भारतीय कदम नेपालका लागि अस्वीकार्य

|

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले भूमि मिच्दै जाँदा नेपालमा उसविरूद्ध आक्रोश बढ्दै गएको बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा बोल्दै ज्ञवालीले भारतले एकपक्षीयरूपमा जारी गरेको नक्सा नेपालले कुनै हालतमा नस्वीकार्ने अडान राखे ।

'भारतले एकलौटी रुपमा नक्सा जारी गरेको छ। जुन नेपाललाई अस्वीकार्य छ', उनले भने, 'भारतीय प्रधानमन्त्री आइके गुजरालको पालादेखि नै कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै भूभाग हुन् भन्ने कुरा नेपालले राख्दै आएको छ।'

ज्ञवालीले नेपालको तर्फबाट २ देशका प्रधानमन्त्रीस्तरीय हरेक भेटमा उक्त कुरा उठाउँदै आएको पनि प्रष्ट पारे । 'सीमा विवाद संवादबाट हल गर्ने विषय हरेक पटकका संयुक्त वक्तव्यमा राख्दै आएका थियौं', उनले भने, 'पछिल्लो समय सचिवस्तरीय सीमा विवाद समाधान संयन्त्र गठन भएको छ, त्यसले काम गरिरहेको छ। तर भारतले नेपालको भूगोलसमेत समेटेर एकपक्षीय रूपमा नक्सा जारी गरेको छ।'

भारतले उक्त संयन्त्रको प्रतिवेदन पनि नकुरेर नेपाली भूभागलाई आफ्नोमा राख्नु आपत्तिजनक रहेको ज्ञवालीले प्रष्ट पारे। 'नेपालले यसमा विरोध जनाइसकेको छ। उक्त कार्य नेपालका लागि अश्वीकार्य छ', उनले भने, 'भारतले नेपालको भूमि मिचेकोमा नेपालमा आक्रोश पैदा भएको छ।'

भारतीय मिचाहा व्यवहारविरूद्ध सबै दलहरू एकै ठाउँ हुनुपर्ने अडान उनले राखे। 'यो परिस्थितिमा सबै दलहरू एकठाउँमा हुनुपर्छ भनेर यो बैठक बोलाएका हौं', उनले अगाडि थपे, 'हामी एक ठाउँमा हुनुपर्छ। यो समस्या शान्तिपूर्ण वातावरणमा समाधान गर्नुपर्छ।'
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.