|

डडेल्धुरा : चिकित्सा शिक्षा सुधारका अभियन्ता अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि डडेल्धुराबाट रेफर गर्ने तयारी गरिएको छ। 

स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पतालमा उपचाररत केसीलाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गर्ने तयारी अस्पतालले गरेको हो। उनलाई कैलाली वा काठमाडौं रेफर गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ। 

अनशनको पाँचौं दिन शुक्रबार स्वास्थ्यमा समस्या आएपछि उनलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा अनशन नबस्ने डा. केसीको अडान भए पनि नागरिक समाज डडेल्धुराको दबाबपछि डडेल्धुरा अस्पताल सारिएको थियो। केसीको पिसाबमा क्रियटिनिन बढेको र चिनीको मात्रा घटेको चिकित्सकहरूले बताए।

डा. केसीको शरीरमा पानीको मात्रा घटेको, कमजोर हुँदै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए। स्लाइन नचढाउने उनको अर्को पनि अडान थियो। तर, स्वास्थ्य अवस्था निकै कमजोर बनेपछि उनलाई स्लाइन चढाउन थालिएको छ। 

अस्पतालमा समेत अनशनलाई जारी राखेका केसीलाई डडेल्धुरा अस्पतालबाट रेफर गर्नुपर्ने अवस्था देखिएको चिकित्सकहरुले बताएका छन्। ‘डडेल्धुरा अस्पतालमा अब डा. केसीलाई उपचार गराउनु पर्ने सघन उपचार कक्ष (आईसीयु) र एबिजी छैन, यो सञ्चालन गर्ने डाक्टरहरु पनि छैनन्,’ डा. कँडेलले भने, ‘डडेल्धुरा अस्पतालमा ओपिडी, एक्सरे, भिडियो एक्सरे, समान्य अपरेसनलगायतका सेवा मात्र उपलब्ध छन्।’ 

डा. केसीको उपचारमा निरन्तर विशेषज्ञसहितको चिकित्सक टोली खटिएको छ। उनको रक्तचाप घटबढ भइरहेको अस्पतालका डा. कँडेलले बताए। आकस्मिक कक्षमा रहेका केसीलाई अन्यत्र रेफर गर्ने विषयमा उनका भाइ किशोरसँग छलफल भइरहेको डा. कँडेलले बताए। ‘अब उहाँको यो अस्पतालमा उपचार सम्भव छैन। अबको विकल्प भनेको सुविधासम्पन्न अस्पताल नै हो। त्यसबारे उहाँका भाइ किशोरसँग छलफल गर्ने तयारीमा छौं,’ उनले भने, ‘अबको केही दिनमै उनलाई अन्यत्र सार्नपर्छ होला।’ 

उनको स्वास्थ्य अवस्थाबारे डडेल्धुरा अस्पतालसँग स्वास्थ्य मन्त्रालय र अन्य सम्बन्धित निकायले कुनै प्रतिक्रिया नदिएको तर आफूले स्वास्थ्य मन्त्रालयका सचिवलाई अस्पतालमा भर्ना गरिएकोबारे जानकारी गराएको डा. कँडेलको बताए।

यसअघि इलाममा १६औँ अनशन बस्दा डा. केसीले इलाम छोड्न मानेका थिएनन्। डडेल्धुरा छोड्न पनि उनले सजिलै नमान्ने आँकलन गरिएको छ। 

डडेल्धुरामा सोमबारदेखि अनशन सुरु गरेका डा. केसी सदरमुकामस्थित अस्पतालनजिकैको निर्मल क्लिनिक रहेको घरको तेस्रो तलामा अनशन बसेका थिए। केसीका मागको समर्थनमा डडेल्धुरामा दिनहुँजसो प्रदर्शन भइरहेका छन्।

केसीको समर्थनमा सरकारी सवारी साधनमा रोक

प्रा.डा.गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकलमा रोक लगाइएको हो।

साथै, डडेल्धुरा सदरमुकाम बागबजार क्षेत्रमा दिउँसो १ः३० बजेदेखि २ः३० बजेसम्म पसल बन्द गरिने नागरिक आन्दोलन संघर्ष समिति, डडेल्धुराले जनाएको छ। आइतबार नै मसाल जुलुससमेत आयोजना गरिएको छ।

डडेल्धुरामा पछिल्लो समय अनसनरत डा. केसीको समर्थन तथा जीवन रक्षाका लागि दिनदिनै विभिन्न कार्यक्रमहरू भइरहेका छन्। डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय अगुवाहरुले डा. केसीलाई भेट्दै ऐक्यवद्धता जनाइरहेका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लासँगै काठमाडौंबाट पनि डडेल्धुरा पुगेर डा. केसीले राखेका मागमा ऐक्यवद्धता जनाइरहेका छन्। 

डा. केसीको अनशनको आइतबार सातौं दिन हो। सात बुँदे मागअघि सार्दै अस्पतालमै उनले आफ्नो अनशनलाई जारी राखेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.