सर्वोच्चसम्म मुद्दा चल्यो

|

जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुर बनेपछि जग्गाको मूल्य आकासिएको छ। यस्तो अवस्थामा करोडौंको जग्गा कब्जाको प्रयास हुँदा एक व्यक्ति अन्यायमा परेका छन्। उनी न्यायका लागि भौतारिँदै छन्।

जनकपुरधाम उपमहानगरपालिका ५ का प्रेमबाबु प्रसादको करोडौंको जग्गा नुनिया कुटीले हड्प्ने प्रयास गरेको छ। कुटी पक्षका व्यक्तिहरू बलजस्ती जनकपुरधाम उपमहानगरापालिका ४ मा रहेको १ कट्ठा ११ धुर जग्गा घेर्न खोजेको पीडित प्रेमबाबुले गुनासो पोखेका छन्। उनले जग्गाको सारा प्रमाण आफूसँग हुँदाहुँदै पनि धाकधम्की देखाएर कुटीको नाममा कब्जा गर्न खोज्दा अन्यायमा परेको सुनाए।

पत्रकार सम्मेलन गरी पीडित प्रेमबाबुले अन्यायका लागि पहल गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। उनले जग्गाको कागजात देखाउँदै भने, ‘कुटीका अध्यक्षले गाउँबाट युवालाई ल्याएर पटक पटक जग्गा कब्जाको प्रयास गरेँ। प्रहरीले एक पटक पक्राउ पनि गर्‍यो। तर अबदेखि केही नगर्ने सर्तमा छुटे। अहिले फेरि दादागिरी देखाउँदै घेरेर कब्जा गर्न खोजेका छन्।’

सर्वोच्चसम्म मुद्दा चल्यो

जनकपुरधाम उपमहानगरपालिका ४ स्थित कित्ता नम्बर १२ को क्षेत्रफल ३ कट्ठा १६ धुर जग्गा मध्ये दक्षिण पूर्व २ कट्ठा ५ धुर नुनिया कुटीको नाममा र १ कट्ठा ११ धुर किशोरीदेवी पौडेलको नाममा रहेको छ। तर नुनिया कुटीले सबै जग्गा आफ्नो भन्दै लामो समयसम्म कब्जा गर्‍यो। पछि किशोरीदेवीले २०६१ सालमा जिल्ला अदालत धनुषामा मुद्दा दायर गरिन्।

जिल्ला अदालतले जग्गा नुनिया कुटीको रहेको फैसला सुनायो। पछि किशोरीदेवीले पुनरावेदन अदालत पुगिन्। लामो समयपछि पुनरावेदनले जिल्ला अदालतको फैसला उल्टायो। पुनरावेदनले जग्गा किशोरीदेवीको कायम गर्‍यो। त्यसपछि त्यो मुद्दा सर्वोच्च अदालत पुग्यो।

सर्वोच्चले पनि पुनरावेदन अदालतको फैसलालाई सदर गरिदियो। पुनरावेदन र सर्वोच्चले जग्गा किशोरीदेवीको हुने फैसला गरे पनि नुनिया कुटीले आफ्नो अडान छाडेनन्। हाल जग्गाधनी किशोरीदेवीको निधन भइसकेको छ। निधन अघि नै उनले उक्त जग्गा छोरा सन्तकुमारको नाममा वारिसनामा गरिदिइन्। त्यसपछि सन्तकुमारले २०७५ वैशाख २६ मा प्रेमबाबु प्रसादको हातबाट बिक्री गरे।

प्रेमबाबुले उक्त जग्गा १ करोड १ लाख ११ हजारमा खरिद गरेका छन्। जग्गा खरिद गर्दा बनाएको कागजमा श्रेस्ता काम गरी पुर्जा प्राप्त गर्न ढिलो भएमा भौतिक संरचना बनाई एकलौटी भोग चलन गर्न पाउने उल्लेख गरिएको छ। तर प्रेमबाबुले जग्गामा भोगचलन अझै गर्न पाएका छैन।

भोगचलनका आधारमा दावी

नुनिया कुटीका अध्यक्ष रामकुमार महतोले विगत लामो समयदेखि भोगचलन गरिआएकाले जग्गा आफ्नो भएको दावी गरेका छन्। उनले जिल्ला अदालतले समेत जग्गा कुटीको हुने फैसला गरेको भन्दै जग्गा नछाड्ने बताए। तर उनले पुनरावेदन अदालत र सर्वोच्च अदालतको फैसलाबारे केही बोल्न चाहेनन्। उनले भने, ‘जग्गा सधैं हामीले भोग चलन गर्‍यो। अब किन छाड्ने?’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.