विचार

मेरै हो महाकाली, मेरै त हो कालापानी...

प्रेमसिंह धामीले बोकेका थिए स्वाभिमानको झण्डा

कात्तिक २६, २०७६

    फेसबुकमा अहिले कालापानी शब्द मच्चिएको मच्चियै छ। पढ्न रमाइलो लाग्छ। दौरा-सुरुवाल र ढाका टोपीमा चिटिक्क परेका एक बौद्धिक साथीले बडो आत्मविश्वासका साथ भन्‍नुभयो, ‘खाए नेताहरुले, अहिले त कालापानी मात्रै बुझाए, कुन दिन देशै बुझाउने हुन्।’ सायद उहाँलाई लाग्यो होला- बहुदलीय व्यवस्था आएपछि सबै खराबी झ्याप्पै एकैचोटी पार्टीहरुले ल्याएका हुन्। यो कालापानी भारतलाई बुझाउने पनि पार्टीका नेता नै हुन्।

    अर्का सम्भ्रान्त महोदयले पनि ठोकिहाल्नु भएछ- नेताहरुले ७२ अर्बमा कालापानी बेचेका हुन्। 

    यो बिक्री भएको कालापानी कहाँ रहेछ भनेर म आफैंले सोच्नु पर्ने अवस्था आयो। मैले जानेको कालापानी त ५७ वर्ष अघिदेखि दिल्लीको अवैध कब्जामा छ।

    कालापानी भनेको लिम्पियाधुराभन्दा यतैको भूमि हो। कालापानी भन्दाभन्दै लिम्यिाधुरा बिर्सने खतरा उत्पन्न नहोस्। हाम्रो पश्चिम-उत्तरको सिमाना महाकालीको उद्गमस्थल लिम्पियाधुरा हो। कालापानी, छाङ्रुजस्ता गाउँहरु शुद्ध नेपाली गाउँ हुन्।

    फेसबुकको सबैभन्दा कमजोर पाटो यही हो। जे आउँछ फ्यास्स फ्याँकिदियो। सत्य होस् कि झुटो मलाई के खाँचो ? भनेजस्तो। यो भयंकर नोक्सानदायी कामलाई फेसबुक प्रयोगकर्ताले समयमै सच्याउन सकेनन भने ओरालो लाग्ने क्रम तीव्र हुनेछ।

    कालापानी भनेको लिम्पियाधुराभन्दा यतैको भूमि हो। कालापानी भन्दाभन्दै लिम्यिाधुरा बिर्सने खतरा उत्पन्न नहोस्। हाम्रो पश्चिम-उत्तरको सिमाना महाकालीको उद्गमस्थल लिम्पियाधुरा हो। कालापानी, छाङ्रुजस्ता गाउँहरु शुद्ध नेपाली गाउँ हुन्। यिनको बारेमा त कसैले बोल्न पनि मिल्दैन। हो, लिम्पियाधुराका बारेमा चाहिँ छलफल गर्न सकिन्छ।

    जसले जे भने पनि मैंले बुझेको सत्य के हो भने लिम्पियाधुराको यो जमिन राजा महेन्द्रद्वारा भारतलाई दिइएको हो। यसलाई गोप्य सम्झौता किन भनिएन, त्यो पनि एउटा प्रश्न हो। २०१७ सालको ‘कु’लाई लामो समयसम्म भारतले समर्थन गरेको थिएन। बेलायतले समेत स्वीकार गरेको यो मुद्दालाई भारतले समर्थन नगरेपछि राजा महेन्द्रको टाउको दुखेको थियो। 

    त्यसैबेला भारतले ‘लिम्पियाधुराको जमिन भारतलाई दिने भए भारतले ‘कू’लाई पनि समर्थन गर्ने र भारतमा बसेर क्रान्तिको कार्यक्रम सञ्चालन गर्न खोजिरहेका पार्टी नेताहरुलाई नेपाल भारतको सीमारेखाभन्दा ५० किलोमिटर भन्दा टाढै राख्ने’ मैत्रीपूर्ण प्रस्ताव पठायो। राजा महेन्द्रका लागि यो दोहोरो फाइदाको प्रस्ताव थियो।

