'अहिले नटुंगिए कालापानी सदाका लागि गुम्छ'

|

काठमाडौं : पूर्व जलस्रोत सचिव द्वारिकानाथ ढुंगेलले प्रधानमन्त्री केपी शर्मा ओलीले यो पटक हिम्मत नगरे कालापानी क्षेत्र सदाका लागि गुम्ने बताएका छन्। 

राष्ट्रवादी मञ्च नेपालले आइतवार काठमाडौंको माइतीघरमा गरेको विरोध कार्यक्रममा बोल्दै ढुंगेलले अब नेपाल सरकारले दह्रो खुट्टा टेक्ने समय आएको बताए। 

‘कालापानीमा भारतले भाडामा बसेको मानिसको जस्तै व्यवहार देखाएको छ। कोठा लिएर बसेकाले सबै घर नै खाइदिएको अवस्था जस्तै भएको छ कालापानीमा’, उनले भने, ‘यो बेला प्रधानमन्त्री केपी ओलीले दह्रो खुट्टा टेक्नुपर्छ। महाकाली सन्धिको अनुमोदनका क्रममा पनि यो कुरा उठेको हो। त्यो विषय उठाउने व्यक्ति नै प्रधानमन्त्री हुनुहुन्छ। त्यसैले उहाँले दह्रो खुट्टा टेक्नुपर्छ।’

महाकाली सन्धि अनुमोदन गर्नुअघि केपी ओलीले नै प्रश्न उठाएकाले लिम्पियाधुरासम्मको नेपाली भूभाग खोज्ने जिम्मा पनि अब ओलीकै काँधमा आएको पनि उनले जानकारी दिए। 

‘त्यो बेला केपी ओलीले नै यो मुद्दा उठाएका हुन्। अहिले उनै प्रम छन् अब उनीमाथि चुनौती छ’ ढुंगेलले भने, ‘परराष्ट्र सचिवस्तरीय तहमा टुंग्याउने भन्दा भन्दै भारतले पेलेर एकलौटी नक्सा निकाल्यो। भारतले हामीमाथि हेपेको बाहेक केही होइन। यो मुद्दा लामो अवधिसम्म रहनु हुँदैन। अब केपी ओलीले दह्रो खुट्टा टेक्नुपर्छ।’

ओलीलाई सबैले साथ दिएका बताउँदै ढुंगेलले प्रधानमन्त्रीले दह्रोसँग खुट्टा टेके सदाका लागि हिरो हुन सक्ने उल्लेख गरे। ‘प्रमले भारतीय प्रमलाई कालापानी र लिपुलेक हाम्रो हो भन्नुपर्छ। नेपालले भारतलाई त्यहाँबाट पछि हट् भनेर चिठ्ठी दिनुपर्छ’, उनले भने, ‘बालुवाटार बैठक पछि पनि सरकार बलियो नभएको जस्तो देखियो। प्रमले अडान लिनुहोस। मोदीलाई भन्नुहोस कालापानीबाट पछि हट्नुहोस्, लिपुलेक हाम्रो क्षेत्र हो।’

विश्वशक्ति हुन खोज्ने भारतले छिमेकीलाई बिच्काइरहेर अघि बढ्न नसक्ने उनको भनाइ थियो। ‘छिमेकीसँग झगडा गरेर ऊ कसरी हुन्छ विश्वशक्ति। अहिले पनि यो विषय टुंगो लागेन भने कालापानी सदाका लागि गुम्छ’, उनले थपे, ‘प्रधानमन्त्रीले यसमा हिम्मत गरेमा सदाका लागि हिरो हुन्छन्। राजनीतिक दलहरुले पनि यसमा अनावाश्यक राजनीति नगरुन्। एक वर्षभित्रमा यसमा टुंग्याउन सकेनौँ भने अन्तर्राष्ट्रयकरण गर्न पनि सोच्नुपर्छ।’ 

भिडियो :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.