|

-आङ्बुहाङ अबोध अविरल

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १९४२ कात्तिक २५ गते इलामको पश्चिमी क्षेत्रमा अवस्थित इभाङ चुक्चिनाम्बामा जन्मिएका हुन्। उनी समान्य किसान परिवारमा जन्मिएका थिए। बाल्यकाल गरिबी, अभाव र मातृ वियोगमा बित्यो। 

उनको युवावस्था ब्रिटिस गोर्खा सेनामा बित्यो। र, जीवनको उतराद्र्ध समाजमा आध्यात्मिक विकास, मानव सेवा, समाज सुधार र शिक्षामा बिताए। उन गरेको यही कार्यको मूल्यांकन गर्दै सरकारले राष्ट्रिय विभूतिका रुपमा विभूषित गर्‍यो।

महागुरु फाल्गुनन्दले जीवन दर्शन र सिद्धान्तका कुनै ठूला पुस्तक लेखेनन्। तर, उनको कार्य, दिएको सिवा खाहुन् (उपेदश) र जीवन पद्धतिको अध्ययन गर्दा जीवन दर्शनहरु भेटिन्छन्। जसले आज लाखौं मानिसको जीवनलाई मार्गनिर्देश गरिरहेको छ। फाल्गुनन्द दर्शनलाई मुख्य निम्न बुँदाहरुमा उल्लेख गर्न सकिन्छ।

१. शान्ति 

शान्ति र अहिंसा महागुरु फाल्गुनन्दका मुख्य दर्शन हो। वि.सं. १९६४ मा ब्रिटिस गोर्खा सेनामा भर्ना भएका उनले १२ वर्ष फौजी जीवन बिताए। महागुरु फाल्गुनन्द पहिलो विश्वयुद्धमा सामेल भए। 

पल्टनमा रहँदा फाल्गुनन्द ‘ध्यानी हवल्दार’को रुपमा परिचित थिए। युद्धका एकदिन आफ्ना सिपाहीहरुलाई भने, ‘हेर! दुश्मन भनिनेहरु पनि हामीजस्तै मानिस हुन्। तर, हामीले सरकारको नुनपानी खाएको छौं, नुनको सोझो गर्नुपर्छ। गोली कि अकाशतिर कि भुँइतिर हान्नु।’ उनी युद्धमा सामेल भए पनि समस्याको शान्तिपूर्ण सामाधानका पक्षमा थिए।

पहिलो विश्वयुद्ध त्यसबेलासम्मको सबैभन्दा ठूलो युद्ध थियो। महागुरु फाल्गुनन्द युद्धले पैदा गरेको हिंसा, नरसंहार, रक्तपात, विध्वंस र वियोगको साक्षी भए। त्यसैले वि.सं. १९७६ मा पल्टनबाट फर्किएपछि उनले शान्ति र अहिंसाका पक्षमा वकालत गरे । नेपाल, भारत, भुटान र बर्मा पुगेर विश्व शान्ति र अहिंसाको सन्देश छरे।

महागुरु फाल्गुननन्दको उपदेश छ- लायो निङवारे आमेक्लो अर्थात् आपराधिक सोंचले नाश भइन्छ। द्वन्द्वको हिंसात्मक प्रस्फुटन युद्ध हो। मानिसको मनमा उत्पन्न बिकारबाट युद्धको विजारोपण हुन्छ भन्ने उक्त उपदेशले बताएको छ। समाजमा द्वन्द्व, मारकाट, झैं झगडाको कारक तत्वको खोजी गरे। अधिक मदमदिराको सेवन, अशिक्षा र राज्यद्वारा अधिकारको असमान वितरण द्वन्द्वका कारणको रुपमा पाए। शान्ति मानिसको आत्मिक शुद्धीकरणबाट हुने महागुरु फाल्गुनन्दको धारणा थियो।

