|

दमक : नेपालकै पहिलो अपाङ्गमैत्री बसपार्कको नामले चर्चामा आएको झापाको दमकस्थित बसपार्कको निर्माण कार्यले तीव्रता पाएको छ। १४ वर्ष अघिबाट निर्माण सुरु भएपनि सुस्त गतिमा अघि बढेको बसपार्क निर्माणको कार्यले तीव्रता पाएसंगै स्थानीय हर्षित बनेका छन्।

२०५९ साल फागुनदेखि औपचारिकरुपमा निर्माण सुरु गरिएको बसपार्क निर्माणका लागि शहरी विकास मन्त्रालयबाट ३ करोड ७५ लाख बजेट विनियोजन भएसँगै निर्माण कार्यले गति लिएको उपभोक्ता समितिका अध्यक्ष तिर्थराज बस्नेतले जानकारी दिए । निर्माण कार्य यही आर्थिक वर्षभित्रमा सम्पन्न हुने उनको दावी छ।

अध्यक्ष बस्नेतकाअनुसार काम तीन चरणमा अघि बढाइएको छ। पहिलो चरणमा एक करोड बढीको लगानीमा बसपार्कको पूर्वाधार, सुविधा सम्पन्न टर्मिनल भवन लगायतको संरचना निर्माण गरिएको थियो। लामो तथा छोटो दुरीका सवारी गुड्ने पार्क, यात्रु प्रतिक्षालय तथा आधुनिक उपकरणहरु जडित यात्रु सूचना बोर्डहरु लगायतका पूर्वाधारहरु समेत धमाधम बनिरहेका छन्।

त्यस्त अहिले दोस्रो चरणमा बसपार्कको थप स्तरोन्नतिको काम धमाधम भईरहेको छ भने तेस्रो चरणको बजेट निकासा भइसकेको र बाँकी कामका लागि केहिदिन भित्र नै ठेक्का सम्झौता हुन लागेको अध्यक्ष बस्नेतले बताए । उनले भने, ‘बसपार्क निर्माणकालागि हालसम्म ४ करोड ५० लाख खर्च भईसकेको छ, अब यही वर्ष भित्रमा निर्माण सम्पन्न हुन्छ।’

२ बिगाहा १ कठ्ठा क्षेत्रफलमा फौलिएको उक्त बसपार्क भएर दैनिक करिब १५ हजार यात्रु ओहोरदोहोर गर्ने गरेका छन्। निर्माण कार्य समयमा नै सम्पन्न नहुँदा बसपार्क वर्षामा जलमग्न तथा हिउँदमा धुलाम्मे हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.