|

चितवन : चितवनको माडी नगरपालिकामा रहेको धार्मिक तथा ऐतिहासिकस्थल सोमेश्वरगढीका पथ्थरहरूलाई मूर्तिको स्वरूप दिइनेभएको छ। नगरपालिकाले शनिबारदेखि माडीराष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला २०७६ आयोजना गर्दैछ।

१८ दिनसम्म चल्ने सो कार्यसालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याती प्राप्त कलाकारहरूले सोमेश्वरगढी क्षेत्रमा प्रस्तर मूर्ति निर्माण गर्नेछन्। सो क्रममा धार्मिक, सांस्कृतिक, समसामयीक र परम्परागत गरी कम्तीमा ३० वटा मूर्ति निर्माण हुने नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महत्तोले बताइन्।

३० जनाभन्दा बढी कलाकारहरूले १८ दिनसम्म गढी क्षेत्रमै बसेर त्यहाँका विभिन्न ठूला-साना ढुंगा तथा पहाडलाई खोपेर मूर्तिको स्वरूप दिनेछन्। कला क्षेत्रको सम्मान गर्दै आयोजित राष्ट्रियस्तरको कार्यक्रमले गढीलाई कलामार्फत खुल्ला मूर्ति संग्रहालयको रूपमा परिचित गराउनुका साथै भविष्यमा खोज र अनुसन्धानको केन्द्र बन्ने उपप्रमुख महत्तोको भनाइ छ।

पर्यटकीय क्षेत्र सोमेश्वर गढीलाइ सरकारले १०० पर्यटकीय गन्तव्यको सूचिमा सूचिकृत गरेको छ। भ्रमण वर्ष २०२० लक्षित कार्यशालाले पर्यटकलाई माडी भ्रमणको गन्तव्य बनाउन र पर्यटन प्रवर्द्धनमा कोशेढुंगा सावित हुने विश्वास लिएको छ। भारतको सीमानजिकै नेपाली भूभागमा रहेको यस क्षेत्रमा विभिन्न अवसरमा लाखौँ भारतीय तीर्थालुहरू आउनेगर्दछन्।

प्रस्तर मूर्ति कार्यशाला सम्पन्न गराउन १९ सदस्यीय समिति पनि गठन गरिएको छ। कार्यशाला सम्पन्न गराउन करिब २५ लाख खर्च लाग्ने संचारकर्मी एवं समितिका सदस्य गोविन्द न्यौपानेले बताए।

सोमेश्वर गढी क्षेत्रको विकासका लागि नगरपालिकाले गढी जाने नयाँ ३ किलोमिटर सडक पनि निर्माण भइसकेको छ। यस्तै, गोल पार्क, शालीग्राम पार्क, सूचना केन्द्र, आवास, शुद्ध पिउने पानी, शौचालय निर्माणलगायतका कामहरू गरिहरेको छ। गढी क्षेत्रका पथ्थरहरूलाई मूर्तिको स्वरूप दिनका लागि यसअघि माडी नगरपालिकाको तेस्रो नगरसभाले राष्ट्रिय मूर्ति कार्यशाला आयोजना गर्ने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.