|

काठमाडौं : भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा राखेर नेपालको भूमि अतिक्रमण गरेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले काठमाडौंस्थित भारतीय दूतावास घेराउको प्रयास गरेका छन्।

लैनचौरमा रहेको दूतावास घेराउ गर्न आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय धुम्बराहीबाट लैनचौर हिँडेका राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ। संगठनका अध्यक्ष प्रकाश रिमालले प्रहरीले गरेको हस्तक्षेपको विरोध गरेका छन्।

रिमालेले भनेका छन्, ‘सीमा रक्षाको माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आज राजधानीमा विरोध प्रदर्शन गरेको छ। धुम्बाराहीबाट साँझ राष्ट्रिय भावनाका नारा सहित निस्केको जुलुसमाथि गैह्रीधारा पुगेपछि प्रशासनको व्यापक दमन र हस्तक्षेप भएको छ। भारतीय नक्सामा नेपाली भूभाग समावेश गरिएको विरोधमा निस्केको शान्तिपूर्ण प्रदर्शनमा प्रशासनिक हस्तक्षेप दूर्भाग्यपूर्ण र निन्दनीय छ।‘

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पार्टीका नेता कार्यकर्तामाथि भएको प्रहरी हस्तक्षेपको विरोध गरेका छन्। उनले सीमा अतिक्रमणको विरोध गर्दा प्रशासनले हस्तक्षेप गरेकोमा आपत्ति जनाएका छन्।

संगठनका अध्यक्ष रिमाले प्रहरीले दुई दर्जन नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन्। उनका अनुसार प्रदर्शनको क्रममा रमानन्द न्यौपाने, मणि सिम्खडा, सन्तोषी शाही ठकुरी, शशी भण्डारी, छत्र खडायत, निराजन बम, कर्णबहादुर माझी, उपेन्द्रविक्रम पुरुष, चेतराज सिंह, राजन अधिकारी, प्रदीप खड्का, नरेश विक, निशान कार्की, मुकेश पदारा, राजेन्द्र विक, केशवराज मजगाई, देउराम भेल, कृष्ण थापा, दमन विकसहितका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूलाई तत्काल रिहा गर्न रिमालले माग गरेका छन्।

राप्रपाले पनि लिपुलेक,कालापानी र लिम्पियाधुरा भारतको नक्सामा पारिएकोमा विरोध गर्दै अतिक्रमित भूमि फिर्ता हुनुपर्ने माग गर्दै आएको छ।

सम्बन्धित समाचार :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.