|

  • भविश्वर पाण्डे-

कावासोती : नवलपरासी जिल्लाको पहाडी गाविस जैवारी ५ राईकोका लालबहादुर सारुलाई यतिबेला तरुल बेच्न भ्याई नभ्याई भएको छ। उत्पादन भएको तरुललाई बजारसम्म ल्याउने र बिक्री गर्ने काममा हिजोआज उनी निकै व्यस्त छन्।

माघ महिनामा माटोमुनि फलेको खानुपर्ने मान्यता रहेकोले यस क्षेत्रमा तरुल र शखरखण्डको बिक्री बढेको छ। नवलपरासीको पहाडी र भित्री तराई क्षेत्रमा यो समय तरुल र शखरखण्ड उत्पादनको सिजन हो। जैवारी बाहेक अन्य गाविसका किसानहरुपनि तरुल र शखरखण्डको किनबेचका लागि जिल्लाको कावासोती,  दलदले लगायत पोखरा र काडमाडैको बजारमा जाने गरेका छन्।

सारुका लागि पुस र माघ महिना वर्षेनी तरुल बेचेरै वित्छ। पराम्परा अनुसार माघे सक्रान्तिको दिन माटोमुनि फलेको फलखाने प्रचलन रहेको छ। माघ लागेसँगै जाडो सकिएको भन्दै तरुल खाने प्रचलन भएकाले पनि यो सिजनमा तरुलको व्यापार बढी हुने गरेको जैवारीका अर्का किसान पिताम्बर सारुले बताएका छन्।

केही बर्षपहिले मैनाघाटका किसान खेमबहादुर वाकवलले आफूले उत्पादन गरेको शखरखण्ड गाउँमा नै धान, मकैमा साटफेर गर्ने गर्थे। घर वरपरको खाली जग्गामा नै सजिलै उत्पादन हुने भएकाले वाकवलले शखरखण्ड मात्र होइन तरुल खेती पनि गरेका छन्। उनले उत्पादन गरेको शखरखण्ड र तरुल बेच्च बजारसम्म पनि जानु पर्दैन। व्यापारीहरु घरमै लिन आउँछन्। पुस अन्तिम सातासम्म शखरखण्ड र तरुल गरी उनले ५ टन बिक्री गरिसकेका छन्। त्यसबाट वाकवलले करिब ७० हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिए।

‘पुसमा पाक्ये, माघमा जाक्ये’ भन्ने पुरानो उक्ति रहेको छ। त्यसैले पुसको अन्तिम दिन उसिनेर भोलीपल्ट माघ १ गतेका दिन माटो मुनि फलेको तरुल, शखरखण्ड लगायतका फल खाने प्रचलन रहेको छ। त्यसैले किसानहरुले पनि माघेसक्रान्तिकै अवसर पारेर तरुल बजारमा पठाउने गर्छन्।

माघे संक्रान्तिलाई नै लक्षित गरेर तरुलको व्यवसायिक खेती गर्न थालेको धैवादी गाविसका किसान मानबहादुर कानुङ मगरले बताए। उनले अघिल्लो सालदेखि ब्यवसायिक रुपमा नै तरुल खेती गर्न थालेका हुन्। अघिल्लो बर्ष ५ टन तरुल उत्पादन गरेको र यो बर्ष करिब ७ टन तरुल उत्पादन गरेको बताए। मसिर महिनादेखि नवलपरासीको पहाडी गाविसहरुबाट जिप मार्फत बजारसम्म तरुल ल्याइने गरिन्छ। तर सबैभन्दा बढी पुसको अन्त्य र माघको सुरुतिर कारोबार हुन्छ।

पहाडी क्षेत्रको चिसो क्षेत्रमा तरुल र शखरखण्ड बढी उत्पादन हुन्छ। नवलपरासी जिल्लाको पहाडी गाविस जैवारी, मैनाघाट,  बेनिमणिपुर, धैवादी,  देउराली, रुचाङ लगायतको गाविसमा तरुल बढी उत्पादन हुन्छ। जिल्ला कृषि कार्यालयको तथ्याङ्क अनुसार तरुलको खपत बढ्दै गएपनि माग अनुसार उत्पादन हुन सकेको छैन।

बिगत ७ बर्षदेखि नै तरुल व्यापार गर्दै आइरहका कावासोती २ घर भएका हरिबहादुर थापाले पहाडी क्षेत्रबाट आफूले प्रतिकिलो ८० रुपैयाँमा तरुल किनेर बजारमा प्रतिकेजी १ सय १६० रुपैयाँको दरले बिक्री गरेको बताए। तर जिल्लाको जैवारीका लालबहादुर सारुले भने आफूले बजारमा प्रतिकेजी ९० रुपैयाँको दरले तरुल बेच्ने गरेको बताएका छन्। उपभोक्क्ता र किसानबीचको मूल्यको ठूलो अन्तर देखिएका कारण तरुलमा पनि विचौलियाले धेरै फाइदा लिएको देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.