|

भद्रपुर, (झापा) : भारतले नेपाली भू–भागलाई आफ्नो नक्सामा समावेश गरेको विरोधमा मेची बहुमुखी क्याम्पस भद्रपुरका विद्यार्थीले हस्ताक्षर संकलन अभियान सुरु गरेका छन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस इकाई समितिको संयुक्त आयोजनामा सोमबार बिहान ११ बजेदेखि हस्ताक्षर संकलन अभियान सुरु गरेको हो। भारतीय विस्तारबादविरुद्ध पहिलो चरणको कार्यक्रमअन्तर्गत हस्ताक्षर संकलन अभियान थालिएको अनेरास्ववियु इकाई समितिका अध्यक्ष अशोक खतिवडाले जानकारी दिए। 

क्याम्पस परिसरमा आयोजित हस्ताक्षर संकलन कार्यक्रममा क्याम्पस प्रमुख कमलप्रसाद गुरागाईले हस्ताक्षर गरी अभियान सुरु गरेका थिए। उक्त हस्ताक्षर कार्यक्रममा बिहान र दिउँसो गरी दुई सिफ्टका विद्यार्थी एक हजार बढीले हस्ताक्षर गरेको अध्यक्ष खतिवडाले बताए। 

भारतले भर्खरै जारी गरेको देशको नयाँ नक्साभित्र नेपाली भूमि कालापानी, लुपिलेक र लिम्पियाधुरा समावेश गरेको भन्दै झापासहित देशभरका विद्यार्थी आन्दोलित बनेका छन्। 

अनेरास्ववियु इकाई समितिका अध्यक्ष खतिवडाको अध्यक्षता तथा क्याम्पस प्रमुख गुरागाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका जिल्ला उपाध्यक्ष सरस्वती चौलागाई लगायतले बोलेका थिए। त्यसै गरी विद्यार्थी संगठनद्वयले क्याम्पस परिसरमा वृहत् सरसफाइ कार्यक्रम समेत सम्पन्न गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.