२. अहिंसा

‘अरुलाई मार्न वा मन दुखाउनुका निम्ति गरिने हिंस्रक व्यवहार’ हिंसा हो। हिंसा शारीरिक र मानसिक दुवै रुपमा गरिन्छ। समाजमा घरेलु, सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिकलगायतका हिंसा हुने गर्दछन्। यसका साथै समाजमा पशु हिंसा पनि गरिन्छ। 

महागुरु फाल्गुनन्दको पहलमा वि.सं. १९९८ मा पाँचथरको लब्रेमा पारित गरेको सत्यधर्म मुचुल्कामा बलिपूजा नगर्ने उल्लेख छ। मानिसले हजारौं वर्षदेखि मानव केन्द्रित संकथन (डिस्कोर्स) निर्माण गर्दै आएको छ। मानिसले आफूलाई सर्वश्रेष्ठ प्राणीको रुपमा व्याख्या गर्ने गर्दछ। अन्य प्राणीहरुलाई तल्लो दर्जाका, पशु, आत्मा र विवेक नभएको प्राणीको रुपमा व्याख्य गर्दछ। धर्म दर्शन र विज्ञानले समेत मानिस र पशुबीचमा ‘हाइरार्की’ निर्माण गरेको छ। पशु तल्लो दर्जाको प्राणी भएकाले मार्न, खान र बलि दिन हुन्छ भन्ने मान्यता हजारौं वर्षदेखि चल्दै आएको छ। 

तर, फाल्गुनन्दले पशु बलिलाई जीव हिंसाका रुपमा व्याख्या गर्दै समाजले निर्माण गरेको हाइरार्की भत्काएका छन्। उनका अनुसार मानिस र पशु सबै माङ (ईश्वर)का सन्तान हुन्। आफ्नै सन्तानलाई मारेर चढाउँदा माङ बेखुशी हुने उनको तर्क छ। 

सामाजिक, सांस्कृतिक विभेद र शोषण पनि हिंसा कै रुपमा लिइन्छ। समाजमा महिलालाई दोस्रो दर्जाका बनाउन पुरुषले विभिन्न धर्मिक—सांस्कृतिक रीति, थिति र कानुन निर्माण गरेको छ। पुरुष प्रधान समाजले धार्मिक मान्यता र सांस्कृतिक थितिका माध्यमबाट महिलालाई हजारौं वर्षदेखि विभेद र शोषण गर्दै आएको छ। समाजका यस्ता हिंसा अन्त्यका निम्ति ‘सत्यधर्म मुचुल्का’मा छोरीचेलीको सोतरीत नखाने उल्लेख गरिएको छ। यसले महिलालाई विभेद गर्न बनाइएको सबै सांस्कृतिक माखेसाङलो तोड्नुपर्ने सन्देश दिएको छ। 

३. समानता 

फाल्गुनन्दले सत्यधर्म मुचुल्काको माध्यमबाट मानवता र समानतालाई अघि बढाएका छन्। मुचुल्काले समाजमा लिङ्गीय, जातीय र भाषिक विभेद अन्त्यको परिकल्पना गरेको छ। मुचुल्काको पहिलो बुँदामा ‘छोरी चेलीको सोतरित लिन बन्द गर्ने’ उल्लेख छ।

संसारका अधिकांश मानव समुदाय पुरुष प्रधान छन्। महिलालाई कमजोर र दोस्रो दर्जाको नानगरिकका रुपमा राख्न कानुन, संस्कृति र परम्पराहरु निर्माण गरेका छन्। छोरीले विवाहपछि श्रीमानको थर, धर्म लिन गरिन्छ। छोरालाई जग्गा-जमिनको मालिक, जात, थर र वंशको उत्तराधिकारी मानिन्छ। तर, छोरीको विवाहमा सोतरितका नाममा ‘सुन, चाँदी, नगद, मदिरा, तथा मासुका कोसेली लिनुलाई नारीको बिक्री’को रुपमा मुचुल्काले व्याख्या गरेको छ। छोरा र छोरीलाई शिक्षा र समान हक हुनुपर्ने पनि जोड छ। 

