बनिन्। कार्यसमितिमै रहने मुरारकाले भने विधान संशोधनका लागिसमेत प्रकिया नपुगेको भन्दै निरन्तर फरक मत राख्दै आए।

अध्यक्ष राणाले  आफ्ना दुई एजेण्डामा निरन्तर लागेको बताउँदै आएकी थिइन्। 'संघीयता अनुसारको महासंघको विधान संशोधनका लागि विशेष साधरणसभा आवश्‍यकता थियो, तर, विशेष साधरणसभामा आएका अन्य एजेण्डा देखेर गोल्छा तर्सिएको देखियो' राणा भन्छिन्, 'मबाट शेखर अन्यायमा पर्न दिने कदम हुन सक्दैन थियो तर जिल्ला साथीहरूले भनेको कुरा पनि सुन्‍नुको विकल्प कहाँ थियो र?'

अन्तत: आफू जुन प्रकियाबाट अध्यक्ष बनेकी थिइन् त्यही प्रकियाबाट गोल्छा अध्यक्ष बन्ने भएपछि महासंघमा राजनीति थप बढाएको आरोपबाट राणा जोगिएकी मात्रै छैनन फुटको संघारमा पुगेको महासंघलाई जोगाएकी पनि छन्। गोल्छा भने बल्ल ढुक्क देखिएका छन्।

जिल्लाबाट एउटा धारणा आउने र प्रत्यक्ष अध्यक्ष चुन्ने प्रकिया आगामी कार्यकालका लागि नै लागू गर्दा महासंघ नै फुट्ने खतरा देखिएको अवस्थामा जिल्लाको  समेत सेन्टिमेन्ट लिएर महासंघको फुट्न सक्ने खतराबाट राणाले जोगाउनुभएको छ' एक पूर्वअध्यक्ष भन्छ 'उहाँको कार्यकालको बाँकी समयमा समेत निस्क‍न सक्ने समस्यालाई यसगरी समधान गर्दै अघि बढ्नुभयो भने महासंघको इतिहासमा पनि उहाँको नाम उच्च स्थानमा रहने छ।'

विगतमा महासंघबाट फुटेर गएको टिमले अर्को संस्था (नेपाल उद्योग परिसंघ) जन्माएको अवस्था र अहिले पनि फुटका संकेत देखिएको अवस्थामा तत्कालका लागि यसलाई टार्न अध्यक्ष राणा सफल भएको महासंघका भित्रका जानकारहरू बताउँछन्। 

निवर्तमान अध्यक्ष पुशपति मुरारका पनि  विशेष साधारणसभा स्थगित गरी वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रक्रियाको निरन्तरताले महासंघको शाख घटनाबाट जोगाएको बताउँछन्।

‘जीवित र क्रियाशील संस्थामा विधान संशोधनको प्रकियालाई सकारात्मक लिनुपर्छ, तर संशोधन गर्ने पनि प्रकिया हुन्छ’ निवर्तमान अध्यक्ष मुरारका भन्छन्, ‘विधान संशोधन समितिले साधरणभा स्थगति गरेपछि फुटमा जानसक्ने खतराबाट महासंघ मुक्त भएको छ, कार्यसमितिको बैठकबाट पास भएपछि यो अन्योलता टर्नेछ’।

उनले साधरणसभाको मुद्दामा आफ्नो फरक मतले ठाउँ पाएको भन्दै चैतमा हुने साधारणसभा पनि विवादरहित बनाउन आफ्नोतर्फबाट भूमिका निभाउने प्रतिबद्धता जनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.