ओलीलाई राजपाको साथ छ, कूटनीतिक पहल चाहियो

|

काठमाडौं : राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले लिपुलेक र कालापानी नेपालकै भू-भाग भएकोले फिर्ता गर्न सरकारले पहलकदमी लिनुपर्ने बताएका छन्।।

आइतवार रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले भने, ‘नेपालको इतिहासमा हिजो बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा राष्ट्रिय सहमति बनेको छ। अहिले मुलुकमा बलियो सरकार छ। सरकारलाई हिजोको सहमतिले ठूलो शक्ति प्रदान गरेको छ।’ 

७० वर्ष लामो समयदेखि सीमा विवादको समस्या रहेको सुनाउँदै अब वार्ता तथा कूटनीतिक माध्यमबाट यसको दिर्घकालिन रुपमा हल गरिनुपर्ने यादवको सुझाव छ।

नेपालबाट विभिन्न समयमा भारत भ्रमण भएको सुनाउँदै तीन भ्रमणमा पनि सीमा विवाद समाधान हुन नसकेको उनले टिप्पणी गरे। परराष्ट्रसचिवको नेतृत्वमा बनेको दुई कमिटीले पनि विवाद समाधान गर्न नसकेको बताउँदै अब सरकारले यसको लागि ठोस कदम चाल्नुपर्ने उनको भनाई थियो। 

उनले प्राविधिक टोली, राजनीतिक र कुटनीतिक तीनै च्यानलमार्फत विवाद समाधानको लागि सरकारले पहल गर्नुपर्ने सुझाव दिए। ‘नेपालको एक इन्चपनि भूमी हामी छोड्दैनौं’, यादवले भने, ‘देशको भूमि रक्षाका लागि हामी एक ठाउँमा उभिएका छौं। यो सरकारले गम्भीरताका साथ आफ्नो कदम चाल्नुपर्छ।’

पूर्वमन्त्रीसमेत रहेका यादवले अहिले विवाद समाधानका लागि राम्रो वातावरण बनेको पनि सुनाए। उनले भने, ‘यो सरकारलाई अवसर र चुनौती दुवै छ। यत्रो सहमति र समर्थन हुँदाहुँदै पनि सरकारले केही गर्न सकेन भनेर कुरा हुन्छ। राजपाले पनि समर्थन जनाएको छ।’

यादवले सडक संघर्ष वा आन्दोलनबाट सीमा विवादको समस्या हल नहुने जिकिर गरे। उनले भने, ‘आन्दोलन वा संघर्षले राम्रो वातावरण बनाउँदैन्। नेपाल-भारत सम्बन्ध राम्रो बनाउनुपर्छ। यो सरकारको काँधमा ठूलो जिम्मेवारी रहेको छ। आन्दोलनले प्रतिकूलता सिर्जना गर्छ। बरु, वार्ताबाट समाधान गर्नुपर्छ।’ नेपालसँग नक्सा र ऐतिहासिक तथ्य तथा प्रमाण रहेकाले सम्पूर्ण भूभाग फिर्ता गर्नुपर्ने उनको भनाई छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.