इटहरी : दुई हलसम्म गोरु हुने प्रकाशपुरका टंक काफ्लेकोमा अहिले एउटै गोरु छैन। काफ्ले जस्तै गोरु पालेर खेती किसानी गर्ने गंगाराम घिमिरे हिजोआज ट्याक्टरबाटै खेतबारी जोत्छन्।
राम्रो धान उत्पादन हुने सुनसरीको सप्तकोसी नदी आसपासका कृषकहरू आजकल प्रविधिमैत्री बन्दैछन्। गाउँमा अहिले गोरु पाल्ने परम्परा छैन। सबै काम ट्याक्टरले नै गर्छ।
गाउँका नयाँ पुस्ताहरू प्राय: लाखापाखा छन्। कोही विदेशतिर। कोही सहरमा भविष्य खोज्न। ‘न गोरु पाल्न सकिन्छ न पालिएको गोरुलाई जोत्न नै सकिन्छ’ घिमिरेले भने, ’कृषि काम गर्ने पुस्तालाई बुढेसकालले छोप्दै छ। आजकालका छोराछोरीहरू खेती गर्दैनन्। हामीले जानेको यही खेतीपाती हो छोड्न सकिँदैन धन्न प्राय काम मेसिनले नै गर्न थाल्यो र अलि सजिलो भएको छ।’
ग्रामीण क्षेत्रका अधिकांश किसानको घरमा न हलो देखिन्छ न जुवा न गोरु नै। सबै किसानहरू अहिले ट्याक्टरकै भर पर्न थालेका छन्। गोरुले मात्र हैन आजकाल मान्छे पनि खेतमा पसेर धान काट्न छाडिसके। जोत्न मात्र होइन मंसिर लाग्दै गर्दा खेतालाले धान काट्दै गरेका देखिने बारीमा आजकाल ट्याक्टरले नै ठाउँ ओगट्न थालेको छ।
एक लाख ८० हजार मूल्य पर्ने मेसिनले गर्दा देखिने मंसिरमा देखिने खेतालाको मेला विरलै मात्र देखिन्छ। जोत्न र धान भित्राउन ट्याक्टर प्रयोग गर्ने किसान आजकाल धान काट्न पनि सानो हाते ट्याक्टर प्रयोग गर्छन्।
गाउँका श्रम शक्ति कम भएको बेला भित्रिएको धान काट्ने प्रविधि किसानमा लोकप्रिय भएको छ। ‘काम गर्नेहरू प्राय विदेशतिर, खेताला खोज्न पनि हैरान थियो’, प्रकाशपुरका अर्का किसान कमल तिम्सिनाले भने, ‘पैसा र समय दुइटै बचाउँछ। त्यसैले ट्याक्टर धेरैले लगाउँछन्।’
आजकाल राँगा गोरुले खेत जोतेको विरलै देखिन्छ। ट्याक्टरले जोत्दा, दाइँ गर्दा पनि पहिले पहिले हेर्ने मान्छेको भीड हुन्थ्यो हिजोआज यो सामान्य भइसकेको छ। ‘खेती गर्ने जमाना बदलियो। अब खेतमा के ल्याएछ भनेर हेर्न भीड हुँदैन’, तिम्सिनाले भने, ‘बरु अब गोरुले जोतेको रमिता हेर्न मान्छे आउलान्।’
धान काट्ने मेशिनले पाँच कठ्ठा खेतको धान एक घण्टामा काट्छ। ’खेतालालाई दिन भरिको ५ सय रुपैयाँ दिनु पर्छ। ती माथि बल्ल-बल्ल फकाएपछि मात्र आउँछन्’ अर्का कृषक रूपनारायण निरौलाले भने, 'ट्याक्टरले घन्टाको २ सय मात्र लिन्छ त्यसैले अहिले कृषकलाई पनि सजिलो भएको छ।’
खेताला कम भएकाले यो मेशिनको धेरै माग छ। गाउँभर एउटा मात्र मेशिन भएकाले पनि अहिले पनि धेरैले धान काट्न पाएका छैनन्। ‘मेशिन ल्याउँछ भनेर ठिक्क परेर बसेँ। तर बाटोबाटै अर्कै गाउँतिर लगेछन्’, स्थानीय कृषक कृष्ण अधिकारीले भने, ‘अब अर्को मेशिन पनि आउँदै छ। त्यसैबाट काम गराउँछौं।’
थोरै समयमा धेरै खेती तथा कम लागतमा बढीभन्दा बढी उत्पादन हुने देखिएपछि बिस्तारै धान काट्ने मेशिन भित्रिन थालेका छन्। धान काट्ने मेशिनबाट किसानले भरपुर रूपमा फाइदा लिएको धान काट्ने मेशिन चलाउँदै आएका व्यवसायी थर्क राईले बताए।
मेशिन प्रयोगका कारण किसानको समय र खर्चको बचत भएकाले किसानले पछिल्लो समय धान काट्ने मेशिनको प्रयोग गर्ने गरेको उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।