भाषिक-सांस्कृतिक विभेद र शोषण मानवता विरोधी कार्य भएको उनको ठम्याई छ। मानिसले धर्म, जाति, लिङ्ग र वर्गका आधारमा शिर निहुर्‍याएर बस्नुपर्ने अवस्थाबाट सामाजलाई माथि ल्याउनु पर्छ भन्ने उनको जोड छ। मातृभाषामा शिक्षा दिने विद्यालय खोल्ने उल्लेख छ। 

४. मानवता 

फाल्गुनन्दले जीवनको पछिल्लो ३० वर्षको अधिकांश समय बिरामी तथा दुःखीहरुको सेवामा बिताए। दुःखीहरुको सेवा गर्नु उनको मानवताप्रतिको श्रद्धा थियो। धामी, झाँक्री, योबा, फेदाङमा, साम्बा र अस्पतालले निको पार्न नसकेका अनेकौं बिरामीहरुलाई फाल्गुनन्दले निको पारेर घटनाबारे थुप्रै पुस्तक, लेख र किंवदन्ती पढ्न र सुन्न पाइन्छ। 

नेपाल, भारत, भुटान र बर्माका विभिन्न स्थानमा पुगेर बिरामी तथा दुःखीहरुका निम्ति माङसेवा तथा मुन्धुमी औषधि विज्ञानका माध्यमबाट उपचार गरे। वि.सं. २००१ मा काठमाडौंका जनरल विक्रम शमशेर जबरालाई र उनकी श्रीमतीलाई उपकार गर्न महागुरु फाल्गुनन्दलाई दरबारमा बोलाइएको उनको जीवनीमा उल्लेख छ। उनलाई जनरले ‘उपकार बापत ५०० रुपैयाँ भेटी राखी बिदा दिन खोज्दा आफूले उपकार बापत कहिल्यै शुल्क लिने नगरेको’ बताए। फाल्गुनन्दको अन्तिम श्वाससम्म पनि मानिसहरुको सेवामा तल्लीन भएकाले इच्छित मृत्युवरण गर्न पाएनन्।

५. एकता 

फाल्गुनन्दले ‘थिक पोङमारे तोवाबेओ नाम लिङ’ अर्थात् ‘एकताले भाग्योदय हुने’ बताएका छन्। उनलाई विभाजन र क्षुद्र स्वार्थका कारण ठूला मुलुकहरु युद्धमा फस्दा भएको प्रथम विश्वयुद्धले विधंश र विनाश निम्त्याएको थाहा थियो। आफ्नै किरात समाजमा भएको अपुङ्गी चरित्रले गुमेको भूमि र अधिकारबारे पनि जानकार थिए। यही भोगाइबाट नै उक्त कुरा बताएका थिए।

विश्व शान्ति र मानव एकताका निम्ति माङसेवा गर्नु फाल्गुनन्दको नित्य कर्म थियो। सबै मानिस समान हुन् भन्ने भावना विकास भए मानव एकता हुने उनले दिएका उपदेशहरुमा पाइन्छ। 

६. शिक्षा 

महागुरु फाल्गुनन्दको पहलमा वि.सं. १९८८ बैशाख २४ गते शुरु भएको लिम्बुवान क्षेत्रका प्रशासनिक प्रमुख सुभा, तुम्याहाङ र सर्वसाधरणको भेलाले सात बुँदे सत्यधर्म मुचुल्का निर्माण गर्‍यो। मुचुल्कामा युमा माङहिम (ईश्वरको पूजाआराधना गर्ने ठाउँ) स्थापना गर्ने तथा मातृभाषामा शिक्षा दिन विद्यालय स्थापना गर्ने उल्लेख छ। त्यसबेला विद्यालयहरु खोल्न सहज थिएन। माङहिमहरुमा अनौपचारिक रुपमा मुन्धुम र किरात लिपिमा शिक्षा लिने व्यवस्था गरे। जसबाट हजारौं साक्षर भए।

