|

काठमाडौं : राजधानीको महाराजगञ्जस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा गत तिहारमा पक्राउ परेका २५ जुवाडेमाथि अर्को मुद्दा चल्ने भएको छ। 

कात्तिक १७ गते पक्राउ परेका पहुँवाला जुवाडेहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको हो।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी उमेश लम्सालका अनुसार उनीहरुमाथि सम्पत्ति शुद्धीकरण मुद्दा चलाउने तयारी गरिएको छ। 

जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर निस्किएका सबैजनालाई प्रहरीले पक्राउ गरेर अहिले महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जको हिरासतमा राखिएको छ। 

यी जुवाडेहरुबाट प्रहरीले २ करोड ६७ लाख रुपैयाँ बरामद गरेको थियो। ती सबैजनालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाइने डिएसपी लम्सालले बताए। 

सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले उनीहरुलाई पुनः पक्राउ गरिएको पुष्टि गर्दै लम्सालले म्याद थपका लागि विभागमा उपस्थित गराइने जानकारी दिए। सम्पत्ति शुद्धीकरणमामा उनीहरुलाई ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था छ। 

प्रहरीले जुवाको खालबाट महानगरपालिका-३ महाराजगञ्जका मिनी क्यासिनो सञ्चालक विक्रम गौतम, दोलखाको भिमेश्वर नगरपालिका-५का रामकृष्ण केसी र इन्द्र श्रेष्ठ, काठमाडौं महानगरपालिका-१५ का रञ्जन राजवंशी, काठमाडौं महानगरपालिका-३५ का श्यामप्रसाद पराजुली, काठमाडौं महानगरपालिका- २६ का अशोक श्रेष्ठ, काठमाडौं महानगरपालिका-११ का सीताराम खड्का, काभ्रेको नमोबुद्ध-११ का रोशन तामाङ, काठमाडौं महानगरपालिका-२९ का राम तामाङ, गोकर्णेश्वर नगरपालिका-६ का कृष्ण भण्डारी छन्।

प्रहरी हिरासतमा रहेका अन्यमा काठमाडौं महानगरपालिका-६ का सुमन अग्रवाल, ओखलढुङ्गाको पाप्ले-३ का सुमन गुरुङ्ग, रौतहटको चन्द्रनिगापुर-३ का सोवित सिलवाल, ललितपुर महानगरपालिका-२० का सोहेल कार्की, काठमाडौं महानगरपालिका-९ का पवन अग्रवाल, रामेछाप बाम्तीभण्डार-३ का पवित्रकुमार कार्की, काभ्रेपलाञ्चोक रोशी गाँउपालिका-४ का बलराम सापकोटा ‘बले’ र काभ्रेपलाञ्चोक नमोबुद्ध-९ का धावा लामा छन्।

त्यसैगरि काठमाडौं महानगरपालिका-१५ का मुक्ति लामा, बारा निजगढ-९ का शम्भु बुढाथोकी, ललितपुर ठेचो-९ का प्रेमथापा मगर, काठमाडौं महानगरपालिका-२ भाङगिका बुद्ध लामा, सिन्धुपाल्चोक बाह्रबीसे-४ का शम्भु शेर्पा, काभ्रेपलाञ्चोक तिमाल-६ का नवाङ्ग लामा र काभ्रेपलाञ्चोक पनौती-५ का प्रदीप बोगटी पनि प्रहरी हिरासतमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.