व्यावसायिक विवादलाई अनावश्यक रूपमा अदालतसम्म पुर्‍याउन थालियो : अध्यक्ष राणा

|

काठमाडौं : सामान्यतया सार्वजनिक कार्यक्रममा न्यायाधीशको उपस्थिति कम हुने गर्छ। मंगलबार नेपाल उद्योग वाणिज्य महासंघमा न्यायाधीश ईश्‍वरप्रसाद खतिवडाको उपस्थिति रह्‍यो। खतिवडा मेलमिला केन्द्रको उद्घाटनका लागि महांघ पुगेका हुन्। 

महासंघको सचिवालयमा स्थापित व्यावसायिक मेलमिलाप केन्द्रको न्यायाधीश खतिवडा र महासंघकी अध्यक्ष भवानी राणाले संयुक्त रूपमा उद्घाटन गरे। उद्‍घाटनसँगै राखिएको व्यावसायिक मेलमिलापसम्बन्धी अन्तरक्रियामा न्यायाधीश खतिवडाले मेलमिलाप केन्द्र व्यावसायिक विवादको समाधानमा प्रभावकारी माध्यम बन्‍ने बताए। 

व्यावसायिक मेलमिलापको बढ्दो आवश्यकता र यसले व्यवसाय क्षेत्रलाई पुग्ने सहयोगका विषयमा छलफल गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो। प्रमुख अतिथिका रूपमा रहेका न्यायाधीश खतिवडाले मेलमिलाप पद्धतिलाई व्यावसायिक विवाद समाधानको उपयुक्त र प्रभावकारी माध्यम बनाउन निजी क्षेत्रलाई आग्रह गरे।

व्यावसायिक विवादको छिटो, छरितो र मितव्ययी ढंगबाट समाधान नै व्यावसायिक मेलमिलाप भएकाले सर्वोच्च अदालतले समेत व्यावसायिक मेलमिलापलाई उच्च प्राथमिकतामा राखेर यस्ता केन्द्र स्थापना गरी सोही केन्द्रका माध्यममार्फत समस्या समाधानमा जोड दिएको बताए।

महासंघका अध्यक्ष राणाले व्यावसायिक विवाद समाधानको उपयुक्त माध्यमका रूपमा आत्मसाथ गर्नुपर्ने बताइन्। मेलमिलापबाट छिटो, छरितो र सजिलोसँग विवाद समाधान हुन सक्ने भएता पनि कतिपय व्यावसायिक विवादलाई अनावश्यक रूपमा अदालतसम्म पुर्‍याउने, विवादलाई इज्जत र प्रतिष्ठाको विषय बनाउने प्रवृत्तिले गर्दा विवादित पक्षले निकै ठूलो नोक्सानी व्यहोर्नु परेको बताइन्। उनले व्यावसायिक मेलमिलापलाई विवाद समाधानको महत्वपूर्ण माध्यमको रूपमा निजी क्षेत्रले स्वीकार गर्नुपर्ने सुझाव दिइन्।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यावसायिक एवं आर्थिक कारोवार गर्ने पक्षहरूबीच उत्पन्न हुने विवाद समाधानमा महासंघमा स्थापित केन्द्रलाई प्रभावकारी ढंगमा अगाडि बढाउने प्रतिबद्धता जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.