फाल्गुनन्दले नेपालमा मातृभाषाको विषय उठान गरेको समय आम नागरिकका निम्ति शिक्षा लिने व्यवस्था थिएन। राणा शासकहरुले अंग्रेजी र संस्कृत भाषामा शिक्षालाई जोड दिइरहेका थिए। हाल ‘मातृभाषामा शिक्षा’का मुद्दा शिक्षा क्षेत्रको जल्दोबल्दो विषय हो। मातृभाषामा शिक्षा दिँदा सिकाइ उपलब्धि राम्रो हुने निष्कर्ष संसारभरका शिक्षाविदहरुले निकालेका छन्। ‘नेपालको संविधान’ धारा ३१ ले मातृभाषामा शिक्षालाई मौलिक हकको रुपमा स्थापित गरेको छ। यसले महागुरु फाल्गुनन्दको शिक्षासम्बन्धी दुरदृष्टिलाई स्पष्ट पार्छ।

७. प्रकृति पूजा

प्रकृतिसँग विवेकपूर्ण अन्तरक्रियाले मात्र मानव अस्तित्व सम्भव भएको महागुरु फाल्गुनन्दको धारणा छ। उनले हिमाल, डाँडा, खोला, जंगल, ओडार र मैदानहरुमा पूजाआजा गर्थे। हिमाल, डाँडाकाँडा र खोलानालालाई माङको पवित्र स्थानको रुपमा लिन्थे । 

किरात साम्जिक मुन्धुममा उनले विभिन्न पवित्र हिमालहरु ‘फक्ताङलुङ’(कुम्भकर्ण), ‘सेसेलुङ’ (कञ्चनजंगा), डाँडाकाडा ‘मुक्कुमलुङ’ (पाथीभरा), ‘सिरिङचोक’, ‘यासक’, खोलानाला ‘इम्बिरी’ (तमोर), ‘काङवामा’ (काबेली) लगायत उल्लेख गरिएको छ। प्रकृतिका सबै तत्वहरुलाई माङको अंशका रुपमा सम्बोधन गर्ने गर्थे। यसले खोलानाला, हावा पानी, हिमाल, पहाड र समथर भूमिलाई सफा सुग्घर र संरक्षण गर्नुपर्नेमा फाल्गुनन्दको जोड रहेको स्पष्ट पार्छ। 

महागुरु फाल्गुनन्दले खानेपानीको स्रोत नभएको विभिन्न स्थानमा पानी उमारे। कुवाहरु खने। उनले उमारेको पानी आजसम्म पनि प्रयोग भइरहेको छ। निपानी जग्गामा पानीको मुहान फुटाउनुमा उनमा भूमिगत पानीका स्रोतबारे विशेष ‘आत्मपहिचान’ थियो। रुख नकाट्ने भनेर स्थानीलाई मुचुल्का गराए। 

८. शकाहारी जीवन पद्धति

जाँडरक्सी र मासुमंस सेवन जीवनको दैनिकी र संस्कृतिको रुपमा अनुशरण गरेको लिम्बु समुदायमा जन्मिएका फाल्गुनन्दले यस्तो जीवन पद्धतिका थुप्रै नकारात्मक असर देखेका थिए। त्यसैले उनले शाकाहारी जीवन पद्धति अँगाले। शाकाहारी जीवन पद्धति धारण गर्नु महागुरु फाल्गुनन्दको जीवनको एक महत्त्वपूर्ण पाटो हो।  

बलि पूजा गर्ने, विवाहमा सोतरित लिनेदिने र अन्त्येष्टि कर्ममा पनि सुँगुर, कुखुरा, बाख्रा, राँगा मार्ने चलन थियो। त्यसका निम्ति लिम्बूहरुले किपट भूमि बिक्री गर्दै पैतृक भूमि सक्दै थिए। अर्कोतर्फ जाँडरक्सी र मासुमंसको सेवन स्वाथ्यका निम्ति हानिकारक थिए।

सत्यधर्म मुचुल्कामा शाकाहारी जीवन पद्धतिमा जोड दिने उल्लेख छ। मासु खानको निम्ति अर्को प्राणीलाई मार्नु पर्ने भएकाले अर्काको ज्यान मार्ने काम अपराध हुने उनको बुझाइ छ। 