    अहिले जनहीन रहेको नेपाल-चीन-भारत तीन देशको टुप्पो जोडिएको त्रिदेशीय सिमानाको महत्त्व नेपालभन्दा भारतलाई निकै राम्ररी थाहा थियो। त्यसैले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई दाउमा राखेर राजा महेन्द्र र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको सहमतिमा यो राष्ट्रहित विरोधी काम भएको थियो। (मरेका मान्छेलाई साक्षी राख्न त मिल्दैन, तर अर्को कोही नभएपछि त्यस्ता मान्छेको सहारा पनि लिनु पर्दो रहेछ। यो कुरा मैले त्यतिबेलाका परराष्ट्र मन्त्री ऋषिकेष शाहबाट पाएको हुँ।)

    भारतले लिम्पियाधुरा कब्जा गर्नेबित्तिकै कालापानी पनि कब्जा गरेको होइन। महाकालीको मुहान सार्न उनीहरुले धेरै मिहिनेत गर्नु परेका थियो। महाकाली नदीको शिर हुनका लागि दुई चार अँगालो पानी बग्ने शिर त चाहियो। त्यसैले लिम्पियाधुराबाट पूर्वको एउटा खोल्सीलाई महाकालीको शिर बनाइदियो। त्यो विकट हिमालतिर के भइरहेको छ भनेर नेपालतिरकाले चासो पनि राखेनन्।

    आफ्नो मिचाहा बानीअनुसार भारत खुसुखुस पूर्वतर्फ आयो र कालापानीमा सेनाको बेसक्याम्प बनायो। भारतले कालापानीमा बेसक्याम्प बनाएपछि नेपाली मालअड्डामा मालपोत तिरिरहेका नेपालीहरुलाई ठाडै भारतीय बन्‍न अप्ठ्यारो परेपछि स्थानीय तहमा, ‘लौ कालापानीमा त भारत पसेछ’ भन्‍ने गाईंगुईं चल्न थाल्यो। पहिले कालापानीका पाँच गाउँलेहरुले रातारात आफू भारतीय भएको थाहा पाए। बिस्तारै त्यहाँका वुद्धिजीवीको कानमा त्यो थिचोमिचोबारेमा पुग्यो। सिङ्गो नेपालले भारतीय अत्याचार जानकारी पाउन नेपालले पञ्चायती व्यवस्थालाई नै फाल्नु पर्‍यो।

    भारत दक्षिण एसियामा सबैलाई दुःख दिने मुलुक हो। हामी कुनै पनि मुलुकसँग युद्ध गर्न चाहँदैनौं र हामीसँग भारतसित युद्ध गर्ने क्षमता पनि छैन। यस्तो स्थितिमा हामीले युद्धको बाटो होइन, शान्तिको बाटो अवलम्बन गर्नु पर्छ। विश्व परिस्थिति पनि हिजोजस्तो छैन। लिम्पियाधुरा नेपालको पश्चिमउत्तरको सिमाना हो भनेर नचर्किकन प्रस्तुत गर्ने स्थानहरु पनि बनिसकेका छन्।

    सबै नेपालीलाई थाहा होस्- लिम्पियाधुरा नेपालको भूभाग हो। २०१८ सालदेखि नै त्यसमाथि भारतले कब्जा जमाएको छ। राष्ट्रियसभाका मञ्चबाट सिङ्गो नेपाललाई यसको वास्तविक जानकारी गराउने सांसद हुनुहुन्थ्यो दार्चुला जिल्लामा जन्मिएर राजनीतिमा हेलिनुभएका स्वर्गीय प्रेमसिंह धामी। दुःखको कुरो त्यसको केही समयपछि नै उहाँको गाडी दुर्घटनामा मृत्यु भयो। 

