|
फाइल तस्विर

डडेल्धुरा : चिकित्सा शिक्षा सुधारका अभियान्ता अनशनत प्राडा. गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि थप उपचारका लागि स्थानान्तरण गर्न डडेल्धुरा अस्पतालले आग्रह गरेको छ। आइतबार बेलुकी एक प्रेस विज्ञप्ति जारी गर्दै केसीलाई स्थानान्तरण गर्न आग्रह गरेको हो।

अस्पतालले केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको समेत जनाएको छ। विगत सात दिनदेखि डडेल्धुरामा डा. केसी अनशन बसिरहेका छन्।

निजी घरबाट डडेल्धुरा अस्पताल सारिएका डा. केसीको ब्लड प्रेसर घट्न लागेको, मुटुको चालमा वृद्धि भई समस्या देखिएको, रगतमा अक्सिजनको मात्रा घटेको, मिर्गौलामा समस्या देखिएको अस्पतालले जनाएको छ।

शारीरिक अवस्था बिग्रिदै गएको जनाउँदै अस्पतालले भौतिक सुविधा नभएको जनाउँदै स्थानान्तरण गर्न आवश्यक भएको जनाएको छ।

‘अस्पतालमा थप उपचारका लागि आवश्यक पर्ने आइसियू सेवा, एबिजी सेवा, दक्ष जनशक्ति उपलब्ध नभएकाले केसीको स्वास्थ्य स्थितिको गाम्भीर्यतालाई मध्यनजर गरि सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको  छ’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

केसीको स्वास्थ्य जटिल बन्दै गएकाले अस्पतालले क्षमताभन्दा बाहिर गएको परिस्थितिलाई व्यवस्थापन गर्न नसक्ने स्पष्ट पारेको छ।

‘उहाँको स्वास्थ अवस्था चिकित्सकीय हैसियतले अस्पतालको क्षमताभन्दा बाहिर गएको बखत डडेल्धुरा अस्पतालबाट कुनै पनि किसिमको जटिलता व्यवस्थापन गर्न नसक्ने जानकारी गरिन्छ,’ अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.