मित्रताको मूल्यमा हामी भूमि दिँदैनौं : परराष्ट्रमन्त्री

|

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हिजोको सीमित स्रोत साधनका कारण नेपालको अनुपस्थितिको फाइदा उठाउँदै भारतले कालापानी क्षेत्र हडपेको बताएका छन्। 

सत्तारुढ नेकपानिकट अनेरास्ववियुले भारतले मिचेको कालापानी क्षेत्र फिर्ताका लागि बुझाएको ज्ञापनपत्र लिँदै ज्ञवालीले यस्तो बताएका हुन्। 

‘सीमित साधन, स्रोत र प्रविधिका सीमाहरुको फाइदा उठाउँदै भारतले नेपालको भूमिमा अतिक्रमण गरेको हो’, उनले भने, ‘विगतमा स्रोतको अभावका कारण अनुगमन हुन सकेन। अहिलेको विवाद इतिहासले बिरासतमा बोकाएको समस्या हो।’ 

मन्त्री ज्ञवालीले भारतसँग नेपालको १२ सय किलोमिटर जमिनमा आधारित सीमा रहेको बताउँदै ६ सय किलोमिटर नदीको प्रवाहमा आधारित रहेको पनि उल्लेख गरे।

‘तराईमा नदीहरुले धार परिवर्तन गर्दा समस्या भएको हो। तर पहाडमा नदीको धार हत्तपत्त बदलिँदैन। कालापानीमा भारतले जबरजस्ती समस्या उब्जाएको हो’, उनले भने, ‘अहिले हामीले ‘फिक्स बाउन्ड्री प्रिन्सिपल’मा आधारित भएर सीमा निर्धारण प्रयास गरिरहेका छौँ।’

मन्त्री ज्ञवालीले नेपाली भूमिहरु नवलपरासीको सुस्ता र दार्चुलाको कालापानीमा भएको अतिक्रमण भारले २२ वर्षअघि नै स्वीकारेको तथ्य खुलाए। 

‘कालापानी र सुस्ता विवादमा भारतका प्रधानमन्त्री आईके गुजरालले २२ वर्षअघि नै अतिक्रमण भएको स्वीकार गरेका थिए’, उनले भने, ‘प्रधानमन्त्रीले नै स्वीकारिसकेको विषयलाई अहिले भारतले नक्सामै राख्नु आपत्तिजनक छ, यसलाई नेपालले स्वीकार गर्दैन।’

मन्त्री ज्ञवालीले सीमा समस्या समाधानका लागि सबै पिल्लरहरुमा ग्लोबल पोजिस्निङ सिस्टम (जिपिएस) जडान गर्नेबारे छलफल भइरहेको पनि उल्लेख गरे। ‘अब चाहिँ समस्या समाधान हुन्छ। पिल्लरहरुमा जिपिएस प्रणाली राख्छौँ। त्यसकारण समस्या आउँदैन’, उनले भने, ‘विवाद भइरहेको सीमामा पनि जुन अवस्थामा जसले जसरी उपभोग गरिरहेको त्यसरी मानौँ भनिरहेको अवस्थामा भारतले नक्सामै राखिदियो। यो नेपालका लागि सह्य हुन सक्दैन।’

कालापानी र सुस्ता मात्रै नभइ कञ्चनपुर र कैलालीमा पनि भारतीय सुरक्षाकर्मीले नेपालीलाई धम्की दिएर सीमा मिच्दै आएका ज्ञवालीले बताए। ‘अहिले नक्सामा राखेर भारतले झिकेको विवाद नेपाललाई स्वीकार्य हुँदैन। कालापानीको मूल मुहान पहाडमा यताउता हुँदैन, कुटियाङ्दी नदी नै हो’ ज्ञवालीले भने, ‘नेपालको कमजोरीको फाइदा उठाउँदै भारतले सीमा कुटियाङ्दीबाट यता लिपुलेकमा सार्‍यो, त्यसपछि नक्कली तुरतुरे धारो बनाएर क्याम्प राखेको छ। त्यहाँबाट भारत हट्नै पर्छ।’

गत आइतवार जारी भएको नक्सा विगतका राजनीतिक दलको कमजोरीको उपज भएको ज्ञवालीको भनाइ थियो। ‘विगतमा बृहत् राजनीतिक सहमति थिएन। विगतमा सत्ता टिकाउन दलहरु बोलेका थिएनन्। प्रतिपक्षीले पनि सत्तामा जान बोलेका थिएनन’, उनले भने, ‘अहिले सिंगो राष्ट्र एक भएको छ। सरकार दृढरुपमा कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न चहान्छ।’

नेपालले कुनै पनि छिमेकीको चित्त दुखाएर समस्या समाधान नहुने अडान राखेको उनले बताए। ‘कुनै छिमेकीको चित्त दुखाएर समस्या समाधान हुन्छ भन्ने भारतले पनि नसोचे हुन्छ,’ उलने भने, ‘घाउमा नुनचुक छर्केर मित्रता गर्न सम्भव हुँदैन। सुगौली सन्धिमा हामीले प्रश्न उठाएका छैनौँ। त्यसमा हामीले प्रश्न उठाउन सक्थ्यौँ। वैरभाव बढाउने पक्षमा हामी छैनौँ।’ 

आफूहरुलाई मित्रता प्यारो भए पनि त्यसको विकल्पमा भूमि साट्न नदिने उनले बताए । ‘हामीलाई मित्रता प्यारो छ’, उनले भने, ‘तर मित्रताको मूल्यमा हामी भूमि दिँदैनौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.