    प्रेमसिंह धामी ‘दुर्घटना’ मा बित्नुभए पनि उहाँले उचालेका स्वाभिमानको झण्डालाई अनेरास्ववियूका विद्यार्थी  र युवा संघका युवाहरुले उचाले। तर, नेकपा (एमाले)मा ठूलो विभाजन भएपछि स्वाभिमानको त्यो झण्डा बेवारिसे भएर महाकाली नदीसँगै अहिले बगिरहेको छ।

    फेसबुकमा चर्कोचर्को प्रतिवाद गर्ने साथीहरु वस्तुगत यथार्थ पहिले बुझ्नु होस्। भारत दक्षिण एसियामा सबैलाई दुःख दिने मुलुक हो। हामी कुनै पनि मुलुकसँग युद्ध गर्न चाहँदैनौं र हामीसँग भारतसित युद्ध गर्ने क्षमता पनि छैन। यस्तो स्थितिमा हामीले युद्धको बाटो होइन, शान्तिको बाटो अवलम्बन गर्नु पर्छ। विश्व परिस्थिति पनि हिजोजस्तो छैन। लिम्पियाधुरा नेपालको पश्चिमउत्तरको सिमाना हो भनेर नचर्किकन प्रस्तुत गर्ने स्थानहरु पनि बनिसकेका छन्। ग्रेटर नेपालका लागि फणिन्द्र नेपाल संयुक्त राष्ट्रसंघ पुग्नुभयो। हाम्रा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले पनि कालापानी हाम्रै हो भनिसक्नु भयो। प्रमुख प्रतिपक्षी दलका नेताले पनि कालापानी हाम्रै हो भन्‍नुभएको छ।

    आफ्नो मिचाहा बानीअनुसार भारत खुसुखुस पूर्वतर्फ आयो र कालापानीमा सेनाको बेसक्याम्प बनायो। भारतले कालापानीमा बेसक्याम्प बनाएपछि नेपाली मालअड्डामा मालपोत तिरिरहेका नेपालीहरुलाई ठाडै भारतीय बन्‍न अप्ठ्यारो परेपछि स्थानीय तहमा, ‘लौ कालापानीमा त भारत पसेछ’ भन्‍ने गाईंगुईं चल्न थाल्यो।

    राष्ट्रियसभामा सूर्योदय हुनुभन्दा पातलो चिन्ह देखाउने, प्रेमसिंह धामीको राँक्किएको त्यो अनुहार अहिले मेरो स्मृतिमा जीवित छ। मेरो निष्कर्षमा उहाँले नेपाल र नेपालीलाई दिनुभएको जानकारी अब खेर जाँदैन। यद्यपि, भारत असाध्यै चाम्रो छ। तर लिम्पियाधुराको सिमानाको आगो अब निभ्दैन। निभ्न दिनु पनि हुँदैन। मधेसवादी दल बोलेनन् भनेर चिडचिडाहटको विज्ञापन पनि नबजाई रहनुस्। नबुझुन्जेल अलमलमा बस्ने अधिकार सबैले पाउनु पर्छ। ‘यस्ता कुरा थाहा नपाउनु उहाँहरुको जन्मसिद्ध अधिकार पनि हो।’ 

    म एउटा मिठो गीतको सानो टुक्रो लेखिदिन्छु। तपाईंहरु युट्युबमा सजिलै भेट्टाउन सक्नु हुन्छ। गीतको बोल छ- ‘मेरै त हो महाकाली मेरो कालापानी, कसले भन्छ अर्काको आफ्नो जानी।’ विजय सुब्बाको अगुवाइमा जनसांस्कृतिक मञ्चका कलाकारहरुले गाएको गीतलाई हामी पनि गाउँ- मेरै त हो महाकाली, मेरो कालापानी...।

प्रदीप नेपाल

नेकपाका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]