मेडिकल कलेजलाई अनुमति नदिएकोमा गुनासो

|

काठमाडौं :झापास्थित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले प्रा. डा. गोविन्द केसीका कुनै पनि माग जायज नभएको बताएका छन्। यसअघि केसीले अघि सारेका सबै माग पूरा भइसकेको समेत उनले जिकिर गरेका छन्।

रिपोर्टर्स क्लब नेपालमा मंगलबार बोल्दै उनले आफूले सरकारले नियमम्मत राजश्व तिरेकाले केसीले आफूलाई माफिया भन्‍न नसुहाउने  बताएका छन्।

‘म माफिया होइन, गोविन्द केसीलाई अनशन बस्‍न लगाउनेहरु माफिया हुन्। मलाई माफिया भन्‍ने डा. केसीनै माफिया हुन्', उनले भने, 'हामीले त डा. केसीलाई साथ दिएकै हो नि, उहाँले सुदूरपूर्व जान भन्‍नुभयो, मैले पूर्वमै बिएण्डसी खोलेँ। म कसरी माफिया भएँ? माफिया त केसी र उनलाई अनशन बसाउने नै हुन्।'

यस्तै प्रसाईले आफूमाथि उल्टै अन्याय-अत्याचार भएको पनि आरोप लगाए । उनले देशमा सबैभन्दा राम्रो अस्पता र मेडिकल कलेज पनि आफ्नै भएको दाबी गरेका छन्। नेपालको सबै पैसा पढाईको नाममा बाहिर गएको पनि उनले गुनासो गरेका छन्। 

‘पूर्वको मेची अञ्चलमा एउटा पनि मेडिकल कलेज थिएन। मैले खोलें। २९ लाख मेचीबासीको हितमा कलेज खोलेको हुँ। कोशीमा तीनवटा मेडिकल कलेज छन्। बाग्मतीमा मात्रै दश वटा छन्', उनले भने, 'सुलभ स्वास्थ्य पाउनु मेचीबासीको अधिकार हो कि होइन?  डा. केसीका माग डिनबाट सुरु भएको हो। शक्तिशाली चिकित्सा शिक्षा आयोग पनि बनिसक्यो । उहाँका सबै माग पूरा भएका छन् । मेरो पीडा कसले बुझ्ने?’

उनले निजी मेडिकल कलेजले कसले के कति शुल्क लिएका छन् ? त्यसको अनुगमनको पक्षमा आफू पनि भएको सुनाए। प्रसाईले आफूलाई सरकारले २०६८ साल माघ २४ गते आशयपत्र दिएको पनि सुनाए।

तर ८ वर्ष बितिसक्दा पनि अनुमति नदिएको उनको गुनासो छ। ‘मैले मेडिकल कलेज पर्खिएर बसेको आज यत्तिका वर्ष भैसक्यो । मेरो पीडा कसले बुझ्ने ?,’ उनले गुनासो गर्दै भने।

प्रसाईले गत वर्षमात्रै आफूले राज्यलाई १७ करोड कर तिरेको सुनाए। त्यतिमात्रै नभएर उनले करिब एक हजारलाई प्रत्यक्ष रोजगारी दिएको समेत बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.