हेटौँडामा विमानस्थल र सुरुङमार्ग निर्माणको तयारी

|

काठमाडौं : प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले लक्ष्यअनुसार प्रदेश सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

विभिन्न कानुनी र व्यावहारिक कठिनाइका कारण काम गर्न समस्या भएको उनको भनाइ थियो। ‘यो प्रदेश सरकार भनिन्छ, तर सरकारजस्तो भएन’, प्रदेश ३ को नीति तथा योजना आयोगले शनिबार काठमाडौंमा गरेको छलफल कार्यक्रममा असन्तुष्टि पोख्दै मुख्यमन्त्री पौडेलले भने, ‘संघ र स्थानीय तह बीचको 'ह्याङ्गिङ गभर्मेन्ट' (झुण्डिएको सरकार) जस्तो भो, तीन तहबीच तालमेलै मिलेको छैन।’

कतिपय संविधानप्रदत्त कुरा पनि कार्यान्वयनमा समस्या देखिएको उनको भनाइ छ। 'प्रदेशले बनाएको कानुन संघीय सरकारसँग बाझिएमा स्वतः खारेज हुन्छ भनिएको छ', उनले भने, ‘मैले नबुझेको कुरा बाझिनै नहुने हो भने प्रदेशले किन छुट्टै कानुन बनाउनु?, संघकै कार्यान्वयन गर भने भै गो नि! प्रदेशले बनाउने भनेपछि अलि अलि बाझिन सक्छ त।’

व्यवस्था फेरिए पनि काम गर्ने शैली र प्रवृत्ति उस्तै रहेको भन्दै मुख्य मन्त्री पौडेलले थपे, ‘यतिबेलासम्म रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै थचारिएका छौँ।’

तीन तहका सरकारबीच समन्वयको अभाव हुँदा योजनामा डुप्लिकेशन भएको उनको गुनासो थियो। ‘एउटै योजनामा संघले पनि, प्रदेशले पनि स्थानीय तहले पनि बजेट खन्याएको छ, उपलब्धि चाहिँ केहि देखिँदैन’ उनले भने, ‘२५ हजार, ५० हजारका योजना पनि संघबाट आउने गरेका छन्।’ विभिन्न समस्याका बाबजुद प्रदेश सरकारले गर्न सकिने र दीर्घकालीन योजना अघि बढाउन चाहेको उनको भनाइ थियो।

हेटौंडामा विमानस्थल निर्माणको तयारी

मुख्यमन्त्री पौडेलले प्रदेशको अस्थायी राजधानी हेटौँडामा प्रदेश सरकारले विमानस्थल निर्माण गर्ने र त्यसको तयारी अघि बढिसकेको बताएका छन्।

‘दुई पटक विज्ञको टोलीले अनुसन्धान गरिसकेको छ’, पौडेलले भने, ‘अब प्राविधिक टोलीले ‘एस’ (हुन्छ) भन्यो भने विमानस्थल निर्माणको प्रक्रिया अघि बढ्छ।’

२५ सय मिटर धावनमार्ग बन्नेगरी ४ सय ५२ विगाहा जग्गामा विमानस्थल निर्माणको अध्ययन भइरहेको बताए पनि मुख्यमन्त्री पौडेलले ठाउँ भने खुलाएनन्। उनले प्रदेशभित्र चितवनमा रहेको भरतपुर विमानस्थल विस्तारको काम पनि अघि बढिरहेको जानकारी दिए।

कुलेखानी–भीमफेदी सुरुङमार्ग छिट्टै

मुख्यमन्त्री पौडेलले हेटौँडा-काठमाडौं सडकअन्तर्गत मकवानपुरको कुलेखानीमा सुरुङमार्ग पनि प्रदेश सरकारले बनाउने बताए। कुलेखानी-भीमफेदी साढे ३ किलोमिटर सुरुङ मार्ग निर्माण गरिने उनले जानकारी दिए।

बारा र मकवानपुरको सीमा क्षेत्र चुरियामाइमा १ सय २ वर्षअघि नै ४ सय मिटर सुरुङ बनेको चर्चा गर्दै मुख्य मन्त्री पौडेलले त्यतिबेला अमलेखगञ्जबाट भीमफेदी आउने गाडी त्यहि सुरुङमार्ग भएर आउने स्मरण गरे।

‘नेपाली इन्जिनियरले त्यतिबेला बनाएको सुरुङ अहिले पनि जस्ताको तस्तै छ',  उनले प्रश्न गरे, 'त्यसपछि खोई त नेपालमा सुरुङमार्ग?’

भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माण गरी सडकलाई फराकिलो गर्न सके २ सय २७ किलोमिटर लामो बाटो ५१ किलोमिटरमा झार्न सकिने बताए। अहिले भारतबाट रक्सौल हुँदै भित्रिने सामग्री हेटौँडा, चितवन हुँदै काठमाडौं आउने गरेका छन्। सुरुङमार्ग बनाएर बाटो फराकिलो पार्न सके यहि बाटो प्रयोग गर्न सकिने उनको तर्क छ।

एकीकृत बस्ती पहिलो प्राथमिकता

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको पहिलो प्राथमिकता एकीकृत वस्ती विकास रहेको बताए। एकीकृत बस्तीविना गरिने विकास दिगो हुन नसक्ने उनको तर्क छ।

‘छरिएर रहेका बस्तीलाई एकीकृत गर्न सकिएन भने २/३ वटा घरलाई बाटो पुर्‍याउँदै डाँडा खनेर सखाप हुन्छ, मुख्यमन्त्री पौडेलले भने, त्यसैले एकीकृत बस्ती विकास हाम्रो पहिलो प्राथमिकता हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.