|

सिन्धुपाल्चोक :  भोटसिपामा अत्याधुनिक सुचना प्रविधिसहितको सामुदायिक पुस्तकालय संचालनमा आएको छ। रिड नेपाल र स्थानीयवासीको संयुक्त प्रयासमा झण्डै एक करोड रुपैयाँ लागतमा निर्मित इन्द्रावति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा महिला कक्ष, बाल कक्ष, सुचना प्रविधि कक्ष, पुस्तकालय कक्ष, श्रव्यदृश्य कक्ष, तालिम घर युवा कक्ष लगायत विभिन्‍न दर्जन बढी विधा समावेश गरिएको छ।

१० आना क्षेत्रफलमा निर्मित पुस्तकालय तथा स्रोत केन्द्रको १३ कोठे भवनको नेकपा माओवादी केन्द्रका नेता अग्‍नि सापकोटाले उद्घाटन गरे। उद्‍घाटन समारोहमा नेता सापकोटाले विभिन्‍न प्राकृतिक विपत्तिको चपेटामा परेर पनि स्थानीयमा जीवन संघर्षका लागि उत्तिकै साहस र हिम्मत रहेको बताए। उनले शिक्षाले नै चेतनाको विकास गर्ने र चेतना विकास भएमात्रै सम्मुन्‍नत विकास हुने बताए।

पुस्तकालय तथा स्रोत केन्द्रका सल्लाहाकार तथा प्रेस काउन्सिल नेपालका सदस्य सुदर्शन आचार्यले शैक्षिक क्षेत्रको उन्नतिका लागि सबै जिल्लामा सुचना प्रविधि युक्त पुस्तकालय तथा स्रोत केन्द्र स्थापना गर्नुपर्ने बताए। उनले पुस्तकालय निर्माणको कामलाई अभियानका रुपमा गाँउ-गाँउमा लैजान सरकारसँग माग गरे।

कार्यक्रममा पुस्तकालयका अध्यक्ष राजेन्द्र आचार्यले नि:शुल्क इन्टरनेट सेवा सहितको पुस्तकालय तथा स्रोत केन्द्रबाट कम्तिमा १० हजार स्थानीय प्रत्यक्ष लाभान्वित हुने अपेक्षा लिइएको बताए। दिर्घकालिन स्थायीत्वका लागि पुस्तकालको सात वटा सटर भाडामा दिइएको छ । रिड नेपालबाट ६७ लाख, निर्मला पराजुली साहित्य कोषबाट २ लाख, जापानमा बस्ने नेपालीहरुबाट एक लाख १५ हजार  लगायत विभिन्न संघ सस्थाको आर्थिक सहयोगमा पुस्तकालय निर्माण गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.