९. आध्यात्मिकता

आध्यात्मिक चिन्तन महागुरु फाल्गुनन्दको जीवनको एक महत्त्वपूर्ण पाटो हो। उनी आजीवन आध्यात्मिक चिन्तनमा तल्लीन भए। मानिसमा माङप्रतिको आस्था, अनुशासन, उच्च नैतिकता, दया, माया र प्रेमभाव विकास गर्न उनी लागिपरे। आध्यात्मिकता आत्म र अदृश्य माङ शक्तिप्रतिको विश्वाश हो। आध्यात्मिकताले नैतिकता, दया, माया, प्रेम, स्नेह र मानवता विकासमा सहयोग गर्दछ।

महागुरु फाल्गुनन्दको जीवन कालमा पश्चिमा मुलुकहरुले तीव्र भौतिक विकास गरिरहेका थिए। जसको परिणाम स्वरुप मानव समुदायले थुप्रै भौतिक सुविधाहरु भोग गर्न पाए। इमेल, इन्टरनेट, मोबाइल, कम्प्युटर, गाडी, जहाजआदि यसका उपज हुन्। भौतिक सामग्रीले मानिसलाई सुविधा दियो तर आत्माशान्ति दिन सकिरहेको छैन। भौतिकवादले मानिसहरुलाई यान्त्रिकरण गरिदियो। जसले मानवता र नैतिकता सांसरबाट हराउँदै गएको छ। कतिपय साहित्यकारहरु आज पश्चिमा मुलुकहरुमा आध्यात्मिकताको खडेरी आएकोमा गहिरो चिन्ता व्यक्त गर्दछन्। विश्व स्वास्थ्य संगठनले पूर्ण रुपमा स्वास्थ्य रहन मानिसमा शारीरिक, मानसिक, सामाजिक स्वास्थ्य हुनका साथै आत्यात्मिकताको विकास हुन पर्ने बताएको छ।

१०. लोकतन्त्र

लोकतन्त्रप्रति महागुरुको विशेष आस्था रहेको थियो। उनले शिक्षा, संस्कार, संस्कृति, धर्म र मुन्धुमका विषयमा एउटा ठूलो चुम्लुङ (सभा) गरे। राणा शासनकालमा चुम्लुङ गरेर ‘सत्यधर्म मुचुल्का’ निर्माण गरेर लोकतान्त्रिक अभ्यास गरे।

महागुरुले चेलाहरुलाई ‘हाङले चिहोत्, चिहोत् केमेत्तीबेन् आनिङवाबेले मेखोप्तुन्’ अर्थात् राजाले गरेको शोषण, दमन मैले सहन सकेको छैन भनेका थिए। 

अन्त्यमा

महागुरु फाल्गुनन्दलाई हेर्ने, चिन्ने, बुझ्ने र व्याख्या गर्ने अनेक दृष्टिकोण विकास भएका छन्। महागुरुले दर्शनबारे छुट्टै पुस्तक लेखेनन्। उनले दर्शनलाई प्रवचन र पुस्तकमा होइन, व्यवहारमा देखाए। उनको भोगाइ र सोंचाइबारे उनका चेलाभूलाले सुनाइएका अनेक विवरणबाट हामी उनको जीवन दर्शन के हो भन्ने एउटा निश्कर्षमा पुग्न सक्छौं। उनका दर्शन कुनै जाति वा सम्प्रदाय विशेष नभएर सिङ्गो मानव समुदायका लागि उपयोगी छन्।      

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनलाई हेर्ने, चिन्ने, बुझ्ने र व्याख्या गर्ने अनेक दृष्टिकोण विकास भएका छन्। महागुरुले दर्शनबारे छुट्टै पुस्तक लेखेनन्। उनले दर्शनलाई प्रवचन र पुस्तकमा होइन, व्यवहारमा देखाए। उनका दर्शन कुनै जाति वा सम्प्रदाय विशेष नभएर सिंगो मानव समुदायका लागि उपयोगी छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.